धनगढी – भारतीय सहरबाट मजदुरी गरेर फर्किंदै गरेका नेपालीलाई नेपाल प्रवेशमा रोक लगाइएपछि कञ्चनपुरको दशगजा क्षेत्रमा ६८ नेपाली अलपत्र परेका छन्। कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय प्रशासनले आवागमनमा कडाई गरेपछि नेपालीहरु दशगजा क्षेत्रमा अलपत्र परेका हुन्।
सशस्त्र प्रहरीले नेपाल प्रवेशमा रोक लगाएपछि महाकाली नगरपालिका नजिकै ५० जना र भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिक १८ जना अलपत्र परेको पत्रकार पुष्कर भट्टले जानकारी दिए।
भारतको उत्तराखण्डका विभिन्न शहरबाट तीन दिन पैदल हिडेर सीमा क्षेत्रमा पुगेका नेपालीहरु सोमबार बेलुकी देखि सीमा क्षेत्रमा अलपत्र परेका छन्। सशस्त्र प्रहरी बल ३५ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर साहुले गृह मन्त्रालयको आदेश अनुसार उनीहरूलाई नेपाल प्रवेशमा रोक लगाइएको बताए।