भैरहवा– भारतका विभिन्न स्थानबाट स्वदेश फर्किएका झन्डै ३ सय नेपाली आज (बुधबार) पनि नेपाल प्रवेश गर्न पाएनन्। उनीहरु तीन दिनदेखि नेपाल भारत सीमा (दसगजा) मा छन्।
नेपाल प्रवेश गर्न पाउने आशामा इलाका प्रहरी कार्यालय बेलहियामा व्यक्तिगत विवरणसमेत भरेका उनीहरुलाई मंगलबार साँझ भारततर्फ नै फर्काइएको छ। जबर्जस्ती भारततिरै फर्काइएपछि उनीहरुले दुःखको समयमा आफ्नो देश जान नपाई पराइकै देशमा फर्किन बाध्य बनाएको भन्दै सरकारको विरोध गरेका थिए। निराश भएर उनीहरु झोला–गुन्टा बोकेर भारतीय भूमितिरै फर्किएका थिए।
दसगजामा तीन दिनदेखि उनीहरुकै सुरक्षामा खटिएका एक सुरक्षाकर्मीले भने, ‘आफ्नै दाजुभाइलाई जबर्जस्ती अर्काको देश पठाउँदा पीडाबोध भयो । के गर्नु, हाम्रो बाध्यता हो । हामीले भनेर नहुने । बरु यतै ल्याएर क्वारेन्टाइनमा राखेको भए हुन्थ्यो ।’
उनीहरुलाई भारत नौतनवाका तीन स्कुलमा राखिएको भारतीय पत्रकार अरबिन्द त्रिपाठीले जानकारी दिएका छन् । त्रिपाठीका अनुसार नौतनवा इन्टर कलेज, मोडर्न एकेडेमी र आश्रम विद्यालयमा नेपालीहरुलाई राखिएको छ ।
भारतीय एसडीएम जसधीरका अनुसार भारत सरकारले क्वारेन्टाइन बनाएर नेपालीहरुलाई तीन विद्यालयमा राखेको छ । महारजगन्जका उपरीक्षक राजकुमार सावले भने, ‘सबै नेपालीलाई उचित प्रबन्ध गरिएको छ । मुख्यमन्त्री आदित्यनाथ योगीजीले विशेष चासो राख्नुभएको छ। कुनै कमी हुँदैन ।’
भारतको क्वारेन्टाइनमा राखिएका नेपालीहरुको नियमित स्वास्थ्य चेकजाँच र खानपिनको तालिका सहित व्यवस्थापन गरिएको भूतपूर्व सैनिक मनोज रानाले बताए ।
यसरी क्वारेन्टाइनमा राखिएका मध्ये एकजना सुत्केरीलाई भने बुधबार नेपाल ल्याइएको छ। दसदिने सुत्केरीसहित उनको ५ जनाको परिवारलाई तिलोत्तमा नगरपालिकाको पहल र जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाल ल्याई तिलोत्तमा नगरपालिकाको वडा नम्बर २ शंकरनगर दुर्गादत्त माविमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।
दसगजामा दसदिने सुत्केरी अलपत्र अवस्थामा भएको खबर प्राप्त भएपछि स्थानीय प्रशासन र नगरपालिकाको समन्वयमा नेपाल प्रवेशको अनुमति दिइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेब पन्थले बताए ।
तिलोत्तमा नगर प्रमुख वासुदेब घिमिरेले सुत्केरीको लागि आवश्यक सबै खुराक सहित विशेष क्वारेन्टाइनमा राखिएको बताए।
उता, भारतीय क्वारेन्टाइनमा अर्घाखाँचीका १३३ जना, गुल्मीका ७१ जना, रुपन्देहीका १७ जना, कपिलवस्तुका १०, जना बाँकेका ८, धादिङका २, बाराका १, प्यूठानका ४, पाल्पाका १५, तनहुँका ७, बाग्लुङका ४, चितवनका १९, नवलपरासीका १, स्याङ्जाका १ जना रहेका छन् ।