जनकपुरधाम– विश्वभर फैलिएको कोरोना संक्रमण रोकथाम गर्न प्रदेश सरकारले राहत कोष स्थापना गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण रोकथाम तथा यस प्रभावितलाई राहत उपलब्ध गराउन प्रदेश सरकारले २५ करोडको राहत कोष स्थापना गर्ने निर्णय गरेको हो ।
बैठकले सरकारको तर्फबाट २५ करोडको राहतकोषको स्थापना गर्ने र कोषमा सम्पूर्ण मन्त्रीहरुको तर्फबाट एक–एक महिनाको तलब दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।
उनले राहत कोषमा सहयोग गर्न सामाजिक संघसंस्था, प्रदेशका व्यापारिक घराना एवं इच्छुक व्यक्तिहरुलाई आह्वान समेत गरिने बताए ।
यसैगरी बैठकले महामारी नियन्त्रणको लागी मुख्यमन्त्रीको संयोजकत्वमा सबै मन्त्री रहने गरि उच्च स्तरीय निर्देशन समिति गठन गरेको छ भने महामारी नियन्त्रणको लागि आवश्यक व्यवस्थापन गर्न निमित्त प्रमुख सचिव नारायण दवाडीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरि विशेष कार्यकारी समिति समेत गठन गरेको छ ।
कार्यकारी समितिलाई मन्त्रिपरिषद् बैठकले विशेष परिस्थितिमा महामारी नियन्त्रणको लागी आवश्यक व्यवस्थापन गर्न निर्देशन समेत दिएको छ । कार्यकारी समितिले महामारी नियन्त्रण गर्न आवश्यक सामग्रीहरुको खरिद विशेष परिस्थितिको लागी व्यवस्था गरिएको खरिद नियमावली बमोजिम गर्न पाउने छ ।
साथै मन्त्रिपरिषदले प्रादेशिक अस्पताल जनकपुर, वीरगंज र राजविराजमा कोरोना सम्बन्धि जाँच गर्ने ल्याबको स्थापना गर्ने निर्णय समेत गरेको प्रवक्ता यादवले जानकारी दिए ।
मन्त्रिपरिषदको बैठकले लकडाउनका कारण समस्यामा रहेका गरिव तथा विपन्न परिवारका लागी आवश्यक राहतको व्यवस्था गर्न स्थानीय तहसँग समन्वय गरेर अघि बढने निर्णय गरेको छ ।