काठमाडौं – कोरोनाका कारण देशभर खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना भइरहेको उपभोक्ताको गुनासो आइरहँदा तीन दिनमा ८७ हजार ६ सय ३० सिलिण्डर ग्यास बिक्री भएको छ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायले तीन दिनका अवधिमा ग्यास उद्योगीले निगमलाई उपलब्ध गराएको तथ्यांकअनुसार शुक्रबार, शनिबार र आइतबार सो संख्यामा सिलिण्डर बिक्री भएको जानकारी दिए। उनले आइतबार अपराह्न १ बजेसम्म उपभोक्तालाई भरी सिलिण्डर अर्थात् १४.२ किलोको दरमा वितरण गरिएको र १ बजेपछि आधा सिलिण्डर वितरण गरिएको जानकारी दिए।
शुक्रबार ३३ हजार ६ सय ५८, शनिबार १४ हजार १०८ सिलिन्डर र आइतबार ३९ हजार ८६४ सिलिण्डर ग्यास वितरण गरिएको उपाध्यायले बताए। औसतमा मासिक ३८ हजार टन ग्यास आयात हुँदै आएकामा मार्च महिना (फागुन १८ देखि चैत १५) हालसम्मकै उच्च अर्थात् ४५ हजार टन ग्यास आयात भएको निगमले जनाएको छ।
निगमले उपभोक्ताले अनावश्यक रुपमा ग्यासको मौज्दात राखेको भन्दै आइतबार अपराह्न १ बजेपछि आधा सिलिण्डर मात्र ग्यास वितरण गर्न उद्योगलाई निर्देशन दिएको थियो।