एजेन्सी– फुटबल एसोसिएसनका अध्यक्ष जर्ग क्लर्कले दर्शकका लागि फुटबल फर्कन समय लाग्ने बताएका छन्। उनले फ्यानलाई छिटै मैदानमा बस्ने वातावरण तयार नभएको पनि बताएका छन्।
यदि प्रिमियर लिग र फुटबल लिगका खेलहरु फर्किहाले भने पनि ती खेल बन्द रंगशालामा हुनेछन्। प्रिमियर लिगले जारी सिजन दर्शकबिना गराउने योजना अघि सारेको छ।
‘वास्तविकता यो हो कि समस्याको समाधान कसरी खोज्ने भन्नेबारेमा हामीलाई थाहा छैन,’ उनले फुटबल एसोसिएसनलाई पत्रमा लेखेका छन्, ‘कोरोनाको जोखिम घटाउनका लागि सामाजिक दूरी कायम गर्नुपर्ने कारणले गर्दा फुटबलको वातावरणलाई नै खलबल्याइदिएको छ।’
क्लार्कले दर्शक भनेको कुनै पनि खेलका लागि जीवन दिने तत्व भएको बताएका छन्। तर सामाजिक दूरीका कारणले गर्दा खेलमा दर्शकको उपस्थिति लामो समयसम्म हुन नसक्ने उनको तर्क छ।