सर्लाहीका राज लामा नौ वर्षअगाडि कामको खोजीमा काठमाडौं भित्रिएका थिए । अस्थायी रुपमा काठमाडौंमा बसोबास गर्दै आएका लामा ज्याला मजदुरी गरेर साँझ–बिहान हातमुख जोड्थे । उनीसँगै बनेपाका सागर पनि मजदुरी गर्दै जीविकोपार्जन गरिरहेका थिए ।
दैनिक ज्यालादारी गरेरै पेट पाल्ने उनीहरु अहिले ठूलो समस्यामा छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले मुलुकभर लकडाउन गरेपछि दैनिक मजदुरी गरेर खाने उनीहरुजस्ता हजारौं मारमा परेका छन्।
लकडाउनपछि उनीहरुको दैनिकी भताभुंग भएको छ । एक दिन काम नगर्दा पनि छाक टार्न गाह्रो हुने उनीहरु ११ दिनदेखि कामविहीन भएका छन् ।
लकडाउन लागू गरेर सरकारले सबै नागरिकलाई घरभित्रै बस्नू भनेको छ। राज लामा र सागरको घर त छैन नै, डेरा पनि छैन काठमाडौंमा । नयाँ बानेश्वरको आकासे पुलमुनि उनीहरुको दैनिकी निसास्सिएको छ । आधा पेट खाएर कहिले लकडाउन खुल्छ र काम गरेर भरपेट खाउँला भनेर दिन कटाइरहेका छन्।
लकडाउन भएको भन्ने समेत जानकारी नपाएका उनीहरुलाई एक्कासि ‘प्रहरीले आजदेखि एक हप्ता हिँड्न पाइँदैन’ भनेको थियो । तर एक हप्ता बितेपछि पनि उनीहरु कतै जान पाएनन्।
लकडाउन त अर्को एक हप्ता पनि थपिइसकेछ। लकडाउन हुनु अघिसम्म दिनभरी काम गर्ने र होटलमा खाने उनीहरु अहिले नयाँ बानेश्वरको पुलमुनी बस्न बाध्य भएका छन् ।
बिहान–बेलुका एउटा सानो हाँडीमा भात पकाउँछन्, थोरै तरकारी र दालसँग भात खान्छन्। दिनभरी टोलाएर बस्छन् अनि साँझ परेपछि छेवैको पाटीमा एउटा च्यादरको भरमा सुत्छन् ।
सर्लाहीबाट आएर भक्तपुरमा ज्यामी काम गर्थे राज लामा। ठेकेदार भागेपछि उनलाई समस्या पर्यो । महिनौंसम्म गरेको कामको पैसा पनि पाएनन् । अनि उनी कामको खोजी गर्दै कालिमाटी तरकारी बजारमा पुगे । तर, त्यहाँ पनि धेरै काम नहुने र कमाइ पनि राम्रो नभएपछि सडकमा भएका फोहोर उठाउने, कवाडी सामान बटुल्ने गर्न थालेका थिए ।
कवाडी सामान उठाएरै भएपनि जसोतसो दैनिकी चलेकै थियो तर पछिल्ला दिनहरु बिताउन उनलाई निकै मुस्किल भएको छ ।
दिनभरको कमाइले बिहान–बेलुका छाक टार्ने राज र सागरले कहाँबाट खाद्यान्न जोहो गर्नु लकडाउनका लागि ? सरकारले राहत दिन्छ भनेर वडा कार्यालय पनि गए। तीनपटक गएपछि बल्ल ५ केजी चामल दियो वडाले । दुईजनालाई कति दिन धान्छ र त्यसले ।
दैनिक हुने कमाइ खानै ठिक्क हुन्थ्यो । पैसा बचेको पनि थिएन । ‘केही दिन अघिमात्रै यस्तो हुन्छ भन्ने थाहा पाएको भए पनि घरतिर जान हुन्थ्यो, अब भोकै बस्ने त होला नि,’ राजले भने।
लकडाउनले गर्दा आफूले जम्मा गरेको केही कवाड पनि थन्किएको छ। ‘साहुबाट अलिकती पैसा लिन बाँकी थियो, त्यो लिन जान पनि पाएको छैन, उठाएको सामान पनि यही थुपार्नुपरेको छ,’ कवाडीको थुप्रो देखाउँदै राजले भने।