शनिबार, असार २७, २०७७

विचार

बन्दाबन्दीले उघारेको ओली राजको पर्दा

प्रधानमन्त्री ओलीले प्राप्त गरेको व्यक्तिगत उचाइको आधार के रहेछ भन्ने कुरा प्रस्ट भइसकेको छ।

1593057071khanal_sir.jpg

‘कहिलेकाहीँ मानिसहरु सित्तै‌मा पाएको वस्तुका लागि सबैभन्दा महँगो मूल्य चुकाउँछन्,’ महान् वैज्ञानिक अल्बर्ट आइन्स्टिनको करिब सय वर्ष पुरानो कथन हो, यो।

नेकपाले प्राप्त गरेको बहुमतको सरकार र बितेका साढे दुई वर्षका उसका गतिविधिले आइन्स्टिनको उक्त कथनलाई ताजा बनाइदिएको छ।

ठीक तीन वर्षअघि अप्रत्याशित रुपमा तत्कालीन नेकपा–एमाले र माओवादी केन्द्रको बीचमा संयुक्त चुनावी मोर्चा निर्माण भएको थियो। त्यसअघि दुवै पार्टीभित्र न त यसबारे बहस भएको थियो न त एजेन्डा नै प्रस्तुत भएको थियो। एकअर्काका कट्टर आलोचक र प्रतिस्पर्धी दलका दुई महत्त्वाकांक्षी नेताहरुले कुनै व्यापारीको घरमा बसेर चुनावी मोर्चा निर्माण भएको राजनीतिक जादुको जानकारी दिएका थिए।

सम्पूर्ण पार्टी प‌‌ङ्तिलाई अँध्यारोमा राखेर दुई शीर्ष नेताको स्वार्थअनुरुप निर्माण गरिएको चुनावी मोर्चाबाट जति धेरै नेकपाइतर शक्तिहरु आश्चर्यचकित भएका थिए, त्योभन्दा बढी स्वयं एमाले र एमाओवादीका नेता तथा कार्यकर्ताहरु आश्चर्यचकित भएका थिए। तर, उक्त चुनावी मोर्चाले नचिताएको परिणाम प्राप्त गरेपछि भने उनीहरुका नेताकार्यकर्ता मौन रहन बध्य भए।

आफैंले समेत कल्पना नगरेको संख्यासहित सत्तारोहण गरेपछि दुवै शीर्ष नेताले पुनः उस्तै रहस्यमयी र तिलस्मी ढंगबाट पार्टी एकीकरणको निर्णय गरे।

पार्टी एकीकरणजस्तो महत्त्वपूर्ण रणनीतिक सवालमा पार्टीभित्र न त कुनै बहस भयो न छलफल। एकतापछि पार्टी र सरकारको नेतृत्वबारे भागबण्डा कुनै व्यवसायीको घरमा बसेर गरेका दुई शीर्ष नेतृत्वले उस्तै तरिकाले पार्टी एकता सम्पन्न भएको निर्णय सुनाए।

दुई नेताका लागि एकताको सिद्धान्त, विचार, राजनीति, कार्यक्रम, कार्यशैली आदिभन्दा महत्त्वपूर्ण केन्द्रीय विषय थियो– उनीहरुको पालैपालो प्रधानमन्त्री बन्ने महत्त्वाकांक्षा। यही महत्त्वाकांक्षामा दबिएर नेकपाको सम्पूर्ण सांगठनिक शक्ति पार्टी एकताको निर्देशन श्रवण गरेर चुपचाप कार्यान्वयनका लागि आआफ्नो कर्मक्षेत्रमा लागेको थियो।

तत्कालीन दुवै पार्टीले दाबी गरेका सात लाख नेता र कार्यकर्ताको समूह दुई शीर्ष नेताको महत्त्वाकांक्षाको फड्के किनाराका साक्षी मात्र भए। र, सामन्ती र दासताको विरोध गर्ने कसम खाएर कम्युनिस्ट पार्टीको सदस्यता लिएका लाखौं ‘कम्युनिस्ट दास’ हरुले दुई शीर्ष नेताको संयुक्त र आलोपालो नेतृत्व लिने व्यक्तिवादी निर्णयको चुपचाप समर्थन गर्दै शिर निहुराए।

दुई पृथक पार्टी एकीकरणको घोषणा हुँदा बेपत्ता भएको विचार, राजनीति र कार्यक्रम बाँकी नेताकार्यकर्ताले धुइँपत्ताल खोज्दा पनि अझै पत्ता लाग्न सकेको छैन।

यो कुरा यहाँ किन उठाउनुपरेको हो भने कथित कम्युनिस्ट एकताको भावनात्मक आधार, राजनीतिक स्थिरताको दाबी र आर्थिक विकासमा नेपाललाई कायापलट गर्ने प्रतिबद्धतासहित सरकारमा गएको नेकपा र उसको सरकार आज राष्ट्रका लागि महँगाे बोझ साबित भएको छ।

अति सस्तो चुनावी लफ्फाजीद्वारा सित्तै‌मा प्राप्त गरेको बहुमतसहितको सरकार नेकपालाई नै महँगाे साबित भइरहेको बेला लाग्छ, अल्बर्ट आइन्स्टिन बुढाले ‘नेपालमा नेकपा नामक पार्टीको केपी ओली सरकार बन्नेछ र मेरो भनाइ हुबहु लागू हुनेछ’ भन्ने जानेर नै माथिको अर्थपूर्ण कथनको सिर्जना गरेका थिए।

उसै पनि आइन्स्टिनले करिब सय वर्षअघि कल्पना गरेको ‘ग्राभिटेसनल वेभ’ लाई वैज्ञानिकहरुले पुष्टि गरेको पनि भर्खरै तीन वर्षमात्र पुगेको छ। संयोग, तत्कालीन एमाले र माओवादी केन्द्रको तिलस्मी एकता मोर्चाको घोषणाको अवधि पनि ठ्याक्कै तीन वर्ष पुगेको छ।

बितेका तीन वर्षहरुले नेपाल कम्युनिस्ट पार्टी, त्यसको नेतृत्व र ओली सरकारलाई जुन स्थानमा ल्याइपुर्याएका छन्, इतिहासको ब्याजमा उभिएको पार्टी र सरकारको शक्ति कति अर्थहिन र खोक्रो हुँदोरहेछ भन्ने कुराको नजीर स्थापित गरिदिएको छ।

यसलाई व्याख्या गर्न आइन्स्टिनको युगीन कथन काफी छ। तत्कालीन माओवादीको राजनीतिलाई पटक्कै मन नपराउने मात्र होइन, फुटेको आँखाले समेत देख्न नसक्ने केपी ओलीले माओवादीप्रति व्यंग्य, कटाक्ष र प्रतिक्रिया गर्दै जाँदा यति धेरै लोकप्रियता प्राप्त हुनेछ भन्ने सायद सोचेका पनि थिएनन् होला।

सायद केपी ओलीले सपनामा पनि चिताएका थिएनन् होला– नेपालमा एक दिन आफैँले कटाक्ष गरेको राजतन्त्रको विरोध, गणतन्त्रको पक्ष र संघीयता यथार्थमा रुपान्तर हुनेछ। र, उनले यसै यथार्थको जगमा एक दिन संघीय लोकतान्त्रिक गणतन्त्रको प्रधानमन्त्री बन्छु भन्ने कुराको त दुर क्षितिजसम्म कल्पना गर्ने कुरै भएन।

प्रम ओलीलाई झनै अचम्म त के लाग्दो हो भने एकताका महाकाली सन्धिले डामेर पार्टीभित्र र बाहिरबाट ‘राष्ट्रघाती’ को आरोप खेपेका उनैलाई नयाँ संविधान घोषणा र त्यसप्रति भारतले लगाएको नाकाबन्दीको प्रारब्धले एकाएक ‘राष्ट्रवादी’ बनाउनेछ।

वि.सं. २०६२/६३ सालको जनआन्दोलन सफलतापछि नेपाली राजनीतिमा बढ्दै गएको भारतीय हस्तक्षेप, नेताहरुको शंकास्पद भूमिका र संविधानका अन्तर्वस्तुमा भारतीय दूतावासको चासो र चलखेलले कांग्रेस, एमाले र एमाओवादीका कतिपय नेता र उनीहरुको नीतिलाई विवादित बनाउँदै गएको थियो।

माधव नेपालको कार्यकालमा एमालेभित्र हेपिँदै र पेलिँदै आएका केपी ओलीले तत्कालकाे प्रतिध्रुवीय राजनीतिलाई आफ्नो उत्थानको आधार बनाए।

आफूलाई मुलुकको संस्थापना शक्ति भनेर दाबी गर्ने अभिजात वर्ग राष्ट्रिय राजनीतिमा अत्यन्तै कमजोर र निरीह बनेको समयमा केपी ओली उनीहरुको त्राण बनेर उदाएका थिए। ओलीको वाणीमा अभिजात वर्गले आफ्नै बोली पाउँथे। उनको व्यंग्य र अनुदार शैलीबाट उनीहरुले राहत पाउँथे। जतिजति शीर्ष नेताहरुले लोकतन्त्रको हुर्मत लिँदै जान्थे ओलीको झोलीमा अनुदारवादी ताकत बढ्दै जान्थ्यो।

पहिलो संविधानसभाको निर्वाचन अत्यधिक बहुमतले जितेको तत्कालीन माओवादीविरुद्धमा गोली ओकल्न ओलीलाई सजिलो थिएन। संघीयताको मूल आधार जातीय पहिचान खोजेको बलवान समयविरुद्ध उभिएर संघीयताको विरोध गर्न पनि ओलीलाई त्यति सजिलो थिएन। न त नयाँ संविधानको घोषणा र भारतीय नाकाबन्दी जस्तो अफ्ठेरो समयमा ‘राष्ट्रवादी’ छविलाई अझ तिखार्न नै सजिलो थियो। तर यी सबै असजिला काम ओलीले सजिलै गरे। 

त्यतिबेला असहज र असजिला लाग्ने राजनीतिक टिप्पणी ओलीका लागि सहज थिए। उनको अनुदार सोचका खास अनुयायीहरु यथास्थितिका पक्षधर थिए। समाजको ठूलो हिस्सा चेतना र उत्पादन प्रणालीका हिसाबले यथास्थितिको पक्षधर थियो। यसको आन्तरिक बल बाहिरबाट देखिने राजनीतिक बलभन्दा बलियो थियो।

यही गुह्य कुरा बुझेका ओलीले कुनै अतिरिक्त प्रयत्न नगरिकन केवल प्रतिक्रिया र यथास्थितिको पक्षपोषणको सहयोगले सत्तारोहणसम्मको यात्रा तय गरे।

निश्चित लक्ष्य, सुझबुझ र परिणाममुखी काम गर्नुभन्दा तीव्र प्रतिक्रियामुखी, भावनाप्रेरित, उग्रपन्थी, पश्चगामी, भुइँफुट्टा राष्ट्रवादीजस्ता अराजनीतिक चरित्र नेपाली राजनीतिमा सजिलै बिक्ने चरित्र हुन्।

आधारहीन, तथ्यहीन र कोरा भावनामा बग्ने यस्ता चरित्रले यहाँ सजिलै चर्चा मात्र पाउँदैनन्, निर्वाचनमा मत पनि पाउँछन्। यस्तो लोकरिझ्याँइमा आधारित र भावनात्मक लफ्फाजीमा लगानी गर्ने लम्पट समूह पनि सजिलै भेट्टिन्छन्।

राजनीतिका यस्ता पात्रहरु लोकप्रिय बन्ने अवाञ्चित अवयवहरुको कुल योगमा सत्तामा पनि पुग्छन्। नेपालमा क्रान्तिकारी, पश्चगामी, जातिवादी, मधेसवादी, वैकल्पिक आदि सबै नामधारी समूहले अपनाउँदै आएको राजनीति यही पुरातन र बासी चरित्रको समयानुकूल पुनरावृत्ति मात्र हो। केपी ओली पनि यही सजिलो आधार पक्डेर सत्तामा पुग्न सफल भएका हुन्।

स्वाभाविक हो, यस्ता पात्रहरुको समस्या सत्तामा पुगेपछि सुरु हुन्छ। किनकि एउटा औसत स्तरको महत्त्वाकांक्षी नेताले सत्तालाई साध्य बनाएर त्यहाँसम्म पुग्नका लगि जेजस्तो भाष्य, साधन र प्रतिक्रियाको उपयोग गरेको हुन्छ– त्यसले सत्ता चलाउन पनि त्यस्तै प्रतिक्रियात्मक विधिको प्रयोग गर्छ।

जुन परिणामविहीन प्रतिक्रियाले प्रतिपक्षमा हुँदा उसको ‘उत्थान’ गरेको हुन्छ, सत्तामा पुगेपछि यही चरित्रले पतनको बाटो खोलिदिन्छ। कथित विकास र समृद्धिको भव्य डिंग हाँक्दै सत्तासीन हुन पुगेको ओलीको सरकारको शीघ्र पतन हुँदै गएको कारण पनि यही हो।

धेरै समय भएको छैन, बितेका दुई वर्षभित्र प्रधानमन्त्री ओलीले आफैंले अरुलाई गरेका कटाक्ष र प्रतिक्रियाहरु आफ्नैै लागि निर्मम व्यंग्य बनेर सञ्चार माध्यम र सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

अझ आश्चर्यको कुरा त के छ भने उनका यस्ता आधारहीन र सस्ता उखानटुक्कामार्फत आउने प्रतिक्रिया रोकिएका छैनन् बरु बढ्दै गइरहेका छन्। किनकि उनले जानेको कुरा यही थियो।

नेपाली राजनीतिको मुख्य नेतृत्वमा किन ओली वा मिल्दोजुल्दो कुनै यस्तै पात्र मात्र पुग्छ भन्ने प्रश्नलाई नेपालको राजनीतिक, सामाजिक र साँस्कृतिक चरित्रको समेत अध्ययन गरेर निष्कर्ष निकाल्नुपर्ने बिषय हो।

सामान्य विश्लेषणमा के देखिन्छ भने राजनीतिको चरित्र, विचार, मुद्दा र कार्यशैलीमा भन्दा एउटा महत्त्वाकांक्षी व्यक्तिको निजी आवश्यकतामा केन्द्रित राजनीतिले यस्तो परिणाम ल्याएको हो।

त्यसैले प्रधानमन्त्री ओलीको व्यक्तित्व निर्माणका भ्रामक र कोरा तथ्यका सबै पर्दा खुलिसकेका छन्। उनको क्षमता र मुलुकको आवश्यकताको बीचमा कोरिएको विभाजन रेखा कति गहिरो रहेछ भन्ने कुरा पनि सबैले देखिसकेका छन्।

कोरोना भाइरसको महामारीसँगै ओली सरकार मुलुकको बोझ बनिरहेको तथ्यबाट कुनै नागरिक अन्जान छैनन्। तर हाम्रो दुर्भाग्यको कुरा के हो भने उनको पतनपछि सरकारको नेतृत्व गर्न लहरै उभिएका चार/पाँच जना पात्रहरुलाई हेर्ने हो भने उनी भन्दा अझ नायालक रहेको तथ्य उनीहरु आफैंले प्रमाणित गरिसकेका छन्। यिनै दृश्य पात्रहरुबाहेक कमसेकम एक दशकसम्म अर्को पात्र आउने कुनै सम्भावना नभएको तथ्य नेपाली राजनीतिको अर्को विडम्बना हो।

अमुक व्यक्तिको क्षमता, विधि र प्रक्रियाले होइन, इर्ष्या, महत्त्वाकांक्षा र भावनात्मक प्रतिक्रियाको आधारमा सित्तैमा आइलागेको सत्तामा पुग्नेबित्तिकै उक्त व्यक्तिले परिणाम दिने सम्भावना हुन्न। अर्कोतिर त्यस्तो व्यक्ति सत्तासम्म पुग्ने बाटो तयार गर्नमा उसका प्रतिपक्षीहरुको भूमिका पनि उस्तै हुन्छ। चाहे त्यो पार्टीभित्रको प्रतिपक्षी होस् वा बाहिरको।

आजको राजनीतिमा कुनै एउटा पात्रले गरेको कमजोरीलाई भजाएर अर्को उस्तै पात्रको उदय हुने गरेको छ। र, यसकै निरन्तरतामा पार्टी र सत्ताका नेतृत्वहरु परिवर्तन भएका छन्। जहाँ राजनीतिक लक्ष्य, मुई र परिणाम छैनन्।

प्रधानमन्त्री ओलीको उदय पनि यही लक्ष्यविहीन सार्वजनिक खपतका प्रतिक्रियाबाट भएको थियो। कुनै राजनीतिक पार्टीमा आबद्ध भएपछि समयले नै धकेलेर केही नेताहरुलाई पार्टी र सत्ताको शीर्ष स्थानमा पुर्याउँछ। उनीहरुको क्षमताले भन्दा उक्त पार्टीभित्रको आन्तरिक आवश्यकताले अमुक व्यक्तिलाई शीर्ष नेतृत्वमा पुर्याउँछ। आफूभन्दा अघिल्ला नेताहरुको उदयको कारण र बाटो पनि उनले देखेका थिए। त्यही कुरा उनले पनि दोहोर्याए र आजको स्थानमा आइपुगे।

प्रधानमन्त्री ओलीले प्राप्त गरेको व्यक्तिगत उचाइ केको आधारमा निर्माण भएको रहेछ भन्ने कुरा प्रस्ट भइसकेको छ। उनको पदमा आश्रित सानो समूहका लागि त उनी राजनेता, राष्ट्र निर्माता वा ईश्वर नै होलान्।

तर, ओलीको अढाइ वर्षे कार्यकालले उनको पतन सुनिश्चित गरिसकेको छ। ‘इनफ इज इनफ’ भन्ने असंगठित सडक आवाजले मात्र यसो भनेको होइन, उनको पार्टी र उनीबाट आशा गरेको ठूलो जमात समेतले ओलीको वास्तविकता थाहा पाएको छ। र, ओलीले सित्तैमा पाएको सत्ता नगुमाउने बाल हठमा ठूलो मूल्य चुकाउँदैछन्। प्रम ओलीले एकपटक पुन आइन्स्टिनको उक्ति पढुन् र मनन गरुन्।

इतिहासका विभिन्न कालखण्डमा भएका रक्तपातपूर्ण संघर्ष, शान्तिपूर्ण जनआन्दोलन र त्यसमा भएका बलिदानका गाथाले निर्माण गरेको वामपन्थी आन्दोलनको समग्र योग व्यक्तिवादको निर्लज्ज तमाशा मात्र हो भने यो तमाशाको पनि आयु पुग्यो– ओलीले यथासक्य चाँडो बुझ्दा हुन्छ।

 

प्रतिक्रिया दिनुहोस्