बुधबार, मंसिर १७, २०७७

ब्लग

किन आमाले बनाएको खानाको स्वाद कहिल्यै बिर्सन सकिँदैन?

1590237345gazar_halawa.jpg

पिक्सार एनिमेसनको एउटा फिल्म छ र्‍याटाटुई। एकजना सेफको कथामा आधारित यो फिल्मको एउटा दृश्यमा रेस्टुरेन्टका सबैजना सास थामेर बसेका हुन्छन्। किनभने एकजना ‘फुड क्रिटिक’ (खानाको समीक्षा लेख्ने व्यक्ति) रेस्टुरेन्टको खाना चाख्न आउँदै छ।

क्रिटिकले नराम्रो लेखिदियो भने रेस्टुरेन्टमा ग्राहक आउने छैनन् भन्ने चिन्ता छ। उता फुड क्रिटिकले भने खानाजस्तो भए पनि समीक्षा नकारात्मक नै लेख्छु भन्ने मन बनाइसकेको छ।

अर्को दृश्यमा रेस्टुरेन्ट पुगेको क्रिटिकका अगाडि एउटा विशेष व्यञ्जन पस्किइन्छ। यो फिल्मको सबैभन्दा महत्त्वपूर्ण दृश्य हो। हुन त यो एनिमेसन फिल्म हो तर, यो दृश्य दर्शकलाई रोमाञ्चित बनाउन पर्याप्त छ।

आमाले छोराछोरीका लागि खाना बनाइरहँदा उपलब्ध स्रोतबाट बनेको खाना सर्वोत्कृष्ट बनाउने प्रयास गरेकी हुन्छिन्। जब सन्तानले त्यो खाना खान्छ, त्यस बेला उसले खानाको स्वादका साथै आमाको उपस्थिति, उनको स्नेह र स्याहारलाई पनि महत्त्व दिइरहेको हुन्छ।

क्रिटिकले खानाको पहिलो गाँस मुखमा राख्न थालेपछि फिल्मका पात्रको मात्र होइन दर्शकको जिज्ञासा पनि चरममा पुग्छ। योसँगै कथा फ्ल्यास ब्याकमा पुग्छ।

एउटा बालक डायनिङ टेबलमा बसेर खाना पर्खिरहेको छ। त्यसैबेला आमा आएर उसका लागि खाना पस्किन्छिन्। पहिलो गाँसमै बालक खुसी हुन्छ। यो बालक अरु कोही होइन, त्यही क्रिटिक हो जसले रेस्टुरेन्टको खानाको समीक्षा गर्नुपर्नेछ। र, रेस्टुरेन्टको खानामा आफ्नी आमाले बनाएको खानाको स्वाद पाएर ऊ अभिभूत छ।

फिल्ममा आमाले बनाएको खानाको स्वाद र सम्झनाले कथाको दिशा परिवर्तन गर्छ। यो भावनाको उपयोग निकै सुन्दर तरिकाले गरिएको छ।

अब प्रश्न उठ्छ, आमाको हातको खानामा यस्तो के हुन्छ? संसारभरको स्वाद चाखिसक्दा पनि कसैले त्यो स्वाद जीवनभर बिर्सन किन सक्दैन?

सामान्य जवाफ जुन संसारभर स्वीकार्य पनि छ– यसको मुख्य कारण बच्चाको स्याहारमा आमाको भूमिका हो। सन्तान हुर्काइरहेकी आमाका लागि त्यो सन्तान र सन्तानका लागि आमाभन्दा महत्त्वपूर्ण संसारमा अरु केही हुँदैन।

आमाले छोराछोरीका लागि खाना बनाइरहँदा उपलब्ध स्रोतबाट बनेको खाना सर्वोत्कृष्ट बनाउने प्रयास गरेकी हुन्छिन्। जब सन्तानले त्यो खाना खान्छ, त्यस बेला उसले खानाको स्वादका साथै आमाको उपस्थिति, उनको स्नेह र स्याहारलाई पनि महत्त्व दिइरहेको हुन्छ।

यहाँ खाना र भावनात्मक सहभागिता दुवै महत्त्वपूर्ण रहन्छन्। ठूलो भइसक्दा पनि सन्तानमा यो भावना रहिरहन्छ, परिणामस्वरुप आमाले बनाएको खानाको स्वाद सबैभन्दा उत्कृष्ट स्वरुपमा स्मृतिमा बसिरहन्छ।

जहाँसम्म पूर्वीय समाजको कुरा छ, प्राचीनकालदेखि नै के मान्यता छ भने, खाना बनाउँदै गर्दा मानिसमा आउने विचारको खानामा गहिरो प्रभाव परेको हुन्छ।

अझ के पनि भनिन्छ भने खाना बनाउने व्यक्तिबाट खाना खाने व्यक्ति सोझै प्रभावित भइरहेको हुन्छ। यो अवधारणालाई आधार बनाउने हो भने प्रस्ट छ, आमाले शुद्ध भावनाले सन्तानका लागि खाना बनाउँछिन्। त्यो खानामा प्रेम, ममता, पवित्रता, समर्पण र कतिकति शुभ भाव मिसिएका हुन्छन्। यस्तै हो भने त आमाले बनाएको खानाभन्दा अरु खाना कसरी स्वादिष्ट लाग्ला र!

प्रसिद्ध मनोविज्ञ सिगमन्ड फ्रायडको ‘मनोसामाजिक विकासको अध्ययन’ अनुसार मानिस गन्ध र स्वादको प्राथमिकता लिएरै जन्मिएको हुन्छ जो पछि परिपक्व हुँदै जान्छ।

हामी आमाले बनाएको खानालाई किन यति धेरै महत्त्व दिइरहेका हुन्छौं? विज्ञानका अनुसार बच्चा जन्मनुअघि नै आमाको खाना बनाउने बानीको प्रभाव पेटको बच्चामा पर्न सुरु भइसकेको हुन्छ।

अमेरिकी डाइटिसियन डा क्लेसिक्यास हेरिसनले आफ्नो फुड ब्लग ‘फिल्ड्स अफ फ्लेभर’ मा भनेकी छन्, ‘आमा जुन परिवेशमा हुन्छिन् र उनले जस्तो भोजन गर्छिन्, गर्भस्थ शिशुसम्म त्यसको स्वाद एम्नियोटिक फ्लूडबाट र जन्मेपछि स्तनपानबाट सन्तानसम्म पुगिरहेको हुन्छ।’

त्यसैले सन्तानले यो स्वाद सम्झिरहेको मात्रै हुँदैन यसको पहिचान पनि गर्छ। जन्मपछि बच्चाले सुगन्ध पनि चिन्न थाल्छ। अर्थात् बच्चा जन्मनुअघि र जन्मिएपछि उसलाई पोषित गर्ने जिम्मेवारी आमामै हुन्छ। आमा र सन्तानमा पहिलो सम्बन्ध भोजन (या स्वाद) को हुन्छ।

डा. हेरिसनका अनुसार हुर्काइका क्रममा शिशुलाई जस्तो स्वादको खाना दिइन्छ, त्यसैअनुसार शिशुमा ‘टेस्ट्स बड्स’ (जिब्रोमा हुने स्वाद संवेदक) को विकास हुन्छ।

‘टेस्ट्स बड्स’ को विकाससँगै व्यक्तिमा स्वादसँग जोडिएको पहिचान परिपक्व हुन थाल्छ र पछि यही बच्चाको रुचि र अरुचिको आधार बन्छ।

आमाले बनाएको खानालाई महत्त्व दिनुको तेस्रो कारण मनोवैज्ञानिक छ। वास्तवमा कुनै मानिसले जब स्वादबारे बुझ्न सुरु गरेको हुन्छ त्यसबेला उसले लामो समयदेखि घरमा एकै खालको खाना खाइरहेको हुन्छ। जसको स्वाद उसको मस्तिष्कमा स्थापित भइदिन्छ। र, बारम्बार ऊ त्यही स्वाद खोजी बस्छ।

प्रसिद्ध मनोविज्ञ सिगमन्ड फ्रायडको ‘मनोसामाजिक विकासको अध्ययन’ अनुसार मानिस गन्ध र स्वादको प्राथमिकता लिएरै जन्मिएको हुन्छ जो पछि परिपक्व हुँदै जान्छ। व्यक्तिको मनमा कुनै स्वाद या गन्धका केही स्थापित मानक हुन्छन्। यीमध्ये केही जन्मजात हुन्छन् र बाँकी हुर्काइका बेला विकसित हुँदै जान्छन्।

मनोविज्ञानको अर्को सिद्धान्त भन्छ, प्रत्येक व्यक्तिको मस्तिष्कमा विभिन्न दृश्य, स्वाद या संगीतको तुलना भइरहेको हुन्छ र उत्कृष्टको खोजी निरन्तर गरिरहेको हुन्छ। ठिक यसैगरी मस्तिष्कमा भोजनको स्वादको एउटा छाप बसिसकेपछि ऊ हरेक खानालाई पहिलेको स्थापित स्वादसँग तुलना गर्न थाल्छ। स्थापित स्वाद आमाले बनाएको व्यञ्जनको हुन्छ र, यही तुलनाले लगातार आमाको हातको स्वाद स्मृतिमा बसिरहेको हुन्छ।

खानाबारे निरन्तरको यो तुलनाले मानिसको खानप्रतिको रुचिलाई निर्धारण गर्छ। र, धेरै हदसम्म मानिसले मस्तिष्कमा स्थापित आमाको हातको स्वादलाई प्राथमिकता दिन्छ। यस प्रक्रियामा जहिले पनि आमाको सुवास र उनले बनाएको व्यञ्जनको स्वादले जित्छ।

अञ्जली मिश्रा, सत्याग्रहबाट

प्रतिक्रिया दिनुहोस्