मंगलबार, वैशाख ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोना रोकथाम : प्रदेश २ मा तयारी सुस्त, चिकित्सक नै असुरक्षित

कोरोना रोकथाम : प्रदेश २ मा तयारी सुस्त, चिकित्सक नै असुरक्षित

‘अस्पतालमा पीपीई छैन, ल्याब परीक्षणका लागि आवश्यक किट छैन। स्वास्थ्यकर्मी नै सुरक्षित नरहे बिरामी जाँच कसरी गर्ने ?’
 |  बिहीबार, चैत १३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १३, २०७६

जनकपुरधाम- दुई दिनअघि धनुषाको विदेह नगरपालिकाका एकजनालाई रुघाखोकी र ज्वरो आएपछि कोरोना संक्रमणको शंका लाग्यो। केही दिनअघि भारतको चेन्नईबाट फर्केका उनलाई तत्काल जनकपुरस्थित प्रादेशिक अस्पताल लगियो।

triton college

आकस्मिक कक्षमा खटिएका चिकित्सकले ‘टीबीको लक्षण देखिएको भन्दै घरमै आराम गर्न’ सल्लाह दिए। अस्पतालमा कोरोना भाइरस संक्रमबारे परीक्षण भएन। उनी घर फर्किए।

जनकपुरस्थित प्रादेशिक अस्पताल र जानकी मेडिकल कलेजको सिटी अस्पतालमा कोरोनाका शंकास्पद बिरामी परीक्षणका लागि तयार पारिएको भनिएको छ। तर दुवै अस्पतालले शंकास्पद बिरामीलाई एम्बुलेन्सबाट झर्नसमेत दिँदैनन्। उपकरण र उपचार व्यवस्था नरहेको भन्दै बिरामीलाई काठमाडौं जान भनिरहेका छन्।

प्रमुख प्रादेशिक अस्पतालनै शंकास्पद बिरामी जाँच्न आलटाल गर्न थालेपछि यस क्षेत्रमा थप चिन्ता बढेको छ। प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सकले पर्याप्त संख्यामा उपकरण पाउन सकेका छैनन् भने भेन्टिलेटरसमेत छैन।

प्रादेशिक स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झा प्रादेशिक अस्पतालमा पाँचवटा आइसोलेसन बेड तयार रहेको बताउँछन्। उनका अनुसार चिकित्सकलाई पाँचवटा पर्सन प्राटेक्टिभ इन्सट्र्युमेन्ट (पीपीई) उपलब्ध गराइएको छ।

corrent noodles
Metro Mart

अस्पतालका चिकित्सक भने कोरोना परीक्षण गर्न पीपीईसहित ल्याब परीक्षणका लागि चाहिने आवश्यक किट उपलब्ध नरहेको बताउँछन्। अस्पतालका प्रमुख डा.नागेन्द्र यादव उपकरण नहुँदा चिकित्सक स्वयं असुरक्षित रहेको बताए।

‘अस्पतालमा पीपीई छैन, ल्याब परीक्षणका लागि आवश्यक किट छैन। स्वास्थ्यकर्मी नै सुरक्षित नरहे बिरामी जाँच कसरी गर्ने ?’ डा. यादवको प्रश्न छ।

वरिष्ठ अधिकृत झाले थप पचास पीपीई मगाइएकाले अस्पतालमा छिटै वितरण गरिने जानकारी दिए। ‘हामीले थप पचास पीपीई मगाएका छौं, आजै अस्पतालको जिम्मा लगाइनेछ,’ उनले भने।

झाका अनुसार पचास पीपीईमध्ये १० वटा सप्तरी, ५ वटा प्रादेशिक अस्पताल र बाँकी जनकपुरस्थित सिटी अस्पतालको जिम्मा लगाउने तयारी छ। वीरगन्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा यसअघि नै पचासवटा पीपीई रहेको उनको भनाइ छ।

तीन ठाउँमा क्वारेन्टाइन बन्दै

प्रदेश २ मा शंकास्पद बिरामी राख्न क्वारेन्टाइन पूर्ण रुपले तयार हुन सकेको छैन। प्रदेश सरकारले धनुषा, सिरहा, सप्तरी र पर्सामा क्वारेन्टाइन राख्ने तयारी गरेको छ। हालसम्म तीन ठाउँमा मात्र क्वारेन्टाइन तयार भएको छ।

वरिष्ठ अधिकृत झाले धनुषाको नगराईन नगरपालिकास्थित गंगुलीमा सय बेड, वीरगन्जस्थित डेन्टल केडियामा ५० र सप्तरीस्थित साई कृष्ण अस्पतालमा ५० बेडको क्वारेन्टाइन तयार भएको जानकारी दिए।

जनकपुरको मणिपाल, सिरहाको महेन्द्र गेनाई, सप्तरीस्थित प्रहरी अस्पतालमा क्वारेन्टाइन निर्माण भइरहेको उनले बताए। अन्य ठाउँमा पनि चाँडै क्वारेन्टाइन निर्माण गरिने झाको भनाइ छ ।

सप्तरीस्थित साई कृष्ण अस्पतालको क्वारेन्टाइनमा १३ जना शंकास्पद बिरामी राखिएका छन्। भारतसहित कतार, साउदी अरेबियालगायतका मुलुकबाट आएका उनीहरुलाई रुघाखोकी, ज्वरोलगायतका लक्षण देखिएपछि क्वारेन्टाइनमा राखिएको झाले बताए।

धनुषाको नगराईनस्थित क्वारेन्टाइनमा बुधबार दुईजना शंकास्पदलाई राखिए पनि बिहीबार घर पठाइएको छ।

विदेशबाट आएकाको खोजी जारी

पछिल्लो केही दिनयता भारत, दुबई, कतार, साउदी अरेबियालगायतका मुलुकबाट आएकाको खोजी भइरहेको छ। कतिपयलाई प्रहरीले खोजी गरेर अस्पतालसम्म लैजाने गरेका छन्। बुधबारमात्रै जनकपुरधाम–१९ मा कतारबाट फर्केका एकजनालाई खोजेर स्थानीयले अस्पताल लगेर जाँच गराएका छन्।

धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले विदेशबाट आएका व्यक्तिको खोजी गरेर जाँच गराउने काम भइरहेको बताए। यस कार्यमा सम्बन्धित वडाका वडाध्यक्षका साथै स्थानीयले सहयोग गरिरहेको उनको भनाइ छ।

मन्त्रीको नेतृत्वमा समिति

कोरोना भाइरस संक्रमण रोकथाम गर्न प्रदेश सरकारले प्रदेशस्तरीय कोभिड–१९ समिति गठन गरेको छ। सामाजिक विकासमन्त्री नवलकिशोर साहको संयोजकत्वमा प्रदेश सरकारले समिति गठन गरेको हो। 

विभिन्न संघसंस्थाका प्रतिनिधि सदस्य रहेको समितिले कोरोना संक्रमण रोकथम गर्न काम गर्ने बताइएको छ।

खाद्यान्न अभाव हुन नदिने दाबी

कोरोना रोकथाम गर्न सरकारले लकडाउन गरेलगत्तै विपन्न तथा दैनिक मजदुरी गरेर गुजारा गर्दै आइरहेकाहरु समस्यामा परेका छन्। लकडाउनपछि कामकाज ठप्प हुँदा उनीहरुलाई दुई छाक टार्नसमेत समस्या परेको छ भने मौका छोपेर कतिपय व्यवसायीहरु कालोबजारीमा उत्रेका छन्।

लकडाउनपछि समस्यामा रहेका विपन्न तथा गरिब परिवारलाई खाद्यान्न आपूर्ति गर्ने तयारी प्रदेश सरकारले गरेको छ। प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले सुरक्षाकर्मीको टोली परिचालन गरेर घरघरमा खाद्यान्न सामग्री पुर्याउने तयारी भएको बताए।

प्रत्येक स्थानीय तहमा गरिब, विपन्न परिवारलाई १० किलो चामल, दाल, नुन, तेल, तरकारीलगायतका खाद्यान्न सामग्री वितरण गर्ने योजना रहेको यादवले बताए। उनले कालोबजारी गर्नेहरुलाई कारबाहीको दायरामा ल्याइने दाबी गरे।

प्रकाशित: Mar 26, 2020| 06:25 बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।