काठमाडौं - राजधानीमा लकडाउन उल्लंघन गर्ने १ हजार ८ सय ४१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसमा ४ सय ७३ महिला छन्।
शनिबार बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोना जाेखिमबारे सचेतनामूलक कक्षा लिएर छाडिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ। सोही क्रममा २ सय ४४ वटा दुईपांग्रे र १६ वटा चारपांग्रे गरी २ सय ६० वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको थियाे।
कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न सरकारले चैत ११ देखि लकडाउन गरेको छ। प्रशासनले लकडाउन पालना गरी घरमै बस्न अनुरोध गरे पनि उल्लंघन क्रम रोकिएको छैन।
कतिपय मजदुर र जरुरी परेका नागरिक सर्वसाधारण राजधानी र सहरी क्षेत्रमा रोकिनुपर्दा समस्यामा परेका छन्। अलपत्र परेकालाई घर पुर्याउन सर्वाच्च अदालतले आदेश दिइसकेको छ।
यस्तै नागरिक समाज र मानवअधिकार आयोगले पनि बिचल्लीमा परेका नागरिकलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण गर्दै आएका छन्। तर प्रधानमन्त्री केपी ओलीले भने घरबाट बाहिर निस्कनै नदिन प्रहरी प्रशासनलाई आदेश दिएका छन्।
सरकारले काेराेना संक्रमण जाेखिमका कारण लकडाउनमा कडाइ गरे पनि नागरिककाे घर जाने अधिकार उल्लंघन भएकाे भन्दै आलोचना भइरहेकाे छ।