काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण बन्द रहेका उद्योग कलकारखाना खुला गर्नुपर्ने बताएका छन्। उनले सधैं कलकारखाना बन्द गरेर राख्न नहुने बताएका हुन्।
सरकारको नीति तथा कार्यक्रमका विषयमा उद्योगी व्यवसायीसँग कांग्रेसले गरेको अन्तरक्रियामा सभापति देउवाले देशमा आउने रेमिट्यान्स घट्ने भएकाले समस्या आउने बताए।
‘रेमिटेन्सको समस्या आउन थालेको छ। अरबबाट नेपाली श्रमिक फिर्ता पठाउन थालिएको छ। भोलि समस्या बढ्दै जानेछ’, देउवाले भने, ‘उद्योग व्यापार खुल्नुपर्यो। नेपालमा फोरेन करेन्सी कम हुने सम्भावना बढेको छ। यसको असर बजेटमा पर्नेछ।’
‘होटल व्यवसायीहरुले व्याजदर घटाउनुपर्छ भन्नुभएको छ। यसमा पनि विचार गरिनुपर्छ’, उनले भने, ‘उत्पादन नै बिक्री गर्न नसक्ने अवस्था आउन सक्छ। होटल बन्द छ। पर्यटन व्यवसाय पनि ठप्प छ। नेपालीहरु पनि यताउता जान पाएका छैनन्।’
उनले भारतीय सिमानामा अलपत्र परेका नेपालीलाई तत्काल फिर्ता ल्याउन आफूले आजै प्रधानमन्त्रीसँग कुरा गरेको जानकारी दिए।
कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले अर्थतन्त्रको पुनरुत्थानका लागि विशेष राहत प्याकेज आवश्यक रहेको बताए। कोरोनाले पुर्याएको क्षतिको प्रभाव लामो समय रहने र तुरुन्तै अर्थतन्त्र पहिलेको स्थानमा आउन सम्भव नभएको भन्दै उनीहरुले प्याकेज माग गरेका हुन्।