काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनिकरणका लागि मुलुक लकडाउन भएको अवस्थामा अत्यावश्यक सामानहरु घरमै पुर्याउने गरी तयारी थालिएको छ।
गृहमन्त्रालयमा बिहीबार सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले काठमाडौं उपत्यकाभित्र रहेका अत्यावश्यक खाद्य वस्तुका सबै स्टोर एवम् बिक्रेताहरुले आ–आफ्नो ‘डेलिभरी भ्यान’ मार्फत् आवश्यक दैनिक उपभोग्य वस्तु ग्राहको घरसम्मै पुर्याउने व्यवस्था गर्न निर्देशन दिएको छ।
त्यस्तै बैठकले आवश्यक पर्ने ‘डेलिभरी भ्यान’ (गाडी) का लागि जिल्ला प्रशासन कार्यालयबाट पास लिएर सञ्चालन गर्न भनेको छ।
निर्णयअनुसार पसलहरु सञ्चालन, माग संकलन र वितरण गर्ने कार्यमा आवश्यक पर्ने सुरक्षा व्यवस्था महानगरीय प्रहरी कार्यालयले मिलाउनेछन्।
माग संकलन र वितरण गर्ने कार्यलाई सहज र व्यवस्थित गर्न सबै स्टोर एवम् बिक्रेताले आफ्नो टोल फ्री नम्बर वा अन्य नम्बर उपलब्ध गराउनु पर्ने, फोन, अनलाइन तथा अफलाईन माग संकलन गरी माग भएका आवश्यक दैनिक उपभोग्य वस्तुहरु बिक्रिवितरण गर्ने निर्णय बैठकले गरेको छ।
गृह सचिवस्तरीय बैठकले दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थापनलाई सहज गर्न गराउनका लागि सबै वडा कार्यालयहरुबाट आवश्यक सहजीकरण गर्ने गराउने व्यवस्था मिलाउन काठमाडौं महानगरपालिका र सम्बन्धित उपमहानगरपालिका/नगरपालिकालाई निर्देशन दिएको छ।
त्यस्तै काठमाडौं बाहिर रहेका अत्यावश्यक वस्तुका स्टोर एवम् बिक्रेताहरुले पनि स्थानीय तथा जिल्ला प्रशासनको समन्वयमा यो व्यवस्था गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ।
यस्तो अवस्थामा कसैले कालोबजारी, कृत्रिम अभाव सिर्जना, जम्माखोरी जस्ता कार्य गरेमा तुरुन्त ११४९ मा फोन गर्न मन्त्रालयले आग्रह गरेको छ।