शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • संसद‍्‍का रोचक दृश्य : अर्थमन्त्रीको दौडदेखि सभामुख–सुवाल सवालजवाफसम्म

संसद‍्‍का रोचक दृश्य : अर्थमन्त्रीको दौडदेखि सभामुख–सुवाल सवालजवाफसम्म

विरोधमा उत्रिएका एमालेका सांसद र मर्यादापालकबीच ठेलमठेल हुँदा संसद् भवनको टेबल नै भाँचिएको छ। सत्ता पक्षको पहिरो लहरमा रहेको टेबल भाँचिएको हो।
 |  शुक्रबार, भदौ २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २५, २०७८

काठमाडौं– शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा केही रोचक दृश्य देखिए। दिउँसो एक बजे बैठक सुरु गर्दै सभामुख अग्निप्रसाद सापकोटाले भने, ‘माननीय सदस्यहरु, आजको बैठक प्रारम्भ हुन्छ।’ तर, सभामुखले बैठक प्रारम्भ भएको जानकारी गराइनसक्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरु दौडिएर बेल घेर्न पुगे।

triton college

पार्टीले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना सांसद बैठकमा उपस्थित भएको भन्दै एमालेले संसद् अवरुद्ध गरेको हो। आफ्नो आशनबाट बेल घेर्न पुगेका सांसदहरुले नाराबाजी गर्न थाले। सांसदहरुले नाराबाजी जारी राख्दा सभामुख सापकोटाले पटक–पटक बैठक अघि बढाउन आग्रह गरिरहे।

‘सर्वोच्चमा मुद्दा विचाराधीन छ। त्यसैले यो विषय फेरि उठाउनु वाञ्छनीय हुँदैन। आजको कारबाही सुरु गर्न दिनुस्,’ एमाले सांसदहरुलाई उनले आग्रह गरे, ‘बाढी–पहिरोको विषय छ। जनताको मुद्दामा माननिय सदस्यहरुले बोल्न खोज्नुभएको छ। त्यसैले बैठक सञ्चालनमा सहयोग गर्नुहोस्।’ तर, एमाले सांसदहरुले निरन्तर विरोध गरिरहे, नाराबाजी गरिरहे। करिब १७ मिनेट नारबाजी गरेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरे।  

राष्ट्रका सामु धेरै महत्त्वपूर्ण समस्याहरु, धेरै गम्भीर समस्याहरु र धेरै छलफल गर्नुपर्ने विषयहरु भएको हुनाले अवरुद्ध गरेर मलाई लाग्छ कसैलाई फाइदा छैन। यो सदनलाई सुचारु रुपमा सञ्चालन गर्नका लागि जिम्मेवार प्रतिपक्षको भूमिका महत्त्वपूर्ण हुन्छ। 

१५ मिनेटमा फेरि बैठक सुरु भयो। पहिलो बैठकमा एमाले सांसदहरुलाई संसद्को कारबाही अघि बढाउन निरन्तर आग्रह गरिरहेका सभामुख सापकोटा दोस्रो बैठकमा भने पेलेरै अघि बढे। दोस्रो बैठक सुरु भएलगत्तै एमाले सांसदहरु अघिझैं आफ्नो ठाउँबाट उठेर बेल घेर्न पुगे र नाराबाजी गर्न थाले। तर, सभामुखले नाराबाजीलाई बेवास्ता गरिदिए। 

दोस्रो बैठक सुरु भएको केहीबेर त सभामुख सापकोटा मौन रहे। केहीबेरमा उनले भने, ‘माननीय सदस्यहरु, पर्याप्त ध्यानाकर्षण भइसकेको छ। अब बैठक सञ्चालन गर्न सहज वातावरण बनाउन म हार्दिक अनुरोध गर्दछु।’ तर, एमाले सांसदहरु रोकिने मनस्थितिमा थिएनन्। उनीहरुले नाराबाजी जारी राखे।

corrent noodles
Metro Mart

सभामुख फेरि केहीबेर रोकिए, र भने, ‘राष्ट्रका सामु धेरै महत्त्वपूर्ण समस्याहरु, धेरै गम्भीर समस्याहरु र धेरै छलफल गर्नुपर्ने विषयहरु भएको हुनाले अवरुद्ध गरेर मलाई लाग्छ कसैलाई फाइदा छैन। यो सदनलाई सुचारु रुपमा सञ्चालन गर्नका लागि जिम्मेवार प्रतिपक्षको भूमिका महत्त्वपूर्ण हुन्छ। त्यसकारण तपाईंहरुलाई लामो अनुभव छ संसदीय अभ्यासको। त्यो अभ्यासको स्मरण गर्दै यो बैठक सञ्चालन गर्न तपाईंहरुलाई म हार्दिक अनुरोध गर्दछु।’ 

सभामुखको यो आग्रहपछि पनि एमाले सांसदहरु टसमस भएनन्। त्यसपछि सभामुख सापकोटाले बैठकको कारबाही अघि बढाए। उनले नेमकिपाका सांसद प्रेम सुवाललाई आर्थिक अध्यादेश २०७८ लाई अस्विकार गर्ने प्रस्ताव पढ्ने अनुमति दिए। उनले सुवाललाई आफ्नै स्थानबाट वक्तव्य दिन तीन मिनेटको समय दिए। 

सुवालले भने एमसीसीको चर्को विरोध गरे। एमसीसी उपाध्यक्ष फातिमा सुमार एमसीसी अनुमोदन गर्न दबाब दिनका लागि काठमाडौं आएको उनको जिकिर थियो। प्रधानमन्त्री देउवाले पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई जस्ताको त्यस्तै पारित गरेर एमसीसी पास गराउने रणनीति लिएको उनको आरोप थियो। 

उनले प्रमुख प्रतिपक्षीले अवरोध गरिरहँदा आफ्नो अस्वीकारको प्रस्ताव सदन समक्ष पेश गर्न अप्ठ्यारो महसुस गरेकाले एमालेको मागलाई सम्बोधन गरेर सभालाई अघि बढाउन आग्रह गरे। सोही कारण आफ्नो प्रस्ताव पेश नगर्ने जानकारी सुवालले गराए। 

अनि दौडिए अर्थमन्त्री

सुवालले बोलिसके लगत्तै सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश पेश गर्न रोस्ट्रममा बोलाउने संकेत गरे। सभामुख भन्दै थिए, ‘अब माननीय अर्थमन्त्री श्री जनार्दन शर्मालाई अध्यादेश...’ यति भनेर सभामुख रोकिए। त्यही बेला अर्थमन्त्री आफ्नो सिटबाट उठे र मर्यादापालकको सहयोग लिएर दौडिन थाले। शर्मा नाराबाजी गरिरहेका एमाले सांसदतर्फ हेर्दै दौडिएर रोस्ट्रममा पुगे। 

शर्मा रोस्ट्रममा पुगिसकेका थिए। त्यो बेलासम्म सभामुख मौन थिए। हडबडमा झुक्किएका सभामुखले भने, ‘माननीय प्रेम सुवालले आफ्नो प्रस्ताव फिर्ता लिनुभएकाले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिरहन परेन।’ अर्थमन्त्री शर्मा रोस्ट्रम पुग्दा सभामुखले यसो भनिरहँदा सत्ता पक्षका सांसदहरु भने ताली बजाइरहेका थिए। एमाले सांसदहरु भने ठेलमठेल र नाराबाजीमा व्यस्त थिए। 

एकछिन रोकिएपछि फेरि सभामुख बोले, ‘माननीय सदस्यहरु, माननीय प्रेम सुवालले पेस गर्नुभएको आर्थिक अध्यादेश–२०७८ लाई अस्विकार गरियोस् भन्ने प्रस्ताव फिर्ता लिनुभएकाले माननीय अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश स्विकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।’ 

त्यतिन्जेल रोस्ट्रममै उभिएका शर्माले अध्यादेश स्विकृतिका लागि प्रस्तुत गरे। शर्माले प्रस्ताव प्रस्तुत गरेपछि सभामुख सापकोटाले प्रस्ताव निर्णयार्थ प्रेश गरे र बहुमतका आधारमा प्रस्ताव पारित भयो। बैठकको कारबाही जारी रहँदा एमाले सांसदहरु आक्रोशित थिए र नाराबाजी गरिरहेकै थिए।  

सभामुख–सुवाल जुहारी

त्यसपछि सभामुखले राष्ट्र ऋण उठाउने अध्यादेश–२०७८ लाई अस्विकार गर्ने प्रस्तावको व्यहोरा पढेर वक्तव्य दिन तीन मिनेटको समय दिए सांसद प्रेम सुवाललाई। समय पाउनेबित्तिकै सुवालले सभामुख झुक्किएको बताए। ‘सभामुख महोदय, मैले अघिल्लो प्रस्तावलाई पेश नै गरेको छैन। मैले फिर्ता लिएको होइन। मैले चाहिँ वातावरण तयार गरिपाउँ भनेको र आग्रह गरेको थिएँ। त्यसकारण मेरो त्यो प्रस्ताव पेश गर्न पाउनुपर्छ सभामुख महोदय। मैले प्रस्ताव पेश नगरीकन त्यो प्रस्तावलाई अघि बढाउनु मेरो विचारमा यो संसदीय मर्यादा र संसदीय नियमावली भित्र पर्दैन।’

त्यसपछि सुवाल उही एमसीसीको विषयतर्फ फर्किए। एमसीसी हिन्द प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य गठबन्धन भएको जिकिर सुवालले गरे। उनी एमसीसी माथि नै केन्द्रित भएर बोलिरहेका थिए। एमसीसीमा लामो समय केन्द्रित भएपछि सुवालले आफ्नो प्रस्ताव रोस्ट्रमबाटै बाचन गर्ने व्यवस्था मिलाउन सभामुखलाई आग्रह गरे र आफ्नो स्थानमा बसे। 

त्यसपछि सभामुखले भने– माननीय सदस्य, प्रतिनिधिसभा नियमावली–२०७५ को नियम ९५ को उपनियम ४ बमोजिम उक्त अस्विकार गरियोस् भन्ने प्रस्ताव फिर्ता भएको मानिने व्यवस्था जानकारी गराउँछु। 

त्यसपछि सभामुखले अर्थमन्त्री शर्मालाई अध्यादेश अस्विकार गर्ने सूचना प्रस्तुत गर्ने क्रममा उठेका प्रश्नको जवाफ दिन समय दिए। एमाले सांसदहरुको नाराबाजी जारी नै थियो। 

त्यसपछि सभामुखले पुनः सुवाललाई राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ लाई अस्विकार गरियोस् भन्ने प्रस्ताव फिर्ता चाहे फिर्ता लिन समय उपलब्ध गराए। समय पाएपछि सुवालले भने– सभामुख महोदय, यो प्रस्तावलाई रोस्ट्रमबाटै वाचन गर्ने र पेश गर्ने वातावरण तयार गर्नका लागि म फेरि पनि आग्रह गर्न चाहान्छु धन्यवाद। 

सुवालको आग्रहपछि सभामुखले भने– फिर्ता लिनुभयो कि भएन? प्रष्ट भनिदिन परो माननीय सदस्यले।  

त्यसपछि सुवालले भने– सभामुख महोदय, मैले स्पष्टसँगै भनेको रोष्ट्रमबाटै यसलाई बाचन गरेर व्यवस्था गर्नका लागि म फेरि आग्रह गर्न चाहान्छु धन्यवाद।

माइक, माइक भन्दै सुवालले भने– मैले बोलेको आवाज नै प्रस्ट नहुने गरी प्रमुख प्रतिपक्षले नारा लगाइरहेको अवस्थामा मैले कसरी प्रस्तुत गर्ने? त्यसैले रोष्ट्रमबाटै वाचन गर्ने व्यवस्था गर्नका लागि म समाभुख महोदयसँग ध्यानाकर्षण गर्न चाहन्छु। 
लगत्तै सभामुखले जवाफ फर्काए– मैले यथास्थानबाट प्रस्तुत गर्ने कुरा भनिसकेको हुनाले त्यहिँबाट प्रस्तुत गर्नुस्। 

माइक, माइक भन्दै सुवालले भने– मैले बोलेको आवाज नै प्रस्ट नहुने गरी प्रमुख प्रतिपक्षले नारा लगाइरहेको अवस्थामा मैले कसरी प्रस्तुत गर्ने? त्यसैले रोष्ट्रमबाटै वाचन गर्ने व्यवस्था गर्नका लागि म समाभुख महोदयसँग ध्यानाकर्षण गर्न चाहन्छु। 

सुवालले आग्रह गरिनसक्दै सभामुखले भने– म फेरि तपाईंलाई आग्रह गर्छु। मैले रुलिङ गरिसकेको छु। तपाईं त्यहीँबाट आफ्नो भनाइ राख्नुस्।  

सवाल–जवाफ यतिमै रोकिएन। सुवालले भने– अब यहिँबाट भनाइ राख्नलाई प्रमुख प्रतिपक्षको नारा छ। प्रष्ट नै हुँदैन। मैले बोलेको कुरालाई.... 

सुवाल बोलिसकेकै थिएनन्, सभामुखले भनिहाले– यति कुरा मैले भने। अब सवाल–जवाफ भन्दा पनि कुरा राख्नुस्।  

रोष्ट्रममा जान जिद्दी गरिरहेका सुवालले भनिहाले– म फेरि आग्रह गर्न चाहन्छु सभामुख महोदय। रोष्ट्रमबाटै अस्विकारको प्रस्ताव राख्ने व्यवस्थाका लागि फेरि आग्रह गर्न चाहन्छु।  

अनि सभामुखले भने– तपाईंले त्यहीँबाट राख्नुहोला।

सुवाल टसमस भएका थिएनन् र भन्दै थिए– रोष्ट्रमबाटै राख्ने व्यवस्था गर्न आग्रह गर्न चाहन्छु।  

सुवाल आफ्नो अडानबाट पछि नहटेपछि सभामुख अघि बढे। र, सुवालले आफ्नो प्रस्ताव फिर्ता लिन नचाहेकाले उक्त प्रस्तावलाई निर्णयार्थ पेश गरे। सुवालको प्रस्ताव बहुमतले अस्विकार भएपछि सभामुखले अर्थमन्त्री शर्मालाई राष्ट्र ऋण उठाउने अध्यादेश स्विकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिए। उक्त प्रस्ताव बहुमतले पारित भयो। 

त्यसपछि विनियोजन अध्यादेश–२०८७ अस्विकार गरियोस् भन्ने प्रस्ताव पेश गरी वक्तव्य दिन सुवाललाई नै तीन मिनेटको समय दिए। यसअघि रोष्ट्रममा आउन पाउनुपर्ने भनेर जिद्दि गरेका सुवाललाई सभामुखले सुरुमै यथास्थानबाटै वक्तव्य दिन आग्रह गरे। 

समय पाएलगत्तै उनले उही कुरा दोहोर्याए– यो प्रस्ताव वाचन चाहिँ रोष्ट्रमबाटै गर्न पाए हुने थियो। तर, प्रस्तावलाई प्रस्तुत गर्नुअघि सुवाल सेयर बजारतर्फ फर्किए। सेयर बजार घटेको र अर्थमन्त्री शर्माले गभर्नरलाई फोन गरेपछि सेयर बजार बढेको प्रति उनको कुरा थियो। कसको स्वार्थका लागि अर्थमन्त्रीले फोन गरेको? भन्दै प्रश्न गरे। सुवाल फेरि एमसीसीतर्फ नै फर्किए। एमसीसी नचाहिने दाबी गरिरहे। एमसीसी देशघाती र अमेरिकी सैन्य रणनीति नै भएको दाबी सुवालको थियो। 

सुवालले एमसीसीमा केन्द्रित भएर लम्बेतान मन्तव्य राखिरहेपछि सभामुखले भने– विषयमा आउनुस्, समय सकियो।  

सुवालले जवाफ फर्काए– समय बाँकी छ, सभामुख महोदय। 

लगत्तै सभामुखले भने– बाँकी छैन।  

अनि सुवालले भने– सभामुखले मलाई समय तोक्नुभएको छैन। 

सभामुखले भने– तीन मिनेट तोकेको छु।  

फेरि सुवालले जिद्दि गरे– अघि सुरुमा सभामुखले समय तोक्नुभएको छैन।

सभामुखले फेरि भने– तीन मिनेट तोकेको छु।  

उनले एमसीसीको विरोध गर्नेहरु माथि प्रहरी दमन भएको कुरा राख्न थाले। ‘त्यसकारण गृह प्रशासनले शान्तिपूर्ण जुलुस लाठी प्रहार गरेर घाइते भएका उपचारका बारेमा केही सोचेको छैन। हामीले शान्तिपूर्ण जुलुस गर्न नपाउने भए के यो राणा शासन हो? पञ्चायत हो?’ सुवालले आफ्ना कुरा टुंग्याउने नदेखिएपछि माइक काटियो।  

त्यसपछि सभामुखले अर्थमन्त्री शर्मालाई अध्यादेश अस्विकार गर्ने प्रस्तावका सन्दर्भमा उठेका प्रश्नको जवाफ दिन समय दिए। अर्थमन्त्रीले जवाफ दिएपछि सभामुखले सुवाल प्रस्ताव फिर्ता लिन चाहे फिर्ता लिन समय दिए। 

सभामुखले समय दिएपछि सुवालले भने– सभामुख महोदय, मैले पेश नै गर्न पाइनँ, फिर्ता लिने त सवाल नै भएन।

त्यसपछि सुवालको प्रस्ताव निर्णायार्थ पेश गरियो। उक्त प्रस्ताव अस्विकृत भएपछि सभामुखले अर्थमन्त्री शर्मालाई विनियोजन अध्यादेश स्विकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिए। शर्माले प्रस्ताव प्रस्तुत गरेपछि अध्यादेश निर्णयार्थ पेश गरियो। सभामुखले अध्यादेश निर्णयार्थ पेश गरिरहँदा नाराबाजी गरिरहेका एमाले सांसदहरु भने उफ्रिरहेका थिए। अध्यादेश बहुमतले पारित भयो। 

सत्ता पक्षको पहिलो लहरको एउटा टेबलसँगै कांग्रेसका सांसदहरु शशांक कोइराला, सीतादेवी यादव र प्रकाशमान सिंह बसेका थिए। उनीहरु बसेको टेबल भाँचिएपछि उनीहरुलाई ठेलमठेलबाट जोगाउन सांसदद्वय दिलेन्द्रप्रसाद बडू र देवप्रकाश तिमल्सिना गएका थिए।

बैठक स्थगित गर्ने सन्दर्भमा सभामुख पुनः झुक्किए। उनले भने, ‘माननीय सदस्यहरु, अब यो बैठक आजै १५ मिनेटपछि बस्नेगरी स्थगित हुन्छ।’ सभामुख झुक्किएपछि संसद सचिवालयका कर्मचारीले सम्झाउँदै भने– अर्को बैठक। त्यसपछि सभामुख एकछिन रोकिए र फेरि भने, ‘अर्को बैठक आजै १५ मिनेटपछि बस्नेगरी स्थगित हुन्छ।’ 

ठेलमठेलमा टेबुल भाँच्चियो

विरोधमा उत्रिएका एमालेका सांसद र मर्यादापालकबीच ठेलमठेल हुँदा संसद् भवनको टेबल नै भाँचिएको छ। सत्ता पक्षको पहिरो लहरमा रहेको टेबल भाँचिएको हो।  

सभामुख सापकोटाले अर्थमन्त्री शर्मालाई बजेटसम्बन्धी अध्यादेश पेस गर्न समय दिएपछि भएको ठेलमठेलमा टेबल भाँचिएको हो। 

सत्ता पक्षको पहिलो लहरको एउटा टेबलसँगै कांग्रेसका सांसदहरु शशांक कोइराला, सीतादेवी यादव र प्रकाशमान सिंह बसेका थिए। उनीहरु बसेको टेबल भाँचिएपछि उनीहरुलाई ठेलमठेलबाट जोगाउन सांसदद्वय दिलेन्द्रप्रसाद बडू र देवप्रकाश तिमल्सिना गएका थिए। टेबल भाँचिएपछि तीनै जना सांसदहरु अर्कै लहरमा बसेका थिए।

प्रकाशित: Sep 10, 2021| 16:04 शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...