मध्य एसियाली देश तुर्कमेनिस्तानका अधिकारीहरु ‘कोरोना भाइरस’ को सट्टा ‘श्वासप्रश्वासको रोग’ जस्ता शब्द प्रयोग गरिरहेका छन्।
अहिले विश्वभरका संस्था, सरकार र मिडियाले कोरोना भाइरसबारे धेरैभन्दा धेरै जानकारी दिइरहेका छन्। तर, मध्य एसियाली देश तुर्कमेनिस्तानले ‘कोरोना भाइरस’ शब्दमाथि नै प्रतिबन्ध लगाएको छ।
तुर्कमेनिस्तानको समाचार एजेन्सी तुर्कमेनिस्तान क्रोनिकलका अनुसार त्यहाँको सरकारले मिडिया, शिक्षण संस्था र सरकारी कार्यालयहरुलाई कोरोना भाइरस शब्दको प्रयोग नगर्न आदेश जारी गरेको छ।
अहिले त्यहाँका अधिकारीहरु ‘कोरोना भाइरस’ को सट्टा ‘श्वासप्रश्वासको रोग’ जस्ता शब्द प्रयोग गरिरहेका छन्।
युरोपेली समाचार एजेन्सी रेडियो फ्रि यूरोपका अनुसार तुर्कमेनिस्तानको राजधानी अशगबतका सडकमा कोरोना भाइरसबारे कुरा गर्ने, अनुहारमा मास्क लगाउने मानिसलाई प्रहरीले पक्राउ गर्नसक्छ।
समाचारमा बताइए अनुसार कोरोना भाइरसका बारे कसैले कुरा गर्छ की भनेर सादा पोशाकका प्रहरीले सडकमा निगरानी गरिरहेका छन्।
तुर्कमेनिस्तान सरकारले आफ्नो देशमा कोरोना भाइरसबाट कोही पनि पीडित नभएको बताएको छ।
यद्यपि, रेलवे र बस स्टेशनमा मानिसहरुको तापक्रम जाँच्नेदेखि भिडभाड हुने स्थानको विशेष सफाई जस्ता रोकथामका महत्वपूर्ण काम पनि भइरहेका छन्।
देशमा जारी नागरिक आन्दोलनमा रोक लगाइएको छ भने अफगानिस्तानको सीमासँग जोडिएका गाउँमा जान प्रतिवन्ध लगाइएको छ।
यतीमात्र होइन, रुढिवादी सोचका मानिने तुर्कमेनिस्तानका राष्ट्रपति गुरबांगुली बेयरडेमुकामेडोभले कोरोना भाइरसबाट बच्नका लागि अचम्मको आदेश जारी गरेका छन्। उनले देशका सबै सार्वजनिक स्थलमा ‘हरमाला’ नामक पारम्परिक विरुवा लगाउन आदेश जारी गरेका उनले यो विरुवाले रोग प्रसार हुन नदिने ठान्छन्।