कोरोना भाइरस (कोभिड–१९)का कारण अहिले करिब–करिब विश्व नै लकडाउन (बन्दाबन्दी)को अवस्थामा छ। नेपालमा पाँच जनामा यो भाइरसको संक्रमण देखिएको छ। तीमध्ये एकजना संक्रमणमुक्त भइसके। संक्रमित सबै विदेशबाट आएकाहरू हुन्।
संक्रमणको जोखिम कम गर्न सरकारले ६ दिनदेखि मुलुकभर बन्दाबन्दी गरेको छ। सरकारको आदेश बमोजिम घरमै बसेका नागरिक तिनवटै तहका सरकारको कामप्रति विश्वस्त हुन सकिरहेका छैनन्। यही सेरोफेरोमा रहेर गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङसँग नेपाल समयका लागि मस्त केसीले गरेको टेलिफोन वार्ताः
शनिबार मात्रै तपाईंको प्रदेशमा कोभिड–१९ को एउटा ‘केस’ फेला परेको छ। संक्रमित व्यक्ति यसअघि धेरैको सम्पर्कमा पुगिसकेको हुनसक्छ। त्यस्ता व्यक्तिलाई खोज्ने र परीक्षण गर्ने काम भइरहेको छ?
अहिले आइसोलेसनमा राखेर उहाँको उपचार भइरहेको छ। अवस्था सामान्य छ। हामीले उहाँको ‘ट्राभल हिस्ट्री’ पत्ता लगाएर सम्पर्कमा आएकालाई खोज्ने काम गरिरहेका छौं। काठमाडौंदेखि पोखरा हुँदै बाग्लुसम्म कसरी जानुभयो, को–कसको सम्पर्कमा पुग्नुभयो सबैको विवरण संकलन हुँदैछ।
उहाँ घर पुगेर दुई पटक बाग्लुङ बजार घुम्नु भएको रहेछ, सबै कुरा छिटोभन्दा छिटो पत्ता लगाएर आवश्यक कदम चालिनेछ।
स्थानीय यात्रामा टिकटको व्यवस्था नहुँदा पनि उहाँसँग यात्रा गर्ने अन्यको विवरण पत्ता लगाउन समस्या छ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ‘कमाण्ड फोर्स’ बनाएका छौं त्यसले निरन्तर काम गरिरहेको छ। १४ दिन कटिसकेका र समस्या नदेखिएकोमा केही गर्नु परेन बाँकीलाई क्वारेन्टाइनमा राख्ने र स्वास्थ्य जाँचको काम गर्ने तयारी छ।
उहाँ चढेको जहाजमा आएर गण्डकी प्रदेशमा आएकाहरूको पनि खोजी भइरहेको छ। त्यसमध्ये लम्जुङमा रहेका चार जनाको स्वाब लिइसकेका छौं। परीक्षणका लागि काठमाडौं पठाउँदै छौं।
कोभिड–१९ को जोखिम कम गर्न प्रदेशले अन्य के–के काम गरिरहेको छ?
विभिन्न जिल्लामा क्वारेन्टाइन बनाएका छौं। क्वारेन्टाइन बन्नु अघि नै थुप्रै नागरिकहरु अरु जिल्ला र विदेशबाट आएर घरघर पुगिसक्नु भएको छ। त्यसमध्ये घरमै ‘सेल्फ आइसोलेसन’मा बसेकाहरूमा समस्या भएन, बाँकी विदेशबाट आउने सबैलाई ‘क्वारेन्टाइन’मा राख्ने काम भइरहेको छ। हरेक जिल्लामा बाहिरबाट आएकाहरूको विवरण संकलन गरिरहेका छौं।
सेवा सुविधा विनाका टेन्ट मात्रै टाँगेर वा स्कूल कलेजका कोठामा बेड राखेर क्वारेन्टाइन बनाइएको छ, त्यहाँ बस्नेको आधारभूत सुविधा किन ख्याल नगरिएको?
प्रदेशले मात्रै होइन स्थानीय सरकारले पनि थुप्रै क्वारेन्टाइन बनाएका छन्। सबै ठाउँमा अनुगमन गर्न सकिएको छैन। यद्यपि, ‘कमाण्ड फोर्स’ र पालिका प्रमुखहरूले नियमित अनुगमन गरिरहनु भएको छ। केन्द्र सरकारले तोकेको मापदण्ड पुरा भएको छैन होला, त्यसको लागि हामीसँगस्रोत साधन पनि छैन।
तर, अरू विकल्प नहुँदा जति सक्यो सुविधासम्पन्न गर्ने प्रयास गरेका छौं। थप सुधार्दै जानेछौं।
सरकारी अस्पतालमा स्रोत–साधन नभएका खबर आइरहेका छन्। यस्तो बेला स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्रीको व्यवस्था र निजी अस्पतालको प्रयोगबारे केही भइरहेको छ?
निजी र सामुदायिक अस्पताललाई कसरी प्रयोग गर्न सकिन्छ केन्द्रले नीति बनाइदिनु पर्यो भनेर मैले उपप्रधानमन्त्री समक्ष प्रस्ताव राखेको छु। नीति बन्यो भने हामीलाई सहज हुन्छ। सरकारी, निजी, सामुदायिक सबै अस्पतालमा आइसोलेसनको व्यवस्था छ। प्रत्येक जिल्ला अस्पतालमा तीनदेखि पाँचवटा आइसोलेसन वेड स्थापना गरिएको छ।
मणिपाल शिक्षण अस्पतालमा १५ बेडको आइसोलेसन तयार पारिएको छ। गण्डकी मेडिकल कलेजमा १५, जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रमा ३०, लगायत अन्य अस्पतालमा गरी एक सय बेडको आइसोलेसन वार्ड पोखरामै छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोनाको उपचारमा मात्रै प्रयोग गर्ने निर्णय भएको छ। अन्य अस्पतालमा पनि पूर्वाधार थपिंदै छ।
स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा सामग्रीको अभाव हुँदा उनीहरु काममा जान डराइरहेका छन्। अहिले जति छ त्यसैबाट काम चलाइरहेका छौं। सायद आज केन्द्रले थप सामग्री पठाउँछ। त्यो आउनसाथ स्वास्थ्यकर्मीले सुरक्षित महसुस गर्नेछन्।
जोखिम बहन भत्ताको पनि व्यवस्था गरेका छौं। केन्द्र सरकारले तोकेकोमा हामीले २५ प्रतिशत थपेर दिने निर्णय गरेका छौं। काममा खटिने स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई जीवन बीमाको व्यवस्था गर्ने तयारीमा छौं। उहाँहरूलाई उत्साही बनाउन प्रदेश सरकार लागि परेको छ।
अत्यावश्यक वस्तुको आपूर्ति र वितरणको अवस्था कस्तो छ?
लकडाउन पक्कै पनि बढ्ने भएकोले हामीले यसमा विशेष ध्यान दिएका छौं। प्रमुख जिल्ला अधिकारी र स्थानीय प्रतिनिधिसँग नियमित संवाद भइरहेको छ। अहिलेसम्म अत्यावश्यक वस्तुको अभाव देखिएको छैन। भोलिका दिनमा थप सहज बनाउनको लागि केन्द्र सरकारसँगपनि छलफल चलिरहेको छ। अत्यावश्यक वस्तुको अभाव हुँदैन तपाईहरू ढुक्क हुनुस्।
निम्न वर्गिय परिवारको लागि केही सोच्नुभएको छ?
नेपालमा समस्या के छ भने, को निम्न को उच्च छुट्याउनै गाह्रो छ। तर पनि स्थानीय तहले विवरण बनाउँदैछन्। तर त्यो कति सही भन्ने प्रश्न पनि उठ्ला। भोकै कोही बस्न नपरोस् भनेर स्थानीय सरकार क्रियाशील बनिरहेका छन्। सुकम्बासी बस्तीबाट केही गुनासो आएका छन्। त्यहाँ चामल, दाल, तेल, नुन वितरण गर्ने तयारी गरेका छौं।
प्रदेशबासी आम नागरिकलाई के आग्रह गर्नुहुन्छ?
यो एक प्रदेश वा देशको मात्र नभएर सिंगो मानव जातिको समस्या हो। मानव सभ्यतालाई बचाउन प्रत्येक व्यक्तिले भूमिका खेल्न जरूरी छ। हामी एकजुट भएर लड्नुको विकल्प छैन। एकजुट हुनुको मतलब आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ। सञ्चार माध्यमले सही सूचना दिनुपर्यो, आम नागरिक काम नपरी घर बाहिर निस्कन भएन। यो सब आफ्नै सुरक्षाको लागि हो भनेर सबैले बुझिदिनु पर्यो। शंकास्पद लक्षण देखिएका र विदेशबाट आएकाहरू क्वारेन्टाइनमा बसिदिनुपर्यो। महामारीको विरुद्ध लड्न कठिन छ। त्यसैले तपाईहरू घरमै बसिदिनुस्।
यो पनि पढ्नुस्।
'विदेशबाट आउनेहरू कृपया हाम्रो सम्पर्कमा आइदिनुस्'