सुर्खेत– कर्णाली प्रदेशबाट विहीबारसम्ममा ३२ जनाको कोरोना भाइरसको नमूना परीक्षण गरिएको छ । परीक्षण गरिएका सबैको रिपोर्ट नेगिटिभ आएको छ ।
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारीका अनुसार २८ जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाण्डौं र ४ जनाको प्रदेश स्वास्थ्य निर्देशनालयको प्रयोगशाला नमूना परीक्षण गरिएको हो । तर नमूना परीक्षणका लागि बुधबार टेकुमा पठाइएका तीन जनाको रिर्पार्ट भने आउन बाँकी रहेको छ ।
बिहीबार सुर्खेतमा पहिलो पटक चार जनाको नमूना परीक्षण गरिएको थियो । भारतबाट फर्किएका तीन जना र अर्काे एक जना गरी चार जनाको नमूना परीक्षण गरिएकोे थियो । चारै जना दैलेख आठविस नगरपालिकाका स्थायी बासिन्दा हुन् । परीक्षण सुरु गरिएको करिव ६ घण्टामा चार जनाको रिपोर्ट सार्वजनिक गरिएको थियो ।
आज (शुक्रबार) बाट भने एक दिनमा १० देखि १५ जनाको कोरोना परीक्षण गरिने भण्डारीले जानकारी दिइन् । शुक्रबार कोरोना परीक्षणका लागि १३ जनाको स्वाव थ्रोट संकलन भइसकेको छ ।
कोरोनाको नमूना परीक्षणका लागि प्रदेश स्वास्थ्य निर्देशनालय प्रयोगशालामा ११ जनाको टोली खटिएको छ । उत्त टोलिलाई संघीय सरकारले विशेषज्ञका रुपमा डाक्टर रामकृष्ण श्रेष्ठले गाइड गरिरहेका छन् । प्रयोगशालामा खटिएका चिकित्सकलाई करिव एक हप्ता गाइड गरेपछि श्रेष्ठ काठमाण्डौं फर्किने छन् ।
यसअघि मेसिनको गुणस्तरियता मापन गर्न टेकुस्थिति केन्द्रिय प्रयोगशालामा पठाइने भनिएपनि सबै रिपोर्टहरु नेगेटिभ आएका कारण तत्काललाई काठमाण्डौं पठाइने छैन । पुनः परीक्षण आफैमा महत्वपूर्ण भएपनि शंकास्पद नभएका कारण तत्काल काठमाण्डौ नपठाउने स्वास्थ्य निर्देशक भण्डारीले बताइन् । ’
सुर्खेतमै कोरोना परीक्षण प्रयोगशाला स्थापना भएपछि रिपोर्ट छिटो आउने र परीक्षण गर्न सजिलो भएको छ । अब कर्णालीमा संकलन भएको नमूना सुर्खेतबाटै परीक्षण हुने छ ।
प्रदेश सरकार र स्थानीय तहले कोरोना फैलिन नदिन तेस्रो मुलुक र भारतबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राखेर निगरानी गर्दै आएका छन् । भारतबाट गाउँ फर्किएर गाउँमा पुगेका नागरिकलाई स्थानीय जनप्रतिनिधिले निगरानीमा राख्दै आएका छन् ।