जनकपुरधाम- नवगठित समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण गर्नेविरुद्ध प्रहरीले जाहेरी दर्ता नगरेको विरोधमा उनका समर्थक कार्यकर्ताले मंगलबार साँझ महोत्तरीमा राँके जुलुस निकालेका छन्।
सरकारको दबाबमा प्रहरी र सरकारी वकिल कार्यालयले जाहेरी दर्ता नगरेको आरोप लगाउँदै पार्टीका नेता कार्यकर्ताले मंगलबार साँझ महोत्तरीको सम्सीमा राँके जुलुस प्रदर्शन गरेका हुन्।
डा. यादवको घरसमेत रहेको सम्सीमा राँके जुलुस प्रदर्शन गर्दै उनीहरुले प्रधानमन्त्री केपी ओलीकै प्रत्यक्ष निर्देशनमा अपहरण गरिएको भन्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए।
प्रधानमन्त्रीको निर्देशनमा यादवलाई अपहरण गरी घरबाट काठमाडौंसम्म लग्ने नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाल, नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठविरुद्ध अविलम्ब जाहेरी दर्ता गरी कारबाही गर्न उनीहरुले माग गरेका छन्।
पूर्व आईजीपी खनाल, सांसदद्वय बस्नेत र श्रेष्ठ डा.यादवको अपहरण गरेको भन्दै जनता समाजवादी पार्टीका शीर्ष नेतासहितको टोली सोमबार जाहेरी दर्ता गराउन पुगे पनि प्रहरीले दर्ता गर्न मानेको थिएन्।
यसैगरी मंगलबार सरकारी वकिलको कार्यालयले समेत जाहेरी लिन नमानेपछि यादव समर्थक नेताकार्यकर्ता सरकारविरुद्ध प्रदर्शनमा उत्रेका हुन्।