काठमाडौं - काठमाडौं प्रवेश गर्ने प्रमुख नाकाका रुपमा रहेको नागढुंगामा निजी क्षेत्रको पहलमा सवारी साधन निःसंक्रमण गराउने ‘डिस्इन्फेक्सन टनेल’ सञ्चालनमा आएको छ।
काठमाडौं उपत्यकामा विद्युतीय सवारी साधन सञ्चालन गर्दै आएको सुन्दर यातायातको पहलमा तयार भएको उक्त टनेल आजदेखि सञ्चालनमा आएको हो। काठमाडौं भित्रने सवारी साधनलाई कोरोना भाइरसको जोखिम हुन नदिइ प्रवेश गराउने लक्ष्यका साथ सरकारको स्वीकृतिमा सो यातायातले टनेल निर्माण गरेको हो।
लकडाउनको समयमा खाद्य पदार्थ तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई निःसंक्रमण गराएर प्रवेश गराउन टनेल निर्माण गरिएको सो यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए। जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको २४ घण्टामा नै आफूहरुले टनेल निर्माण गरेको, ठूला सवारी साधन एक मिनेटमा र साना सवारी साधन ३० सेकेण्डमा नै निःसंक्रमण गर्न सकिने थापाले बताए।