काठमाडौं- संसारभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ७८ हजार दुई सय ६९ पुगेको छ। यो जोन हप्किन्स विश्वविद्यालयका अनुसन्धाताको तथ्यांकमा आधारित छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भने ७२ हजार ६ सय १६ जनाको निधन भएको पुष्टि गरेको छ। यद्यपि प्रतिघण्टाजस्तै संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रसारण गरिरहेका छन्।
विश्वविद्यालयका अनुसार १३ लाख ८१ हजार १४ जनामा संक्रमण देखिएको छ। डब्ल्यूएचओले भने २११ मुलुकमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १२ लाख ७९ हजार ७२२ पुगेको जनाएको छ।
न्युयाेर्कमा एकै दिन ७३१ काे मृत्यु
अमेरिकामा ३ लाख ७८ हजारलाई कोरोना भाइरस संक्रमण भएको छ भने मृत्यु हुनेको संख्या १२ हजार नाघेको सीएनएनले जनाएको छ। सबैभन्दा बढी मृत्यु न्युयोर्कमा भएको छ। अहिलेसम्म ५४८९ मानिसको मृत्यु भएको न्युयोर्कका गभर्नर एन्ड्रियु कुमोले बताएका छन्। उनका अनुसार पछिल्लो २४ घण्टामा न्युयोर्कमा ७३१ जनाको निधन भएको छ।
बेलायत, इटाली, स्पेन र फ्रान्समा धेरै क्षति
बेलायतमा ६१५९ को निधन भएको छ। यस्तै संक्रमितको संख्या ५५ हजार नाघेको छ। प्रधानमन्त्री बोरिस जोन्सनसमेत कोरोना भाइरसबाट संक्रमित भएपछि अस्पतालमा उपचार गराइरहेका छन्। बेलायतमा एकजना वरिष्ठ चिकित्सकलाई कोरोना भाइरस संक्रमण भएको चार दिनपछि निधन भएको छ।
इटालीमा एकै दिन ६०४ को निधन भएको छ। यहाँ अहिलेसम्म १७ हजार बढीको ज्यान गएको छ भने १ लाख ३५ हजार संक्रमित छन्।
युुरोपेली मुलुकमध्ये सबैभन्दा बढी प्रभावित स्पेनमा झन्डै १४ हजारको मृत्यु भएको छ भने १ लाख ४० हजार संक्रमित छन्।
जर्मनीमा १८५४ को मृत्यु भएको छ भने संक्रमितको संख्या १ लाख ५ हजार नाघेको छ। यस्तै फ्रान्समा ९८ हजार संक्रमित छन् भने मृत्यु हुनेको संख्या १० हजार नाघेको त्यहाँको स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएको छ।
स्विडेनमा ५९१ को निधन भएको छ भने ७६ सय संक्रमित छन्। यस्तै नर्वेमा ८३ जनाको निधन भएको छ भने ५९ सय संक्रमित छन्। बेल्जियममा २ हजारको मृत्यु भएको र २२ हजार संक्रमित छन्। आयरल्यान्डमा १७४ को निधन भएको छ भने ५३ सय संक्रमित छन्।
स्विटजरल्यान्डमा ७८७ को मृत्यु भएको छ। त्यहाँ २२ हजार संक्रमित छन्। यस्तै नेदरल्यान्डसमा २१०८ को निधन भएको छ। १९ हजार ७ सय संक्रमित छन्।
पछिल्लोपटक टर्कीमा संक्रमण तीव्र रुपमा बढेको छ। दैनिक ३ हजारभन्दा बढी संख्यामा संक्रमण भइरहेको अधिकारीहरुले बताएका छन्। चार हप्ताअघि एकजनामा देखिएको संक्रमण अहिले ३० हजार २ सय १७ मा पुगेको छ। टर्कीमा मृत्यु हुनेको संख्या ६४९ पुगेको छ।
अफ्रिकामा संक्रमित १० हजार बढी
अफ्रिकी महादेशमा संक्रमितको संख्या १० हजार नाघेको छ। दक्षिण अफ्रिकामा मात्र १७ सय संक्रमित छन्। १२ जनाको निधन भएको छ
चीनमा ३३३५ काे मृत्यु
एसियाली मुलुकमध्ये चीनमा ३३३५ को मृत्यु भएको छ भने संक्रमितको संख्या सबैभन्दा बढी ८२ हजार ७१८३ छ।
दक्षिण कोरियामा १९२ को मृत्यु भएको छ भने संक्रमितको संख्या १० हजार नाघेको छ भने जापानमा ९२ जनाको निधन भएको छ भने झन्डै ४ हजार पुगेको छ।
मध्यपूर्वमा सबैभन्दा बढी प्रभावित इरानमा ३८७२ को निधन भएको छ। संक्रमितको संख्या ६२ हजार नाघेको छ। यस्तै इजरायलमा ६० जनाको निधन भएको छ भने ९ हजार संक्रमित भएका छन्।
अस्ट्रेलियामा ५४ जनाको निधन भएको भने ५८९५ संक्रमित भएका छन्।
दक्षिण एसियामा २१६ काे मृत्यु
दक्षिण एसियाली मुलुकमा मंगलबार अबेरसम्म २१६ जनाकाे मृत्यु भएकाे छ। भारतमा १२४ को निधन भएको छ। संक्रमितको संख्या ५ हजार पुगेको छ।
पाकिस्तानमा ५५ जनाको निधन भएको छ। यस्तै पाकिस्तानमा संक्रमितको संख्या ४ हजार नाघेको छ। बांग्लादेशमा १६४ जनालाई संक्रमण देखिएकोमा १७ जनाको निधन भइसकेको छ भने श्रीलंकामा ६ जनाको मृत्यु भएको छ । त्यहाँ १८५ संक्रमित छन्।
यस्तै अफगानिस्तानमा १४ जनाको निधन भएको र संक्रमितको संख्या ४२३ छ।
माल्दिभ्समा १९, नेपालमा ९ र भुटानमा ५ जनालाई संक्रमण देखिएको छ।