शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • एमसीसी पारित गर्न अमेरिकाको दबाब! ओलीले भने- अहिले जवाफ दिन सक्दैनौँ [२०७८-५-२४]

एमसीसी पारित गर्न अमेरिकाको दबाब! ओलीले भने- अहिले जवाफ दिन सक्दैनौँ [२०७८-५-२४]

ओलीलाई भेट्न बालकोट पुगेकी उनले शिष्टाचार भेटका क्रममा एमसीसी सम्झौतामा आएका विवाद र अहिलेको अवस्थाबारे बुझ्न खोजेकी थिइन्।
 |  बिहीबार, भदौ २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २४, २०७८

एमसीसी पारित गराउन दबाब!

triton college

एमसीसी संसद्बाट पारित गराउनका लागि अमेरिकाले दबाब दिन सुरु गरेको छ। जसअनुरुप उसले एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोलीलाई नेपाल पठाएको छ। 

बिहीबार नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष सुमारले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न सहयोग गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेकी छन्। उनले पहिलो राजनीतिक भेटघाट विपक्षी दलका नेता ओलीबाटै सुरु गर्दै यस्तो आग्रह गरेकी हुन्। ओलीलाई भेट्न बालकोट पुगेकी उनले शिष्टाचार भेटका क्रममा एमसीसी सम्झौतामा आएका विवाद र अहिलेको अवस्थाबारे बुझ्न खोजेकी थिइन्। 

जवाफमा एमाले अध्यक्ष ओलीले विगतमा सरकारको नेतृत्वमा रहँदा आफूले एमसीसी सम्झौता पारित गर्न प्रयास गरे पनि सभामुख र अन्य केही व्यक्तिको असहयोगका कारण  सफल नभएको बताएको भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए। अहिले एमसीसी सम्झौताका विषयमा आफूहरुको भन्दा सत्तारुढ दलको भूमिका महत्वपूर्ण हुने ओलीले बताएका थिए। उनले सत्तारुढ दलहरुको धारणा आएपछि मात्रै आफ्नो पार्टीले आन्तरिक छलफल गरेर सो सम्बन्धमा आवश्यक निर्णय लिने बताएको एमाले विदेश विभाग प्रमुख भट्टराईले जानकारी दिए। 

ओलीले एमसीसी सम्झौताका विषयमा सरकारले आफूहरुसँग छलफल पनि नगरेको बताएका भट्टराईले जानकारी दिए। अमेरिकी अनुदान सहायता सम्झौंता (एमसीसी)को विषयलाई लिएर नेपाल भित्र विवाद देखिएपछि उपाध्यक्ष फातिमा नेतृत्वको टोली सोही विषयमा छलफल गर्न नेपाल आएको हो। टोलीले नेपाल बसाईको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ। 

corrent noodles
Metro Mart

एमसीसीको विरोधमा उत्रिएकाहरू पक्राउ

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा प्रदर्शनमा उत्रिएका मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका कार्यकर्ता पक्राउ परेका छन्। एमसीसी उपाध्यक्ष फतिमा सुमार तथा सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सको नेपाल आगमनको विरोधमा कोटेश्वरमा निकालेको जुलुसबाट ३५ जना भन्दा धेरै पक्राउ परेका हुन्। पक्राउ पर्नेमा नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य तथा प्रदेश नं ३ का सचिव सुरेश श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (क्रान्तिकारी)का अध्यक्ष ईश्वर तिमल्सिना, महासचिव वसन्त बोगटी, क्रान्तिकारी युवा लिगका अध्यक्ष आकाश महर्जनलगायत रहेका छन्। 

पक्राउ परेकाहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ। क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले विज्ञप्ति जारी उक्त घटनाको विरोध गरेका छन्। यस्तै आजै बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट समेत एमसीसीको विरोध गर्ने केही युवाहरुलाई प्रहरीले पक्राउ गरेको थियो। 

मन्त्रिपरिषद विस्तारको तयारी

सत्तारूढ गठबन्धनको बैठकले अबको एक दुई दिन भित्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेको छ। बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले मन्त्रिपरिषदलाई एक÷दुई दिनमा पूर्णता दिने सहमति गरेको हो।  सरकार गठन भएको दुई महिना हुँनै लाग्दा समेत अझै मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्दै सरकारको आलोचना हुँदै आएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा असार २९ गते सरकार गठन भएको थियो। प्रधानमन्त्री देउवाले कांग्रेसबाट एक राज्यमन्त्री र दुई मन्त्री र माओवादीबाट दुई जनालाई मन्त्री बनाएका थिए।

बिहीबार बसेको बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलबीच छलफल भएको हो। उक्त बैठकमा गृहमन्त्री बालकृष्ण खाण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस सचेतक पुष्पा भुसाल, महान्यायाधीवक्ता खम्मबहादुर खाँतीलगायत पनि सहभागी थिए। 

यस्तै आजको बैठकमा संसद् बैठकलाई कसरी सुचारु गर्ने भन्ने विषयमा पनि छलफल भएको छ। संसद् सुचारु गर्नका लागि एमालेसँग छलफल गर्ने निर्णय भएको जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन्।

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट खारेज

नेपाली कांग्रेसको १४औं महाधिवेशन रोक्न माग गर्दै बागमती प्रदेश सभाका कांग्रेस सांसद नरोत्तम वैद्यले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ।  

बिहीबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले वैद्यको रिट खारेज गरेको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए। वैद्यले गत बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। कोरोना भाइरस संक्रमणको महामारीका कारण अहिलेकै अवस्थामा महाधिवेशन गर्न सम्भव नभएकाले रोक्नका लागि आवश्यक आदेशको मागदाबी गर्दै वैद्यले रिट दायर गरेका थिए।  नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म हुने तय गरिएको छ। जसअन्तर्गत शुक्रबार (भदौ १८गते) देखि वडा तहको अधिवेशन सुरु भएको छ।

महामन्त्रीमा उम्मेदवारी दिने विश्वप्रकाशको घोषणा

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आगामी महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। पार्टीका संस्थापक नेता विपी कोइरालाको जन्मजयन्तिको अवसरमा बिहीबार सुन्दरीजल पुगेका प्रवक्ता शर्माले पार्टीको आगामी महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

तीन वटा निर्वाचन लगातार जितेर १५ वर्षमा देश बनाउने विपी कोईरालाको परिकल्पनालाई सम्बोधन गर्न पनि आफूले पार्टी भित्रका सबै नेता र कार्यकर्ताको साथ, सहयोग र समर्थन पाएर पार्टीको महामन्त्रीमा उम्मेदवारी दिने योजना बनाएको उनको भनाइ थियो। प्रवक्ता शर्माले एउटा निर्वाचन जित्ने अर्को निर्वाचन हार्ने निरन्तरको श्रृखंला काँग्रेसको रहेको स्मरण गराउँदै त्यसले देश नबन्ने र त्यसको भागीदार काँग्रेस हुनुपर्ने अवस्था आउन नदिन पनि आफूले पार्टीलाई महामन्त्रीको जिम्मेवारीमा रहेर काम गर्न चाहेको बताए।

प्रवक्ता शर्माले मुलुकलाई निर्माण गर्ने गरी साझा दृष्टिकोणका साथ अघि बढन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे। नेपाली काँग्रेसको १४ औं महाधिवेशन आगामी मंसीर ९ गतेबाट काठमाडौंमा सुरु हुँदैछ। काँग्रेस युवा नेता गगन थापाले सोही महाधिवेशनमा महामन्त्रीका लागि उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। 

१२७१ मा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर ११ हजार ९४४ जनामा कोरोना परीक्षण गर्दा एक हजार २७१ जनामा संक्रमण पुष्टि भएको हो। यही अवधिमा १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा नै एक हजार ८४५ जना संक्रमणमुक्त भएका छन्। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १० हजार ९०३ पुगेको मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ जना रहेका छन्। जसमध्ये २६ हजार ८८६ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ७९२ जना संस्थागत आइसोलेसनमा रहेका छन्।

काठमाडौंमा भेटिएको बमझैँ देखिने वस्तु निष्क्रिय

काठमाडौंको पुरानो बानेश्वर नजिकै रहेको एक आँखा अस्पतालमा भेटिएको बमजस्तै देखिने शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ। बिहीबार बिहान करिव सवा ९:४५ बजे काठमाडौं महानगरपालिका ९ पुरानो बानेश्वरबाट सेतोपुलतिर आउने ओरालोमा रहेको मातृका आँखा अस्पतालको तेस्रो तलास्थित शौचालय भित्र भेटिएको उक्त शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गराएको हो। 

स्थानीयले जानकारी दिएलगत्तै घटनास्थल पुगेको नेपाल प्रहरीको टोलीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो। डिस्पोजल टोलीका क्याप्टेन सन्दीप थापाका अनुसार अहिले उक्त क्षेत्र सुरक्षित छ। शंकास्पद वस्तु सुरक्षित रुपमा नेपाली सेनाले निष्क्रिय पारेको छ। तर्साउने ध्येयले राखिएको त्यो शंकास्पद वस्तु बम भएनभएको अनुसन्धानपछि मात्रै भन्न सकिने पनि नेपाली सेनाको डिस्पोजल टोलीले जानकारी गराएको छ। 

डिस्पोजल टोलीले यसको बारेमा विस्तृत अध्ययन गरेर मात्रै शंकास्पद वस्तु राख्नेहरुको रिपोर्ट बाहिर ल्याउने बताएको छ। 

मनाइयो तीज

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाएको छ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। 

बुधबार दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौंथीका दिन, गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ।

यस वर्ष पनि तीजका अवसरमा पशुपतिनाथको मन्दिर नखुल्दा भक्तजनहरुले बाहिरैबाट भगवान शिवको पुजा गरेका छन्। पशुपतिनाथलगायत मुख्य मन्दिर वैशाखदेखि नै बन्द छन्। सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ। 

र, रोकिएन अफगानिस्तानमा आन्दोलन
तालिबान सरकारले मानिसहरुलाई सडक आन्दोलनमा ननिस्किन चेतावनी दिइरहेको भएपनि अफगानिस्तानका विभिन्न क्षेत्रहरुमा आन्दोलन रोकिएको छैन्। तालिबानको धम्कीलाई बेवास्ता गर्दै महिलाहरु समेत आन्दोलनमा उत्रिएका छन्। काबुलस्थित पाकिस्तानी दूतावासअघि दर्जनौं आन्दोलनकारीहरु भेला भएपछि तालिबान लडाकूले हवाई फायर गरेका थिए। तालिबानको हवाई फायरपछि अफगानी आन्दोलनकारीहरु तितरबितर भएका थिए। सबैभन्दा बढी विरोध प्रदर्शन परवान र निमरुज प्रान्तमा भएको बीबीसीले जनाएको छ। 

पछिल्लो आन्दोलनमा आन्दोलनकारीहरुले स्वतन्त्रताको माग गरेका थिए। बुधबारको प्रदर्शनको रिपोर्टिङमा गएका दुईजना पत्रकारलाई पनि कुटपिट गरेर घाइते बनाइएको तस्बिर सार्वजनिक भएको छ। 

भिडियोमा हेर्नुहोस्

प्रकाशित: Sep 09, 2021| 19:48 बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।