मंगलबार, जेठ २०, २०७७

समाज विशेष

कोरोनाले ल्याएका सकारात्मक परिवर्तन

15902315911586328700patan__(1).jpg

कोरोना भाइरसले विश्वको आर्थिक व्यवस्था मात्र होइन राजनीतिक एवम् कूटनीतिक सम्बन्धदेखि हाम्रो सामाजिक तथा व्यक्तिगत सम्बन्धमा गम्भीर असर गरेको छ। मानिसको दिनचर्या, भेटघाट, खानपान र समग्र जीवनशैलीमा परिवर्तन भएको छ। नकारात्मककै बीचमा केही सकारात्मक कुरा देखापरेका छन्। हो, कोरोना भाइरसले हाम्रो आदतमा यस्ता केही परिवर्तन ल्याइदिइएको छ, जो हाम्रो समाजमा दीर्घकालीन रुपमा प्रभाव पार्ने खालका छन्। परिवर्तन साना तर महत्त्वपूर्ण छन्। यस्ता छन् केही सकारात्मक परिवर्तन :

१. हातको सरसफाइ

चिकित्सकका अनुसार धेरैजसो रोग हातको सरसफाइ नगर्दा रोग संक्रमण हुन सक्छ। किसानहरु घरपालुवा पशुपन्छीको स्याहारसुसार र खेतीमा संलग्न हुन्छन्। उनीहरुको हातले कहाँ कहाँ छुन्छ? हिसाबै हुँदैन। भोक लागेका बेला हात धुने पानी कहाँ पाउनु?

कार्यालयमा काम गर्नेहरुको पनि ल्यापटप, फोन र अन्य सामग्रीमा हात पुग्छ। नाक कोट्याउनु र टाउको कन्याउनु त सामान्य नै हो। कसैले अगाडि खानेकुरा ल्याइदियो भने मेरो हात त सफा छ भन्दै खानेकुरा समात्ने आमप्रवृत्ति हो।

कोरोना भाइरस महामारीले हामीलाई अब खाना खानुअघि वा बाहिरबाट घर आउँदा अनिवार्य रुपमा हातगोडा धुन सिकाइदिएको छ। स्यानिटर प्रयोग गर्न सिकाएको छ। थोरै समयमा साबुनपानीले मिची मिची हात धुन जान्ने भएका छौं हामी।

धेरै नेपालीले हातको सफाइलाई महत्त्व दिन थालेका छन्। यस्तै मानिसले घर वरिपरिको सरसफाइमा विशेष ध्यान दिन थालेका छन्। सरसफाइ जीवनको महत्त्वपूर्ण अंग हो भन्ने कुरा व्यावहारिक रुपमै स्थापित भएको छ।

२. हाछ्यूँ गर्दा र खोक्दा सावधानी

हामीमध्ये अधिकांश वरिपरि मानिस रहेको ख्यालै नगरी हाछ्यूँ गर्थ्याैं। खोक्दा पनि आफू अगाडि मानिस रहेको ध्यान दिँदैनथ्यौं। अब हामी सावधानी अपनाउन थालेका छौं।

खोक्दा र हाछ्यूँ गर्दा अनिवार्य रुपमा मुख र नका छोप्न थालेका छौं। रूमाल, टिस्यु, मास्कको प्रयोग र यिनको विकल्पमा कुइनोले भए पनि नाकमुख छोप्न थालेका छौं।

३. पालो पर्खने धैर्यको विकास

पसल, मन्दिर, बैंक, सरकारी कार्यालय जहाँ पनि लाम बस्नुपर्छ। कतिपय ठाउँमा त पालो मिच्न तँछाडमछाड हुन्थ्यो सेवाग्राहीको। अब हामी भौतिक दूरी कायम गर्न जान्ने भएका छौं।

सार्वजनिक स्थलमा कुनै कामका लागि जानुपर्दा एकापसमा तीन फिट दुरी कायम गरे संक्रामक रोगले सताउँदैन। यसको संकेत तरकारी र खाद्यान्न पसलमा देखिन थालेको छ। मानिसहरु लाममा अनुशासनबद्ध र भौतिक दुरी कायम गरेर उभिन थालेका छन्।

यसबाट हामीलाई रोग संक्रमण हुन त जोगाएको छ भने लामो समयसम्म पालो पर्खनुपर्दा विवाद पनि नहुने भएको छ। कोरोना भाइरसबाट मुक्त भएपछि भौतिक दूरी जीवनको एउटा अंग बन्ने निश्चित छ।

४. खाना खेर पाल्नु हुँदैन

देशका विपन्न बस्तीमा लाखौं मानिस अझै पनि दुई छाक राम्ररी खाना खान नपाउने अवस्थामा छन्। तर सहरी क्षेत्रमा मानिसले बिहानबेलुका ठूलो मात्रामा खानेकुरा फ्याँकेको फोहोरको डुंगुरमा देखिन्छ।

ज्यालादारी मजदुरहरु खान नपाएर भोकभाकै हुन थालेका देखेपछि मानिसमा खानेकुरा अत्यावश्यक मात्र बनाउनुपर्ने, खेर फाल्न नहुने बरु खान नपाउने मानिसलाई दिनुपर्ने भन्ने चेतनाको विकास हुन थालेको छ।

कतिपय गृहिणीले मुठीदान भनेर छाकैपिच्छे एकमुठी चामल छुट्याउन थालेका छन्। कठिन अवस्थामा रहेका मानिसलाई सहयोग गर्ने बानी विकास भएको छ।

५. नजिकका व्यक्तिसँग सम्पर्क

झन्डै दुई महिना लामो लकडाउनका कारण हामी घरमै छौं। हामीसँग इन्टरनेट छ, फोन छ र समय पर्याप्त छ। मानिसहरु आफ्ना बाहिर रहेका परिवारका सदस्य र आफन्तसँग फोन वा इन्टरनेटका माध्यमबाट सम्पर्कमा छन्।

यसले हामीलाई आफन्तसँग नियमित सम्पर्कमा रहन सिकाएको छ। कतिपयले आफन्तसँग कुराकानी गरेर पनि समय बिताइरहेका छन्। खुसी र स्वस्थ हुने प्रयास गरिरहेका छन्।

६. अभिवादनमा नमस्कार शैली

पूर्वीय सभ्यतामा अभिवादनको आफ्नै खालको ढाँचा छ, नमस्कार गर्ने। कोरोना भाइरसबाट जोगिनका लागि आपसमा अभिवादन गर्न हात मिलाउने, अंकमाल गर्ने होइन, नमस्कार गर्ने मान्यता स्थापित भएको छ।

नेपाल, भारतलगायत दक्षिण एसियाली मुलुक मात्र सीमित यस्तो शैली पश्चिमा देशमा चर्चित नेताहरुले पनि अपनाउन थालेका छन्।

७. शिक्षण सिकाइ र छलफलमा भर्चुअल माध्यमकाे प्रयाेग

कतिपय शिक्षण संस्थाले अनलाइनमा पठनपाठन गराउन थालेका छन्। शिक्षण सिकाइ उपलब्धि कति होला त्यो त भिन्नै लेखाजोखाको विषय हो तर थोरै समय भए पनि विद्यार्थी र शिक्षक जोडिन पाएका छन्।

यस्तै विभिन्न विषयमा इन्टरनेटमार्फत बहस हुन थालेका छन्। छलफल र बैठक गर्न सार्वजनिक ठाउँ र उपस्थिति अनिवार्य होइन रहेछ भन्ने स्थापित भएको छ।

यीबाहेक घरमा गृहिणीले धेरै थरी परिकार पकाउन जान्ने भएका छन्। अभिभावकले साना छोरोछोरीलाई नीति र असल चरित्रका कुरा सिकाउने अवसर पाएका छन्।

परिवारका सदस्य लामो समय सँगै बस्न पाउँदा एकअर्काको भावना बुझ्ने अवसर मिलेको छ। पढन्तेहरुले आफूले चाहेका पुस्तक पढ्न पाएका छन् भने लेखनमा संलग्न हुन चाहनेहरुले मानवीय संकटको साक्षीलाई लिपिबद्ध गर्ने मौका पाएका छन्।

प्रतिक्रिया दिनुहोस्