काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम तथा उपचारका लागि सरकारले स्थापना गरेको कोषमा नेपाल निजामती कर्मचारी युनियन (संघ) ले सहयोग गरेको छ।
संघले शनिबार एक विज्ञप्ति जारी गर्दै सरकारले तयार गरेको कोषमा रु. २ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको हो।
नेपाली कांग्रेस निकट निजामती कर्मचारीहरुको उक्त ट्रेड युनियन संघले विज्ञप्ति जारी गर्दै आफूहरु राज्यलाई आवश्यक परेको खण्डमा जस्तोसुकै सहयोग गर्न तयार रहेकोसमेत जनाएको छ।
विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरस संक्रमणको जोखिमका लागि सरकारले चालेका हरेक कदममा आफूहरु साथमा रहेको प्रकाशित विज्ञप्तिमा जनाइएको छ।
राष्ट्रिय वाणिज्य बैंकमा रहेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा विभिन्न संघ संस्था, राजनीतिक दल एवम् व्यक्तिहरुबाट सहयोग रकम जम्मा हुने क्रम जारी रहेको छ।
शुक्रबारसम्म उक्त कोषमा १५ करोड भन्दा बढी रकम जम्मा भइसकेको छ। शनिबार पनि थुप्रै संघ संस्थाले सहयोग गरेका छन्।