इटहरी- प्रसिद्ध साहित्यकार उपेन्द्र पागल पछिल्ला दुई वर्ष स्वाथ्य समस्याले निकै गलेका थिए। चार महिनादेखि त उनी घरमा भन्दा धेरै अस्पतालमा बसे। अस्पताल र घर ओहोरदोहोर गर्दा पनि उनमा आफ्नो प्रकासोन्मुख पुस्तक ‘उरावँः जाति र संस्कृति’को अत्यधिक चासो थियो । त्यो चासो बुझेका थिए, पुस्तकका सम्पादक डाक्टर भिम खतिवडा र प्रकाशक कृष्ण अधिकारीले।
अधिकारीले सरकारको लकडाउन सुरु हुनु अगाडि नै पुस्तकको कभर छापेका थिए। सुनसरीको इनरुवा–७, मधेसा सुनसरीको घरमै पुगेर इटहरीका साहित्यकार अधिकारीले कभर देखाउँदा पागल खुशी भएका थिए।
उता, धरानका साहित्यकार डा. भीम खतिवडाले सम्पादनको गति बढाउँदै थिए। आज दिँउसो २ः२५ मा पागलको देहवासन भएपछि उनको उराँव जातिबारेको पुस्तक लोकार्पण गर्ने सपना पूरा हुन पाएन।
पागको देहवसानपछि सम्पादक खतिवडा खिन्न भएका छन्। तर, पुस्तक भने चाँडै उचित अवसरमा प्रकाशन हुने खतिवडाले बताए। उनले भने, ‘उहाँले २०५० सालदेखि गरेको खोज, अध्ययन र अनुसन्धानको पुस्तक हो यो। यसमा उराँव जातिका भाषा, संस्कृति, चालचलनदेखि विभिन्न पाटाहरु समेटिएका छन्।
पागलको आज इटहरीस्थित बूढीगंगा घाटमा अन्त्येष्टि गरिएको छ। उनका छ छाेरी छन्।
कवि, समालाेचक र चित्रकार
पागलको जन्म १९९९ मा मधेसामा भएको हो। उनी २०१८ देखि चित्रकलामा सक्रिय थिए। संस्कृतमा शास्त्री र नेपालीमा स्नातकोत्तर गरेका पागलले कला र साहित्यका विधामा आधा शताब्दीभन्दा बढी योगदान गरेका छन्।
उनका पाँच कविता कृति छन्। 'शीतका थोपा' खण्डकाव्य २०४५, 'जीवन भागिरहेछ' कविता सङ्ग्रह, २०४६, 'यात्रा अलमलिरहेछ' कविता सङ्ग्रह, २०४७, 'गोरेटो खोजी' कविता सङ्ग्रह २०५४ र 'अलमलिएका पाइलाहरू' कविता सङ्ग्रह, २०६२।
उनका विभिन्न ११ वटा एकल चित्रकला प्रदर्शनी समेत भएका छन् ।
समालोचना क्षेत्रमा विश्व शाक्यका ७ हास्यव्यङ्ग्य कृतिहरूको अध्ययन र मूल्याङ्कन प्रकाशन गरेका पागलले उपेन्द्र पागलका निबन्धहरू २०६२ र उपेन्द्र पागलका कथाहरू २०६३ लगायत करिब दर्जन कृतिहरु प्रकाशन गरेका छन्।
खण्ड काव्य ‘शीतका थोपाको लागि’ बाट प्रतिभा पुरस्कार पाएका पागलले पाँच दर्जन बढी अन्य सम्मान तथा पुरस्कार पाएका छन्। उनी इनरुवा स्थानीय सरकारले बनाएको इनरुवा प्रज्ञा प्रतिष्ठानका संयोजक समेत रहेका थिए ।
उनले एक वर्षअगाडि उत्तरी मोरङको सुकुना बहुमुखी क्याम्पसलाई आफ्ना सयौँ पुस्तक उपहार दिएका थिए। उनको एउटा कृति प्रगतिशील लेखक संघ सुनसरीले प्रकाशन तयारी गरिरहेकोे अध्यक्ष रामप्रसाद खरेलले जानकारी दिए।