काठमाडौं- र्यापिड डाइनोस्टीक टेष्ट (आरडिटी) को नतिजा पोजेटिभ वा शंकास्पद देखिँदैमा अत्तिनु नपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बासुदेव पाण्डेले बताएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा. पाण्डेले आरडिटी परीक्षणको नतिजा आउनवित्तिकै मानिसहरु आत्तिने तथा उक्त व्यक्तिलाई एम्बुलेन्सले बोक्नसमेत नमान्ने तथा फरक दृष्टिकोणले हेर्ने प्रवृत्ति देखिएको भन्दै आरडिटिको पोजेटिभ नतिजा अन्तिम नतिजा नभएको स्पष्ट पारे।
कोरोना संक्रमण भए नभएको निक्र्यौल गर्न हाल दुई विधिबाट परीक्षण गरिँदै आएको छ। जसमा र्यापिड टेष्ट र रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसीआर) विधिबाट परीक्षण गरिँदै आएको छ। र्यापिड टेष्टमा रगतलाई नमूनाको रुपमा लिएर शरिरमा रोग परीक्षण गरिन्छ भने पिसिआर माध्यममा स्वाबलाई नमूनाको रुपमा लिएर कोरोना परीक्षण गरिन्छ।
परीक्षण गर्दा सुरुको १ देखि १४ दिनसम्मको अवस्था (जसलाइ रोग सर्नसक्ने अवस्था भनिन्छ) मा रियल टाईम पिसीआरको माध्यमबाट परीक्षण गरिने र १४ दिनसम्म पनि कुनै लक्षण नदेखिएका व्यक्तिमा कोरोना परीक्षण गनुपरेमा आरडिटीको प्रयोग गरिने निर्देशक पाण्डेले बताए। आरडिटीले रोगसँग लड्न सक्ने क्षमताको जाँच गर्ने उनी बताउँछन्। आरडिटीमा पोजेटिभ आएकालाई पिसिआर माध्यमबाट परीक्षण गरिन्छ।
उनका अनुसार कुनै एक व्यक्तिलाई एक महिनाअगाडि नै कोरोना संक्रमण भएको थियो भने आरडिटी परीक्षणबाट एक महिनापछि पनि त्यसको रिजल्ट पोजेटिभ आउन सक्छ, आरडिटीले मानिसमा भएको रोग प्रतिरोधात्मक क्षमता र उसको शरीरमा संक्रमणको एण्टीबडी छ कि छैन भनि पत्ता लगाउँछ।
तर १४ दिनपछि आरडिटीमा पोजटिभ देखिएमा त्यसले संक्रमण फैलाउने सम्भावना निकै न्युन हुने डा. पाण्डले बताए। ‘त्यसैले आरडिटी पोजेटिभ आउँदैमा त्यसले संक्रमण फैलाउँछ भन्ने हुदैन। तर आरडिटी पोजेटिभ आइसकेपछि उक्त व्यक्तिसँग केही सामाजिक दूरी कायम गर्न र सुरक्षित हुन भने पर्दछ। तर संक्रमण नदेखिएको २१ दिनभन्दा पछाडि आरडिटी परीक्षण पोजेटिभ देखिए पनि उक्त व्यक्तिबाट संक्रमण सर्दैन।’ डा पाण्डेले भने।
त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झाका अनुसार कोभिड १९ संक्रमित व्यक्तिको शरीरले दुई किसिमको एन्टिबडीहरु बनाउँछ। शुरुमा बन्ने भनेको आइजीएम (इम्युनोग्लोबिन एम) र त्यसपछि आइजीजी (इम्युनोग्लोबिन जी) हो। आइजीएम रोग लागिसकेपछि तीनदेखि ५ दिनमा वा समान्यतया एक सातामा देखिन थाल्छ। यो व्यक्तिअनुसार फरक हुन्छ। आइजीएम झण्डै दुई तीन हप्ता शरीरमा रहन सक्छ।
रोग लागेको दुई हप्तापछि आइजीजी भन्ने एन्टिबडी बन्न थाल्छ। यो आइजीजी एन्टिबडी शरीरमा महिनौँसम्म रहन सक्छ। शुरुमा रोग हुँदादेखि भाइरस मात्र भेटिन्छ। त्यसपछि ५ देखि ७ दिन बितिसकेपछि आइजीएम एन्टिबडी भेटिन सक्छ।
त्यसपछि एक महिनापछि भाइरस नेगेटिभ हुनसक्छ। तर आइजीजी लामो समयसम्म रहन सक्छ। यसको मतलब हामीले परीक्षण गर्दा शुरुको दिनमा पीसीआर मात्र पोजेटिभ आउन सक्छ।
एन्टिबडीको लागि गरिने परीक्षणहरु नेगेटिभ हुन्छ। यस्तै हप्ता १० दिनपछि पीसीआरबाट पनि पोजेटिभ आउने र एन्टिबडीहरु पनि पोजेटिभ आउने हुनसक्छ।
त्यस्तै, ३ हप्ता, ४ हप्ता वितिसकेपछि पीसीआर नेगेटिभ आउने तर एन्टिबडीको परीक्षण चाहिँ पोजेटिभ देखाउन सक्छ।
त्यसैले अहिले जति पनि प्रश्न छन्, पीसीआरबाट पोजेटिभ आयो तर र्यापिड किट वा एन्टिबडीमा देखिएन वा एन्टिबडीमा पोजेटिभ देखियो तर पीसीआरबार देखिएन भन्ने, यी सबै माथि उल्लेख गरिएजस्तै कारणले हुनसक्छ।
नेपालमा अहिलेसम्म १५ हजार ८ सय जनामा कोरोना भाइरस परीक्षण गरिएको छ। स्वास्थ्यमन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले (पीसीआर) र (आरडीटी) गरी दुवै विधिबाट परीक्षण भइरहेको जानकारी दिए।
परीक्षण गरिएकामध्ये अहिलेसम्म १६ जनामा मात्र संक्रमण देखिएको छ। अहिले पीसीआरबाट देशभरिमा ११ वटा ठाउँमा र ६३ जिल्लामा आरडीटीमाध्यमबाट परीक्षण भइरहेको छ।
पीसीआरबाट ६ हजार ८ सय ७१जना र आरडीटीबाट ८ हजार ९ सय २९ जनाको परीक्षण गरिएको छ।
प्रवक्ता डा. देवकोटाले धेरैभन्दा धेरै मानिसको परीक्षण गर्नका लाागि आरडीटी प्रयोग गरिएको बताए।