बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कसरी बढ्ला कोरोना परीक्षणको दायरा ? यस्तो छ ल्याबको क्षमता

कसरी बढ्ला कोरोना परीक्षणको दायरा ? यस्तो छ ल्याबको क्षमता

नेपालमा पहिलोपटक माघ १० गते कोरोना संक्रमित व्यक्ति भेटिए। सरकारले तत्काल नमुना संकलन र परीक्षणमा चासो दिएन। चैत ९ गते विदेशबाट फर्किएका अर्का व्यक्तिमा कोरोना संक्रमण देखिएपछि मात्र परीक्षण थाल्यो।
 |  बिहीबार, चैत २७, २०७६

ज्योति अधिकारी

ज्योति अधिकारी

बिहीबार, चैत २७, २०७६

नेपालमा पहिलोपटक माघ १० गते कोरोना संक्रमित व्यक्ति भेटिए। सरकारले तत्काल नमुना संकलन र परीक्षणमा चासो दिएन। चैत ९ गते विदेशबाट फर्किएका अर्का व्यक्तिमा कोरोना संक्रमण देखिँदा करिब ५ सयको मात्र परीक्षण भएको थियो।

triton college

भारतबाट आएका दुई व्यक्तिमा संक्रमण र नेपालभित्रै संक्रमित भेटिएपछि अहिले भने सरकार पीसीआरसँगै र्‍यापिड टेस्टका लागि नमुना संकलनमा सक्रिय भएको छ। विभिन्न मुलुकमा देखिएका कोरोना भाइरस संक्रमणको दर हेर्दा सरकार नमुना परीक्षणमा निकै पछाडि छ।

कोरोना परीक्षणका लागि सातै प्रदेशमा १० वटा प्रयोगशाला स्थापना भएका छन्। सबै प्रयोगशालामा पीसीआरलगायतका उपकरण त राखिएको छ तर त्यतिले मात्र धान्न सक्ने अवस्था छैन। दक्ष जनशक्तिको कमी छँदै छ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारसम्म २३ सय ६६ नमुना परीक्षण गरिएको छ। चैत ९ सम्म ५ सय ७१ नमुना परीक्षण गरिएको थियो भने त्यसयता झन्डै १६ दिनमा १७ सय ९५ को परीक्षण गरिएको छ। यो तथ्यांकले पनि परीक्षण सुस्त भएको पुष्टि हुन्छ।

६ प्रदेशमा एक–एक स्थानमा र प्रदेश ३ मा ४ स्थानमा कोरोना परीक्षण ल्याबको व्यवस्था गरिएको छ। प्रदेश १ मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, बागमतीमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुर चितवन, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र मकवानपुर र धुलिखेल अस्पताल काभ्रेमा परीक्षणको व्यवस्था छ।

corrent noodles
Metro Mart

गण्डकी प्रदेशमा गण्डकी स्वास्थ्य निर्देशनालय पोखरा, प्रदेश ५ मा प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवल, कर्णालीमा कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालाय सुर्खेत र सुदूरपश्चिममा सेती प्रादेशिक अस्पतालमा प्रयोगशालाको व्यवस्था गरिएको छ।

कुन प्रदेशमा कति क्षमताको मेसिन ?

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गत १० गतेदेखि कोरोना परीक्षण ल्याब सञ्चालनमा आएको हो। ल्याबमा १ सय २३ जनाको नमुना परीक्षण गरिएको छ। ८३ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ भने ४० जनाको रिपोर्ट आउन बाँकी छ। २५ वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको छ।

प्रतिष्ठानका प्रवक्ता अशोक ऐरले ल्याबमा दैनिक २४ नमुना परीक्षण सकिने बताए। ल्याबमा १५ जना जनशक्ति परिचालन गरिएको छ।

प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पतालमा १ सय ४० जनाको कोरोनाको नमुना परीक्षण गरिएकोमा १ सय १३ जनाको रिपोर्ट आएको छ। ती सबै निगेटिभ छ भने २७ जनाको रिपोर्ट आउन बाँकी छ। ३ जनाको भरमा सञ्चालित ल्याबमा एक दिनमा १० वटा नमुना परीक्षण गर्न सकिने अस्पतालले जनाएको छ। दैनिक १० भन्दा बढी परिक्षण गर्नुपरेमा काठमाडौं वा धरान पठाउनुपर्छ।

बागमती प्रदेशका चार जिल्लामा कोरोना परीक्षण ल्याब सञ्चालनमा छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १९६५ नमुना परीक्षण भएका छन्।

तीन वटा पीसीआर मेसिन सञ्चालनमा रहेको प्रयोगशालामा अहिले दैनिक १ सय ५० देखि २ सय ५० सम्म नमुना परीक्षण भइरहेको प्रयोगशालाकी प्रमुख डा. रुना झा बताउँछिन्। परीक्षण बढाउनुपरेमा मेसिन तयार रहेको उनको भनाइ छ। उनले भनिन्, ‘हाम्रो क्षमता हेर्दा दैनिक १ हजारसम्म नमुना परीक्षण गर्न सकिन्छ।’

राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुरमा परीक्षण गरिएका ३७ नमुना सबै नेगेटिभ देखिएको छ। प्रयोगशालाका प्रवक्ता कृष्णसागर शर्माले भने, ‘पीसीआर मेसिन एउटा मात्रै छ। एक दिनमा ३० वटासम्म नमुना परीक्षण गर्न सकिन्छ। बढी परीक्षण गर्नुपरेमा मेसिनहरु थप गर्नुपर्छ।

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र मकवानपुरमा दैनिक ९० जनाको नमुना परिक्षण गर्न सकिने ल्याब सञ्चालनमा रहेको बागमती प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रवक्ता दीपेन्द्र सुवेदीले बताए। ल्याबमा दैनिक ५ वटा नमुना परीक्षण भइरहेको छ । ल्याबमा ४ जना जनशक्ति खटिएका छन्। हालसम्म ५१ नमुना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको सुवेदीले बताए।

धुलिखेल अस्पताल काभ्रेको ल्याबमा दैनिक ९० वटा नमुना परीक्षण गर्न सकिन्छ। ल्याबमा ५ जना जनशक्ति फोकल पर्सन सुमन ताम्राकारले जानकारी दिए। ल्याबमा १७ वटा नमुना गरिएको छ।

गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेकोे ल्याबमा हालसम्म १ सय ५६ नमुना परीक्षण गरिएको छ। ७४ को नतिजा नेगेटिभ आएको छ भने ८२ जनाको नतिजा आउन बाँकी छ । ६ जना जनशक्ति रहेको ल्याबमा दैनिक १ सय ५० सम्म नमुना परीक्षण गर्न सकिने प्रतिष्ठानका फोकल पर्सन नवराज शर्माले बताए। प्रतिष्ठानमा २ वटा पीसीआर मेसिन सञ्चालनमा छन्।

प्रदेश नं ५ हालसम्म ३६ वटा नमुना परीक्षण गरिएकोमा २६ जनाको नेगेटिभ रिपोर्ट आएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका नित्तित्त प्रमुख डा. राजेन्द्रकुमार गिरीका अनुसार १० वटा रिपोट आउन बाँकी छ । ल्याबमा हाल ४ जना प्राविधिक खटिएका छन्। ल्याबमा दैनिक २० भन्दा बढी नमुना परीक्षण गर्न नसकिने डा. गिरीले बताए।

कर्णाली प्रदेशमा प्रयोगशाला स्थापना भएको छैटौं दिनमा ७१ वटा नमुना परीक्षण गरिएको छ। प्रदेशका ५ सय १ नमुना काठमाडौंमा ल्याइएको छ। ल्याबमा एक दिनमा १५ वटा मात्रै परीक्षण गर्न सकिने कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालय संयोजक ओम आचार्यले बताए। ल्याबमा परीक्षण गरिएका सबै नमुनाको रिपोट नेगेटिभ आएको छ।

सेती प्रादेशिक अस्पतालमा १८ वटा मात्रै नमुना परीक्षण गरिएको छ। ल्याबमा आएका अन्य ४४ नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिएको र सबैको नतिजा नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका आकस्मिक विभागका प्रमुख डा.जगदीश जोशीले बताए। ल्याबमा एक दिनमा ६ वटा नुमनाभन्दा बढी परीक्षण गर्न नसकिने जोशी बताउँछन्।

प्रकाशित: Apr 09, 2020| 08:15 बिहीबार, चैत २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।