काठमाडौं- नेपाली महिला भलिबल टोली विश्व भलिबल महिला वरियतामा यथावत् रहेको छ।
अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआईभीबी) द्वारा बिहीबार जारी विश्व वरीयतामा नेपाल यथास्थानमा छ।
यसअघि पनि नेपाल ८६ औं स्थानमा थियो। नयाँ वरीयता अनुसार नेपालको ५७ अंक छ।
एफआइभीबीले अन्तर्राष्ट्रिय खेलमा सहभागिता भएको र पाएको सफलताका आधारमा वरीयता निर्धारण गर्ने गरेको छ।
सोही आधारमा नेपाली महिला भलिबल टोलीले घरेलु भूमिमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि कुनै पनि प्रतियोगिता खेलेका छैनन्।
नेपालको महिला टिम एसियाली राष्ट्रको वरियतामा भने १७ औं स्थानमा रहेको छ।
महिलाको विश्व वरीयताको शीर्ष स्थानमा चीन रहेको छ भने दोस्रोबाट पाँचौसम्म अमेरिका, ब्राजिल इटाली र टर्की रहेका छन्।
पुरुषतर्फ भने नेपाल शीर्ष सयमा पनि छैन। नेपालको वरियता १ सय ३६ औं स्थानमा रहेको छ।