धादिङ- लकडाउनको समयमा पार्किङ गरिराखेको सवारी साधनबाट टेलिभिजन, क्यासेट प्लेयर र स्पिकर लगायतका चोरीका सामानसहित धादिङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिद्धलेक गाउँपालिका–५ पोखरीका २२ वर्षीय अभिषेक श्रेष्ठ, १९ वर्षीय श्याम श्रेष्ठ र २५ वर्षीय अजय श्रेष्ठ छन्।
उनीहरुबाट चोरीका एलइडी टिभी ६ थान, क्यासेट प्लेयर ३ थान, स्पिकर १ थान र चोरी गर्न प्रयोग भएका औजारहरु ४ थान बरामद गरेको प्रहरीले जनाएको छ।
उनीहरुले निलकण्ठ नगरपालिका–३ स्थित कसाई टोलमा पार्किङ गरी राखेका बा.४ ख ७३८० नम्बरको बस, सोही नगरपालिका–८ बिर्तावेशीमा पार्किङ गरी राखेको ना.४ ख २८९१ नम्बरको बस, सोही नगरपालिका–३ पुच्छार बजारमा पार्किङ गरेको ना.६ ख ९१३० नम्बरको बस, सोही ठाउँमा पार्किङ गरी राखेको प्र.३–००५ ख ९५७२ नम्बरको बस र सोही नगरपालिका–३ स्थित जिल्ला अस्पतालअगाडि पार्किङ गरी राखेको लु.२ ख १९५४ नम्बरको बसबाट विभिन्न मितिमा चोरी गरेको खुलेको प्रहरीले जनाएको छ।
चोरीमा संलग्नमध्ये एक जना फरार रहेकोले प्रहरीले खोजी गरिरहेको जनाएको छ। उनीहरुविरुद्ध चोरी मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।