जनकपुरधाम– वर्षासँगै खसेको असिनाका कारण धनुषाको बटेश्वर गाउँपालिका र मिथिला नगरपालिकामा प्रभावित परिवार किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ ।
वर्षासँगै खसेको ठूलो आकारको असिनाका कारण बालीनालीका साथै घरहरुमा समेत क्षति पुगेको भन्दै प्रभावितहरुलाई राहत उपलब्ध गराउन नेपाली कांग्रेस र नेकपाले प्रदेश सरकारसँग माग गरेका हुन् ।
गत शुक्रबार असिना खसेपछि बटेश्वर गाउँपालिकाको वडा नम्बर १ र ३ तथा मिथिला नगरपालिकाको वडा नम्बर १, २ र ८ मा दुई सयभन्दा बढी घरहरुमा क्षति पुगेको छ ।
असिनाका कारण एल्भेस्टरले छाएका घरहरुको छाना पूर्णरुपले टुटेको छ भने किसानहरुले खेतमा लगाएका बालीनालीहरु समेत नष्ट भएको छ । घरको छाना फुटेपछि पानीमै बस्नुपर्ने बाध्यता भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेन्द्र यादवले असिनाका कारण प्रभावित व्यक्तिहरुलाई जस्ता उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेका छन् । घरको छानामा रहेका एल्भेस्टर असिनाले तोडिदिएपछि सर्वसाधारणहरु समस्यामा रहेकोले तत्काल जस्ताको पाता उपलब्ध गराउन आफूले मुख्यमन्त्री लालबाबु राउतसँग माग गरेको यादवले बताए ।
यसैगरी किसानहरुको बालीनाली नष्ट भएको भन्दै यादवले उनीहरुलाई समेत राहत उपलब्ध गराउन राउतको ध्यानाकर्षण गराएका छन् ।
यसैगरी नेकपाका प्रदेशसभा सदस्य शत्रुध्न महतोले पनि प्रभावितहरुलाई तत्काल राहत उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेका छन् । असिनाले घरको छाना फुटिसकेकोले घरमा बस्न समस्या भइरहेको भन्दै उनले प्रदेश सरकारले तत्काल जस्तापाता उपलब्ध गराउनुपर्ने बताए ।
बालीनाली नष्ट भएका किसानहरुलाई राहतका साथै सरकारले आर्थिक साहयता उपलब्ध गराउनुपर्ने महतोले बताएका छन् । असिना खसेपछि खेतको बालीनाली नष्ट हुनुका साथै आँप खेतीपनि प्रभावित भएको उनको भनाइ छ ।