शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • 'कतारमा आप्रवासी श्रमिकमाथि अमानवीय व्यवहार, २० नेपाली जबरजस्ती निकाला'

'कतारमा आप्रवासी श्रमिकमाथि अमानवीय व्यवहार, २० नेपाली जबरजस्ती निकाला'

प्रहरीले उनीहरुलाई कोभिड १९ परीक्षणमा जाऔं, परीक्षण सकिएपछि आआफ्नो आवासमा फर्काइदिने भनेको थियो। तर नियन्त्रणमा लिएर केही समयपछि नेपाल पठाइयाे। 
 |  बुधबार, वैशाख ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०७७

काठमाडौं- कतारी अधिकारीहरूले नेपालसहित विभिन्न मुलुकका आप्रवासी कामदारलाई नियन्त्रणमा लिएर जबरजस्ती निकाला गरेकाे घटनाप्रति एम्नेस्टी इन्टरनेसनलले आपत्ति जनाएको छ।

triton college

उक्त अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले आप्रवासी श्रमिकलाई यसो गर्नाको कारण खुलाउन र उनीहरूलाई त्यसको प्रतिवाद गर्ने अवसर दिन कतारी अधिकारीसँग आग्रह गरेको छ।

एमनेस्टीले भनेको छ, 'कतारले अधिकार उल्लंघन भोगेका श्रमिकलाई प्रभावकारी उपचार र परिपूरण सुनिश्चित गर्नुपर्दछ। साथै कतारी अधिकारीहरूले कोभिड १९ को संकटका क्रममा आप्रवासी श्रमिकको स्वास्थ्यको अधिकारलाई पूर्ण रूपमा संरक्षण गर्नुपर्छ।'

'अमानवीय हिरासतमा निकै दिन बिताएपछि धेरैजसोलाई नेपाल जाने विमानमा राख्नुअघि उनीहरूलाई आफ्नो सरसामान ल्याउने समेत अवसर दिइएको थिएन', एम्नेस्टी इन्टरनेसनलका ग्लोबल इस्युज्का निर्देशक स्टिभ ककबर्नले भनेका छन्।

यसरी गिरफ्तार भए २० नेपाली  

corrent noodles
Metro Mart

एमनेस्टीका अनुसार फागुन २९ र ३० मा कतार प्रहरीले २० नेपाली श्रमिकलाई गिरफ्तार गरेको थियो। प्रहरीले उनीहरुलाई 'कोभिड १९ परीक्षणमा जाऔं, परीक्षण सकिएपछि आआफ्नो आवासमा फर्काइदन्छाैं' भनेको थियो। तर नियन्त्रणमा लिएर केही समयपछि नेपाल पठाइयाे। 

“हामीले कुराकानी गरेका कसैले पनि उनीहरूलाई किन यस्तो व्यवहार गरिएको थियो भन्ने कुराको स्पष्टीकरण पाएका छैनन्। न त उनीहरूले आफ्नो हिरासत र निष्कासनविरुद्ध उजुरी नै गर्न सकेका थिए। अमानवीय हिरासतको अवस्थामा निकै दिन बिताएपछि धेरैजसोलाई नेपाल जाने विमानमा राख्नुअघि उनीहरूलाई आफ्नो सर सामान ल्याउने समेत अवसर दिइएको थिएन”, एम्नेस्टी इन्टरनेसनलका ग्लोबल इस्युज्का निर्देशक स्टिभ ककबर्नले भनेका छन्।

कतारी अधिकारीले महामारीलाई आप्रवासी श्रमिकविरुद्ध थप दुर्व्यवहार गर्ने अवसरका रूपमा लिएको भन्दै एमनेस्टीले दुःख प्रकट गरेको छ।

“यी व्यक्तिहरूलाई जसरी दुर्व्यवहार गरिएको छ सोबापत कतारले उनीहरूलाई परिपूरण उपलब्ध गराउनुपर्दछ र उनीहरूले चाहेको खण्डमा उनीहरूलाई कतार फर्कन दिनुपर्छ। साथै उनीहरू कार्यरत रोजगारदाता कम्पनीहरूले उनीहरूले पाउनुपर्ने पारिश्रमिक लगायतका अन्य रोजगार सुविधा यथाशीघ्र भुक्तानी गर्नुपर्छ”, एमनेस्टीले भनेको छ। एमनेस्टीले पीडित २० नेपाली मात्र सम्पर्कमा आएकाे तर याे संख्या सयाैं रहन सक्ने जनाएकाे छ।

भोकभोकै हिरासतमा

फागुन २९ गते र ३० गते आप्रवासी श्रमिकहरूलाई प्रहरीले घेरा हालेर नियन्त्रणमा लियो। उनीहरुलाई दोहाको औद्योगिक क्षेत्र, बारवा सहर र लेबर सहरसमेत विभिन्न भागमा हिरासतमा राखियो। उनीहरूलाइ सब्जी, खाद्यान्न लगायत किनमेल गर्न गएका बेला गिरफ्तार गरिएको थियो।

एक श्रमिकले भने, “हामीलाई भाइरस परीक्षणका लागि रोकिएको भनियो। प्रहरीले डाक्टर आएर भाइरस जाँच्ने भनी बतायो। तर उनीहरूले हामीलाई ढाँटेका रहेछन्।”

त्यसपछि ती श्रमिकलाई बसमा कोचियो र औद्योगिक क्षेत्रको हिरासत स्थलमा लगियो। उनीहरूको कागजात र मोबाइल फोन जफत गरियो र फोटो खिच्नुका साथै औंठाको छाप पनि लिइयो।

श्रमिकहरूलाई विभिन्न देशका सयौं अन्य मानिसहरूसँगै अमानवीय अवस्थामा हिरासतमा राखिएको थियो। उनीहरूलाई खाट र ओड्ने ओछ्याउने नभएको एकदमै भीडभाडयुक्त कोठामा पर्याप्त पानी र खानासमेत नदिएर राखिएको थियो।

एकजना नेपालीले भने, “जेल मानिसले खचाखच भरिएको थियो। हामीलाई दिनमा जम्मा एउटा रोटी दिइएको थियो जुन अपुग हुन्थ्यो। सबै मानिसलाई भुइँमा राखिएको हुन्थ्यो र खाना प्लास्टिकमा राखिएको हुन्थ्यो। भीडभाडका कारण कतिपयले त खानेकुरा थुत्नसमेत सक्दैनथे।”

२० जनामध्ये तीन जनाले मात्रै हिरासतमा रहेका बेला शरीरको तापक्रम मापन गरिएको बताएका छन्।

गुनासो गरे फौजदारी अभियोग लगाइदिने धम्की

हिरासतमा रहेका बेला श्रमिकलाई देशबाट निष्कासन गरिन लागेको बताइयो। केहीले त एयरपोर्ट लगिँदै गर्दा मात्रै आफूलाई निष्कासन गर्न लागेको थाह पाए।

कतिलाई चैत २ मा निष्कासन गरिएको थियो भने अन्यलाई चैत ६ मा निष्कासन गरिएको थियो। कसैले पनि आफूलाई किन हिरासतमा राखिएको वा किन निष्कासन गरेको भनेर कुनै उजुरीसम्म गर्न पाएनन्।

कतिपयलाई आफ्नो सरसामान प्याकिङ गर्नका लागि केही मिनेट समय दिइएको थियो भने अन्यलाई त आफ्नो कुनै सामान ल्याउने अवसर समेत दिइएन।

एकजनाले भने, “मलाई हतकडी लगाएर अपराधीलाई जस्तो व्यवहार गरियो। मेरो क्याम्पमा सामान लिनका लागि लगिएको थियो तर हतकडी लगाएको अवस्थामा मैले कसरी मेरो सरसामान जम्मा गरेर प्याकिङ गर्नु?”

उनीहरुलाई त्यहाँको प्रहरीले कुनै गुनासो गरे वा चुनौती दिने कुनै कार्य गरेमा फौजदारी अभियोग लगाइदिने तथा लामो समयसम्म हिरासतमा राख्ने धम्की दिएको थियो।

सबैजसो श्रमिकले हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा विमान चढ्नुअघि र विमानबाट उत्रिएपछि काठमाडौंमा शरीरको तापक्रम लिइएको बताए।

'पारिश्रमिक पाएकाे छैन, ऋण कसरी तिराैं'

२० जनामध्ये दुई जनालाई मात्र काम गरेको कम्पनीले सम्पर्क गरी बाँकी पारिश्रमिक चुक्ता गर्ने जनाएको छ। एकजना श्रमिकले आफूलाई कम्पनीले पैसा दिएको तर हिरासतमा रहेका बेला प्रहरीले लुटेर लगेको बताए।

अर्का श्रमिकले भने आफूले काम गरेको कम्पनीले पैसा पठाउन बैंक खाता आवश्यक पर्ने भन्दै त्यतिकै पठाएको जानकारी दिए।

सबै श्रमिकले आफूले पाउने पारिश्रमिक र काम छाड्दा पाउने अन्य सुविधा नलिइकन कतार छाडेका थिए।

एकजनाले भने, “मेरा बालबालिकासँग लगाउने लुगा छैन। उनीहरूलाई खुवाउन अझ कठिन छ।” अर्का एकजनाले आफूलाई ऋणदाताले धम्काइरहेको र आफ्ना पाँच जना बालबालिकाको लालनपालनका लागि संघर्ष गरिरहेको बताए।

सबै गैरकाननुनी थिए : कतारी अधिकारी

कतारका अधिकारीहरूले गैरकानुनी र अनैतिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर स्वदेश फिर्ता पठाएको दाबी गरेका छन्।

मानव स्वास्थ्यलाई गम्भीर रूपमा खतरामा पार्न सक्ने खाद्य वस्तु लगायतका निषेधित र प्रतिबन्धित वस्तुहरूको उत्पादन र बेचबिखनको आरोप उनीहरुमाथि लगाइएको छ।

यद्यपि १८ जनाले उनीहरूलाई लगाइएको कुनै पनि आरोप वा अभियोगबारे आफू जानकार नभएको बताएका छन्। दुई जनाले भने अरेबिक भाषा बोल्ने उनीहरूसँगै हिरासतमा रहेका अन्य श्रमिकहरूले उनीहरूलाई रक्सी आपूर्ति गरेको आरोप लगाएको जानकारी दिए।

प्रकाशित: Apr 15, 2020| 19:22 बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।