सुर्खेत । कोरोनाको त्रासका कारण नेपालमा थप ‘लकडाउन’ भए वीरेन्द्रनगर नगरपालिकाले राहत दिने जनाएको छ । शुक्रबार कार्यवाहक नगर प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा बसेको बैठकले १८ गतेपछि पनि लकडाउन भए विपन्न परिवारलाई राहत दिने निर्णय गरेको हो ।
‘लकडाउन थप भए प्रत्येक वडामा गरिब परिवार पहिचान गरी राहत दिनेछौँ,’ ढकालले भनिन्, ‘दैनिक परिश्रम गरी छाक टार्नुपर्ने परिवारलाई दैनिक उपभोग्य वस्तु (दाल, चामल, तेल र नुन) दिनेछौँ ।’
राहत उपलब्ध गराउन नगरपालिकाले प्रत्येक वडामा पाँच लाख रकम उपलब्ध गराउने छ । वीरेन्द्रनगर कोरोनाको उच्च जोखिममा रहेको निष्कर्ष निकाल्दै वीरेन्द्रनगरले अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन नगरवासीलाई अनुरोध गरेको छ ।
साथै नगरपालिकाले न्यूनतम खाद्य सामग्री खरिद गर्न घर बाहिर जान नसक्ने अवस्था आएको खण्डमा हरेक वडामा आवश्यक व्यवस्था मिलाउने जनाएको छ ।