महोत्तरी-महोत्तरीको उत्तरी क्षेत्रमा खानेपानीको संकट बढेको छ। पानीका मुहान सुक्न थालेपछि बर्दिवास, भंगाहा र गौशाला नगरपालिका क्षेत्रमा खानेपानीको हाहाकार बढेको हो। नदी, पानीखोल्सी, जरुवा, इनार र चापाकलसहितका मुहान सुकेका छन्।
अब असारमा वर्षा नहुउन्जेल खानेपानीको हाहाकार बढ्दै जाने यस भेगका बासिन्दा बताउँछन्।
चुरे पहाडी शृंखलाका खोल्सीमा पानी सुक्दै गएपछि बर्दिवास वडा नं १, २, ३ , ४, ५, १०, ११ र १४ का बस्ती प्रत्यक्ष प्रभावित हुन्छन्। पाइप ओछ्याइएर ल्याइएको धाराबाट पानी झर्न छाडेको छ।
बर्दिवास वडा नं ६, ७, ८, ९, १२ र १३ मा खानेपानीको स्रोत बढीजसो इनार रहँदै आएका छन्। अहिले इनारमा पानी देखिन छाडेपछि वैशाख, जेठ कसरी कटाउने चिन्ता बढेको बर्दिवास–९ पशुपतिनगरकी गृहिणी शैलदेवी महतो बताउँछिन्। “चैतमै इनारमा पानी देखिन छाड्यो” महतो भन्छिन्, “राम्रो वर्षा हुन समय लागे आउने दिन के गर्ने होला ?”
गौशाला नगरपालिकाका बेलगाछी, भरतपुर, लक्ष्मीनिया र रामनगर एवं भंगाहा नगरपालिकाका प्रेमनगर र रामनगरसहितका बस्तीमा धमाधम इनार र चापाकल सुकेका छन्।
बर्दिवास–८ हाथीलेटको विजयबस्तीमा ५५ घरका बीच रहेको एउटा इनारमा पानी आउन छाडेपछि त्यहाँका बासिन्दा पिरोलिएका छन्। “पहिले–पहिले पनि इनार त सुक्थे”, विजयबस्तीकी गृहिणी मनमायाले भनिन्, “जेठसम्म पानी नपर्दा इनार सुक्ने त व्यहोरिएको थियो, पछिल्ला दुई–तीन वर्षदेखि त लाग्दो चैतमै इनार सुक्न थालेका छन् ।
पछिल्ला पाँच वर्षयता इनार सुक्ने क्रम बाक्लिएको यी तीनवटै नगरपालिका (बर्दिवास, गौशाला र भंगाहा नगरपालिका) बस्तीका बासिन्दाको भनाइ छ। भंगाहा–४ कै रामनगर, पलार, टोकाटोल र बनरामा खानेपानीका लागि प्रयोग गरिने चापाकल धमाधम सुकेका छन्।
चुरे पहाड शृंखलाबाट निस्कने नदी क्षेत्रमा बालुवाढुंगा उत्खनन गर्नेहरुले ठूल्ठूला गहिरा खाल्डा बनाएका र चुरे क्षेत्रका जलाधार क्षेत्र धमाधम पुरिँदै जाँदा इनार र चापाकलमा पानीको सतह गहिरिँदै गएर चैतमै खानेपानीको हाहाकार मच्चिन लागेको जानकारहरु बताउँछन्।
“हामी प्राकृतिक सम्पदाको उपयोग र संरक्षणको कुरामा धेरै लापर्वाह भयौं”, चुरे संरक्षण अभियन्ता नागदेव यादवले भने, “नदीहरुको अनियन्त्रित दोहन, चुरे क्षेत्र र यहाँका जलाधार क्षेत्रको संरक्षण गर्न नसक्ने हो भने दिनदिनै यो संकट बढ्दै जानेछ ।”
खोल्साखोल्सी, वनक्षेत्र, नदी, सीमसार क्षेत्र र पोखरीका मुख्य स्रोतको संरक्षण एवं उपयोग नीति नबनेसम्म पानीको हाहाकार नटुंगिने भंगाहा–७ का बासिन्दा वन, वातावरण र चुरे मामिला विज्ञ डा. विजयकुमार सिंह बताउँछन्।
पछिल्ला केही वर्षयता रातु, बडहरीसहितका नदीबाट बालुवा, ढुंगा अनियन्त्रित तरिकाले खन्ने, चुरे पहाडको दोहन र वन विनास बढेसँगै जलाधार क्षेत्र संरक्षण नगरिँदा खानेपानीका मुहान सुक्न थालेका छन्।
“हामी प्राकृतिक सम्पदाको संरक्षण र तिनको कसरी दीर्घकालीन उपयोेग गर्न सकिन्छ भन्ने कुरामा गम्भीर छौं” भंगाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले भने, “विकास निर्माणका योजना र पूर्वाधार विकासका योजना प्राकृतिक सम्पदाहरुको संरक्षणलाई प्राथमिकतामा राखेर बनाइएको छ। तर यो कुरा एक ठाउँको प्रयत्नले मात्र भने हुन सक्दैन ।”-रासस