शुक्रबार, कात्तिक १४, २०७७

Happy Dashain
समाचार

देशव्यापी फैलँदै सलह, सरकारसँग छैन नियन्त्रणको योजना

1593325594NG_Butwal-kira2.jpg

काठमाडौं- बारा, पर्सा, रौतहट, सर्लाही, चितवन तथा रुपन्देहीमा शनिबार देखिएको सलहको बथान बिस्तारै पहाड उक्लँदै छ। रुपन्देहीबाट पसेको सलह पाल्पा, गुल्मी पुगिसकेको छ। बारा, पर्साबाट पसेको सलह सिन्धुली, मकवानपुर, काभ्रे पुगेको छ।

गलत निस्क्यो अनुमान

गत जेठ १५ गते विश्व खाद्य संगठन (एफएओ) को सलह निगरानी निकायले नेपालमा सलह प्रवेश गर्न नसक्ने अनुमान गरेको थियो। सलहको गति, संख्या तथा वायुको बहावका आधारमा सलह कता जान्छ भनेर एफएओले निगरानी गर्दछ। एक महिनाअघिको एफएओको पूर्वानुमानविपरीत भारतको विहारबाट सलह भित्रियो।

कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीका अनुसार संघमा सलह नियन्त्रणका लागि गठित प्राविधिक कार्यदल सक्रिय भइसकेको छ। उनले नियन्त्रणका लागि काम अघि बढाइएको छ।’ प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको उनको भनाइ छ।

सरकारद्वारा गठित सलह नियन्त्रण कार्यदलले नेपालमा पश्चिमी वायुसँगै सलह पस्ने अनुमान गरेको थियो। कार्यदलले मौसम पूर्वानुमान विभागसँगको समन्वयमा गरेको अध्ययनमा यस्तो निष्कर्ष निकालेको थियो।

कार्यदल सलह कहिले आउँछ भन्नेमा मात्र केन्द्रित भयो। यसको नियन्त्रणका लागि योजना नहुँदा अहिले कार्यदल नै अलमलमा परेको छ।
विज्ञका अनुसार सलहले दिनमा झन्डै एक सय पच्चीस किलोमिटर यात्रा गर्छ। नेपाल पसेको सलह पाँचसात दिनमा देशव्यापी हुने अनुमान छ।

‘के गर्दा जोगिन सकिन्छ त्यही गर्ने हो अरु कुनै उपाय छैन,’ खाद्यका लागि कृषि अभियानका उद्धव अधिकारीले भने। सरकार सलह कतिखेर आउँछ भनेर प्रतीक्षामा मात्र बसेको तर नियन्त्रणका लागि कुनै पूर्वतयारी नगरेको उनको भनाइ छ।

ब्याड जोगाऔं

मुख्य बाली धान रोप्ने समय छ। किसानलाई सलहबाट ब्याड कसरी जोगाउने भन्ने चिन्ता छ।

‘धानको ब्याड जोगाउनु अहिलेको प्राथमिकता हो,’ अधिकारी भन्छन्।

सलहबाट बच्न ब्याड तन्ना, झुल, प्लास्टिक र त्रिपालले छोप्नुपर्ने उनी बताउँछन्। उनका अनुसार गुइँठा बालेर धुवाउँदा पनि सलह भाग्न सक्छ।

विषादी प्रयोग कम गरौं

‘सरकारले किसानलाई सलहबाट जोगाउला भन्ने आशा राख्नु बेकार छ,’ अधिकारी भन्छन्, ‘सरकारले जोगिने उपाय बताउनुबाहेक अरु केही गर्न सक्दैन।’

विषादीको व्यापक प्रयोग प्रत्युत्पादक हुन सक्छ। ‘विषादीले एक त स्वास्थ्यमा असर गर्छ’, अधिकारी भन्छन्, ‘यसको प्रचुर प्रयोग गरियो भने मित्रजीव किरा सखाप हुने, माटोको उर्वरा शक्ति घट्ने जस्ता समस्या हुन सक्छन्। सलहका नाममा विषादीको सिफारिस मात्र गरेर सरकार पन्छिन मिल्दैन।’ उनले किसानलाई सहयोग गर्ने कार्यपद्धति ल्याउनुपर्ने बताए।

जोगिन के गर्ने ?

‘स्थानीय स्तरमा टोली बनाएर सहल धपाउनुपर्छ। एउटै मात्र अचुक उपाय हुँदैन,’ प्राणीशास्त्रका सहप्राध्यापक डा. इशान गौतम भन्छन्, ‘गुइँठा बालेर धुवाउने, ढ्यांग्रो ठटाउने, जाल थाप्ने जस्ता सबै उपाय गर्नुपर्छ। विषादी मात्रले पनि नियन्त्रण गर्न सकिन्न। राज्यले मात्र पनि यसको नियन्त्रण गर्न सक्दैन।’

नियन्त्रणका जैविक उपाय

नीमको पात, गुँड, धुर, गुइँठा, जडिबुटी बालेर धुवाँ पारिदिँदा सलह धपाउन सकिन्छ। रातमा रुख, बारीमा बसेको बेला ठूलाठूला जाली बनाएर पनि केहीलाई संकलन गर्न सकिन्छ। यसका लागि समुदाय नै लाग्नुपर्ने उनले बताए।

खान मिल्छ तर विचार गर्नुपर्छ

नेपालमा पछिल्लो पटक २०१९ सालमा सलह आएर मकै बाली नष्ट गरेको थियो। त्यसअघि १९६३/६४ मा, १९७२/७३ मा तथा १९८७/८८ सालमा पनि सलह आएको थियो।

‘२००३/४ सालतिर नेपालमा सलह आएको थियो। त्यतिखेर म दस एघार वर्षको थिएँ। स्कुलमा पढ्थेँ,’ बागवानीविद् शिवबहादुर नेपाली सम्झन्छन्, ‘त्यतिखेर सलहलाई कराईमा तारेर बाटोबाटोमा बेच्न राखेका थिए। मैले पनि खाएको थिएँ।’

यसको पछाडिको खुट्टा खानु हुँदैन। ‘सलहमा प्रोटिन, फ्याट, जिंक, प्रोटिन, क्याल्सियमको मात्रा उच्च हुने हुँदा यसलाई खाँदा कुनै हानि गर्दैन। यसको पछाडिको खुट्टा नगल्ने हुँदा त्यो खानु हुँदैन। त्यसमा सचेत हुनुपर्छ,’ डा. गौतम भन्छन्, ‘अपरेसन गरेर पेटबाट सलहको खुट्टा झिक्नुपरेको थियाे। 

डा. गौतमका अनुसार विषादी प्रयोग भएको सलह चाहिँ खानु हुँदैन।

‘सलहको पेटमा भएको स्टेराइलले मुटुका बिरामीलाई फाइदा पुग्ने कुरा प्रमाणित भइसककेको छ,’ डा. गौतम भन्छन्, ‘कुखुरा तथा माछाको दाना बनाउन पनि प्रयोग गर्न सकिन्छ। तर विषादी मिसिएको पर्‍यो भने अन्ततः मान्छेलाई नै हानि गर्छ। त्यसैले विषादी भएनभएको निर्क्योल गर्नुपर्छ।’

सलहको आनीबानी

सलह फट्याङग्रा प्रजातिको कीरा हो। यसको सिङ छोटो हुन्छ। यसको पछाडिको खुट्टा छोटो तथा मोटो हुन्छ। यसको खान्की प्रतिदिन दुई ग्रामसम्म हो।

समूहमा बस्ने यसको विषेशगरी बालुवामा ६० देखि ८० वटाको समूहमा अण्डा पार्छ। आफ्नो जीवनकालमा यसले तीन पटकसम्म अण्डा पार्छ। अण्डाबाट निस्केको एक महिनामा यो फड्कन सक्छ।

एक महिनादेखि तीन महिनासम्ममा यो वयश्क हुन्छ। ६० देखि ७० दिन भएपछि अण्डा पार्न सक्छ।

यसको आयु चारदेखि पाँच महिनासम्मको हुन्छ। विभिन्न अध्ययनमा यसले दश दिनमा पाँच हजार किलोमिटरसम्म यात्रा गर्ने गरेको देखिएको छ। यो जमिन नजिकैको उचाइदेखि पाँचदेखि सात हजार फिटमाथिसम्म उडेको पुष्टि भएको छ।

समुद्री छेउ जहाँ यसको प्रकोप रहेको हुन्छ त्यस्ता ठाउँमा आउने समुद्री आँधीले यिनीहरुलाई परपरसम्म पुर्‍याइदिन्छ। एक किलोमिटरमा चारदेखि आठ करोडसम्म सलह हुन्छन्। एक किलोमिरटमा हुने सलहले ३५ हजार मान्छेको खान्की एकै दिनमा खाइदिन्छन्।

जेठदेखि असोजसम्मको मनसुनी समयमा यसको प्रकोप देखिन्छ। तर जलवायु परिवर्तनका कारण सुक्खा बढ्दै जाँदा तथा मनसुनी समय फेरबदल हुँदा यो किराको जीवनचक्र फेरिँदै गएको छ। मनसुनको सुरुवाती साता यसको प्रजनन क्षमता उच्च हुन्छ।

सलहले मान्छे तथा जनावरलाई भने आक्रमण गरेको भेटिएको छैन। 

याे पनि पढ्नुस्

एकै दिनमा पहाड उक्लियो सलह, के गर्दैछ सरकार ?

प्रतिक्रिया दिनुहोस्