शनिबार, असार २७, २०७७

कला - साहित्य
1593198385sketh_girl.png

‘बुनु, एऽऽ बुनु ! हैन नछुने भैछे कि क्या हो यो, जामा रात्तै छ त, भन्नुपर्दैन?’

आमाले झकझक्याइरहँदा बुनु भित्तातिर फर्किएर सुँक्कसुँक्क गरिरहेकी थिई।

‘तपाईं बाहिर जानुस्, म यसलाई पल्लाघरमा लुकाएर आउँछु’, छेउमा रहेका लोग्नेलाई आमाले कोठाबाहिर पठाइन्।

बुनुले भक्कानिँदै आमालाई अगाँलो हाली।

‘नरो, तेरी दिदीलाई पनि यस्तो भएको थियो, अझै पनि हुन्छ, मलाई पनि हुन्छ। हामी आइमाई मान्छे सप्पैलाई हुन्छ। अब चार दिनसम्म बा र भाइलाई नहेर्नू, घाममा सोझै नहेर्नू। लोग्नेमान्छे कसैलाई हेर्न हुन्न। चुलो, भाँडाकुँडा, खानेपानी, तुलसीको मठ, मन्दिर कहींकतै नछुनू।’

बुनुको स्वतन्त्रतामाथि यति ठूलो प्रतिबन्ध लागेको पहिलोपटक थियो।

‘पल्लाघरे तुलसा भाउजूलाई भनिदिन्छु, चार दिनसम्म उतै बस्ने त्यसपछि चोख्खिएर घर आउन पाइहाल्छेस नि! नरो अब।’

बुनुमाथि प्रतिबन्धको फेहरिस्त अझै सकिएको थिएन। ऊ झन् क्वाँक्वाँ रुन थाली।

‘यो जामा फेर, अनि यो कपडा राम्रोसँग पट्याएर लगा, नत्र नयाँ जामामा पनि रगत लाग्छ। बुझिस् नि?’

आमाले दिएको पुरानो सुती धोतीको टालो फालेर बुनु झगडा गर्न थाली, ‘लगाउन्न यस्तो टालो, अर्को कट्टु ल्याइदिनुस बरु।’

‘अरु जे लगाए पनि यो लगाउनैपर्छ। नत्र सप्पै लुगा बिग्रन्छ, दाग लाग्छ,’ आमाले सिकाउँदै थिइन्, ‘पेट दुख्यो भने अगेनामा अलि परै बसेर हत्केलाले सेक्नु। आगो पनि छुनु हुँदैन। ढाड दुख्ला, टाउको दुख्ला, वाकवाकी लाग्ला। नआत्तिनू, तीन–चार दिनमा सबै जाती हुन्छ। धेरै दुख्यो भने मेरो मजेत्रोले कम्मर बाँध्नू।’

आमाले आफ्नी आमाबाट सिकेको कुरा छोरीलाई सिकाउँदासिकाउँदै आफ्नो पहिलो महिनावारी सम्झिइन्। भित्रभित्रै हुरुक्क भएर आयो। छोरीका दुई पाखुरा समातेर टाउको सुँघिन्। बुनु कपडा लिएर बाथरुम गई।

‘लुगा फेर्न पनि कति बेर लगाको, सकिएन अझै,’ आमाले ढोका ढकढक्याइन्।

‘लुगा धुँदै छु।’

‘छोड्दे म निखार्दिउँला।’

संंघारमा उभिएर बुनुले भनी, ‘बा, भाइ, घाम, तुलसीको मठ कसैलाई हेर्दिनँ, तर घरै बस्छु है आमा ? पल्लाघर त दाजु पनि हुनुहुन्छ नि!’

‘हुँदैन के नानी। म पहिलो पटक नछुने हुँदा एक महिनासम्म बाहिरै बसें। तँ जम्मा एकपटक बस्ने हो, त्यै पनि चार दिन मात्रै। पल्लाघरे दाजु खै के कामले हो केही दिनका लागि बाहिर गएका छन्, तीनचार दिनमा मात्रै फर्कने अरे। ठिक्क यहीबेला तँलाई सजिलो पनि भयो नि।’

तुलसा भाउजू मात्र हुनुहुन्छ भन्ने थाहा पाएपछि बुनु पल्लाघर जान राजी भई।

कपडाको पोको बोकेकी छोरीलाई पछि लगाएर आमा पल्लाघर लागिन्।

बुनु तुलसा भाउजूलाई निकै पछ्याउँथी। भाउजू पनि उसलाई निकै माया गर्थिन्।

आमाले नजानू भनेको चुलोको छेउमै राखेर भाउजूले बुनुका गोडामा तोरीको तेलले मालिस गरिदिइन्। ढाड सेकिदिइन्। मिश्री हालेको तातो दूध पिउन दिइन्। राति भुइँको ओछ्यानमा नसुतेर बुनु खाटमै भाउजूसँग टाँसिएर निदाई।

सखारै भाउजू उठिन्, छरिएको आफ्नो कपाल समेटेर जुरो बनाइन् र बुनुको पनि कपाल कोरिदिइन्।

‘तिमी लुगा फेर। धोएको लुगा घाम लागेको ठाउँमा सुकाउनू, त्यसपछि चिया खाउँला,’ बुनुलाई अह्राएर भाउजू गाई दुहुन गोठतिर जाँदै थिइन्, बुनुले हात समातेर भित्र तानी।

‘लौ के गरेको? केही हुँदैन, नआत्तेऊ।’

‘मलाई छुई सुई केही भएको छैन भाउजू,’ बुनुले आँट गरेर भनी। भाउजूले चाहिँ सानी केटीको नचाहिँदो जिद्दी बुझिन्।

‘त्यसो भए के त?’

‘हिजो आमा खेत गएका बेला बाले मलाई....’ हिक्कहिक्क गर्न थाली बुनु।

तुलसा भाउजूले कुरा बुझिन्। हातगोडा लुला भए। आफूलाई सम्हाल्दै बुनुलाई अँगालो हालेर भनिन्, ‘के भनेकी नानी यस्तो? बाले कहाँ त्यस्तो...’

बुनु भाउजूकै अंँगालोमा रुन थाली। तुलसाको क्रोध बढ्दै गयो। उनले बुनुलाई घिच्याउँदै उसको घरमा पुर्याइन् र एकै सासमा आमालाई सबै कुरा सुनाइन्।

बुनु रोइरही।

एकछिन सोचमग्न भएकी बुनुकी आमाले अब तुलसामाथि रिस पोख्न थालिन्, ‘मेरी बालखा छोरीलाई जे पायो त्यै सिकाउछ्यौ? गाउँमा हाम्रो इज्जत भएको देख्न नसकेर यस्तो सिकाएकी होइन? बुनुलाई तिमीले राखिदिनु पर्दैन, तिमी गइहाल।’

‘तर, काकी...’

‘तरसर केही छैन, खुरुक्क घर जाऊ, बुनुलाई तिम्ले राख्नु पर्दैन।’

भकारो सोहोर्दै गरेका बुनुका बा हल्ला सुनेर आँगनमा आए। डरले हो या रिसले उनी केही हडबडाएका जस्ता देखिन्थे। उनलाई देखेपछि तुलसालाई घिन लाग्यो। मनभरि उम्लिएको ज्वालामुखी बोकेर आफ्नो घर फर्किइन्।

आमाले बुनुलाई भित्र कोठामा लगेर सम्झाउन थालिन्।

‘जे नहुनु थियो भयो, अब दुःख नमान। बाका विरुद्ध बोलिस् भने गाउँलेले थाहा पाउँछन्। तेरो, मेरो र भाइको पनि बेहाल हुन्छ। बिहे भइसकेकी तेरी दिदीलाई उसका घरकाले के भन्लान्? हामी कहाँ जाने?’

भएको के हो, एकपटक पनि नसोधेकी आमाले फेरि थपिन्, ‘तैंले यति दुःख सहिदिँदा सबैको भलो हुन्छ बुनु, कुरा बुझ। फेरि गाउँसमाजमा तेरो बाको कत्रो इज्जत छ। तैंले नै यस्तो कुरा गरेपछि गाउँलेले के भन्छन्?’

बाले सर्वस्व लुटेका थिए, आमाले मन टुक्र्याइदिइन्। बलात्कार शब्दको अर्थ समेत राम्रोसँग नबुझेकी बुनुका अगाडि अँध्यारो मात्रै थियो।

बा कत्ति पनि अप्ठ्यारो नमानी पेटभरि खाना खाएर गाउँमा गफ लगाउन हिँडे।

खाना नखाएरै स्कुल जान्छु भनेर हिँडेकी बुनु साँझसम्म नफर्किएपछि आमा पीडामा छटपटाउन थालिन्। आफ्ना लोग्नेसँग कहिल्यै ठूलो स्वरले नबोलेकी उनले यसपटक लोग्नेका गालामा थप्पड हानिन् र बुनुका साथीका घरतिर गइन्।

पछि थाहा भयो बुनु त्यस दिन स्कुल गएकै रहिनछ।

राति गाउँले सबै मिलेर खोज्दै जाँदा बुनु गाउँभन्दा तल बरको रुखमा झुन्डिइरहेको अवस्थामा भेटिई।

आमा मूर्छा परिन्, गाउँलेले अस्पताल लगेर पोस्टमार्टममा गराउनुपर्छ भन्दा बाले नगर्ने भन्दै अड्डी कसे।

यसपटक पनि तुलसा भाउजूको बोल्ने आँट आएन।

प्रतिक्रिया दिनुहोस्