काठमाडौं- नेपालमा थप एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी अर्का व्यक्तिमा संक्रमण पुष्टि भएको जनाएकाे हाे।
छैटाैँ संक्रमित पनि गत चैत ४ गते कतारकाे दाेहाबाट क्युआर ६५२ नम्बरको विमानमा नेपाल आएकाे मन्त्रालयले जनाएकाे छ। छैटाैँ संक्रमित पनि बागलुङकै ६५ वर्षकी महिला भएकाे स्वास्थ्य मन्त्री भानुभक्त ढकालका प्रेस सल्लाहकार माधव तिवारीले जनाएका छन्।
उनी अहिले घरमै रहेकाे र उपचारका लागि अस्पताल ल्याउने तयारी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
यसअघि उक्त विमानमा आएका २ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। जसमध्ये एकजना बागलुङकै युवती थिइन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ।
हालसम्म नेपालमा ११८४ जनामा काेराेना परीक्षण गरिएकाेमा ११७८ जनामा नेगेटिभ देखिएकाे छ। जम्मा ६ जनामा पाेजेटिभ देखिएकाे हाे। जसमध्ये ५ जनाकाे उपचार भइरहेकाे छ। गत जनवरीमा चीनबाट आएका व्यक्तिमा पाेजेटिभ देखिएपछि उनी उपचार गरेर निकाे भइसकेका छन्।