काठमाडौं- कैलालीको धनगढीका अर्का युवक पनि कोरोनामुक्त भएर घर फर्किएका छन्।
धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय युवक कोरोना संक्रमण भएको झण्डै एक महिनापछि निको भएर सेती प्रादेशिक अस्पतालबाट फर्किएका हुन्।
उनलाई पछिल्लो पटक लगातार दुईपटक पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका एक अधिकारीले जनाएका छन्।
उनी मंगलबार दिउँसो कोरोनामुक्त भएर घर फर्किएसँगै नेपालमा कोरोनामुक्त भएर घर फर्किनेको संख्या ५ पुगेको छ।
दुबईबाट नेपाल आएका ती युवकमा गत चैत १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
उनी नेपालको चौथो कोरोना संक्रमित हुन्।
यसअघि कैलालीको लम्कीका २१ वर्षीय अर्का युवक पनि कोरोनामुक्त भएर घर फर्किएका छन्। उनी भारतबाट आएका थिए।