काठमाडौं : प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५ दिनको पारिश्रमिक दिने भएका छन्।
प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदले कोषमा आधा महिनाको पारिश्रमिक बराबरको रकम दिने निर्णय भएको कांग्रेसले जनाएको छ।
सरकारले केही दिनअघि कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गरेको थियो। कोषमा विभिन्न उच्च पदस्थ राजनीतिक नेताहरुले रकम जम्मा गरिरहेका छन्।
कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले मंगलबार विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमण फैलन नदिन र सम्भावित जोखिम न्यून गर्न मुलुकभर लक डाउन गर्ने सरकारको निर्णयलाई स्वागत गरेको छ।
‘लकडाउनको अवस्थामा दैनिक श्रम गर्दै जीवन निर्वाह गर्ने श्रमिकलाई जीवनयापन गर्न कठिन हुने भएको हुँदा सहज रुपमा खाद्यान्न उपलब्ध गराउन सकारसँग आग्रह गर्दछौं,’ कांग्रेसले भनेको छ।
नेकपा सांसदले पनि १५ दिनको पारिश्रमिक बराबर रकम कोषमा जम्मा गर्ने भएका छन् । यसअघि राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षले एक महिनाको रकम कोष जम्मा गर्ने निर्णय गरिसकेका छन् ।