काठमाडौं– नेपाल राष्ट्र बैंकले स्वास्थ्य सम्बन्धी सामग्री आयात गर्दा एक लाख अमेरिकी डलरसम्मको खरिदमा टीटी/ड्राफ्टबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ।
राष्ट्र बैंकले बुधबार साँझ बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै स्वास्थसेवासँग सम्बन्धी सामग्रीको आयात गरिदा एक लाख डलरसम्मको आयातको टीटी/ड्राफ्टको माध्यमबाट भुक्तानी गर्न सकिने व्यवस्था गरिएको जानकारी गराएको हो।
यसअघि टीटी/ड्राफ्टको माध्यमबाट जम्मा ३० हजार डलर बराबरको रकम मात्र भुक्तानी गर्न सकिने व्यवस्था थियो।
एक लाख डलरभन्दा माथिको सटही सुविधा आवश्यक परेमा स्वास्थ्य सेवा विभागको सिफारिससहित स्वाीकृति माग्न गएमा राष्ट्र बैंकले उपलब्ध गराउने राष्ट्र बैंकका विदेशी विनिमय विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले जानकारी दिए।
सो निर्देशन अनुसार अब स्वास्थसेवा सम्बन्धी सामाग्री आयात गर्नुपदा प्रतितपत्र धरौटी राख्नुपर्ने छैन।
यसअघि कुनैपनि बस्तुको आयातगर्दा १० प्रतिशतसम्म धरौटी राख्नुपर्ने व्यवस्था रहेको थियो।
अन्य सामग्रीको हकमा अहिले पनि १० प्रतिशत प्रतितपत्र रकमको धरौटीको रुपमा लिने व्यवस्था यथावत नै छ।