बुधबार, जेठ १४, २०७७

विशेष
1590208803water1.jpg
सबै तस्बिरः इसिमोड।

हिन्दू कुश हिमालयमा सुक्दै गएका मुहानले पानीको संकट संघारमै आएको संकेत गर्छ।

पृथ्वीमा करिब १.३६ अर्ब घन किमि पानी छ। अर्थात् पृथ्वीको दुई तिहाइ भाग पानीले ढाकेको छ। समुद्रमा मात्रै ९७.२ प्रतिशत अर्थात् १.३२ अर्ब घन किमि पानी छ।

समुद्रकाे पानीमा नुनको मात्रा बढी हुने भएकाले खान, सिँचाइ आदिमा उपयोग हुँदैन। जमिनमा रहेको पानीका स्रोतमध्ये ताल र भूमिगत जलभण्डारमा रहेको पानीको ठूलो हिस्सा पनि नुनिलै छ।

यूएन वाटरका अनुसार विश्वका एक अर्ब बढी मानिसको पहुँचमा स्वच्छ पानी छैन। पानीको प्रणाली अहिलेकै अवस्थामा रहे सन् २०२५ मा पानी पहुँचबाहिरको जनसंख्या दोब्बर हुनेछ।

वाटर रिर्सोसेस् एन्ड इन्डस्ट्रिज, २०१३ अनुसार पृथ्वीमा उपयोग हुनमध्ये ९० प्रतिशत पानी खेतीमा प्रयोग गरिन्छ। बाँकी खाना, औद्योगिक र अन्य काममा उपयोग हुन्छ।

हिमालय र स्वच्छ पानी

तीन हजार ५०० किलोमिटर क्षेत्रफलमा पश्चिम म्यानमारदेखि पूर्व चीनसम्म फैलिएको हिन्दू कुश हिमालय क्षेत्रले अफ्गानिस्तान, पाकिस्तान, भारत, बाङ्लादेश, भुटान र नेपालको हिमाली भूभाग समेट्छ।

वाटर पोलिसी २०२० का अनुसार हिन्दू कुश हिमालय क्षेत्र दक्षिण एसियाको मात्रै नभएर विश्वकै लागि स्वच्छ पानीको स्रोत हो। एसियाका मुख्य ६ नदी इन्दुस, गंगा, ब्रह्मपुत्र, मिकोङ, याङती र यलो रिभरको मुहान यही क्षेत्रमा पर्छ।

यही क्षेत्रको पानी र अन्य प्राकृतिक स्रोतको उपयोग गर्दै दक्षिण एसियामा थुप्रै पहाडी सहर विकास भएका छन्। बसोबासका लागि अनुकूल वातावरण, करिब ११ सयदेखि १५ सय मिटरको उचाइले गर्दा यो क्षेत्रमा सहरीकरण तीव्र छ।

बाङ्लादेशको रंगमती, बन्दरवन, खग्राचरी, भारतको श्रीनगर, शिमला, हरिद्वार, दार्जिलिङ यही शृंखलाभित्र पर्ने सहर हुन्। त्यसैगरी काठमाडौं, पोखरा, तानसेनका साथै पाकिस्तानको मुरे यही शृंखलाको काखमा हुर्किरहेका छन्।

अव्यवस्थित सहरीकरण, प्राकृतिक स्रोतको अत्यधिक दोहन, गलत इन्जिनियरिङसहितका सडक, कंक्रिटको बढ्दो प्रयोगलगायत कारणले हिन्दू कुश हिमालय क्षेत्रको काखका फैलिँदै गरेका यी सहरमा पानीको अभाव चर्किन थालेको छ। ढुंगा, गिट्टी, बालुवाको जथाभावी उत्खनन् र वन फँडानीले पनि पानीलाई दुर्लभ बनाइरहेको छ।

काठमाडौं, बाङ्लादेशको रंगमतती, भारतको बारामुला, शिमला, दार्जिलिङ, पाकिस्तानको काराक, मानसेरा, रावलपिण्डीलगायत सहरमा पानी हाहाकार भएको धेरै वर्ष भइसक्यो। जलवायु परिवर्तनले पानीका मुहानमा थप संकट ल्याएको छ।

हिन्दू कुश हिमालय क्षेत्रबाट बगेको हिमनदी।

पर्वत शृंखला, तिब्बती पठार, समुद्र, मैदानी भेगको तापक्रम र वायुमण्डलीय दबाबको अन्तरले स्थापित मनसुनी र पश्चिमी वायु प्रणालीले हिन्दू कुश हिमालयको जलचक्र निर्धारण गर्छ। वाटर पोलिसीका अनुसार हिन्दू कुश क्षेत्रसहित दक्षिण एसियाभर वर्षभरि पर्ने पानीको ८० प्रतिशत पानी बर्खायाममा मात्रै पर्छ।

तर, पछिल्ला केही वर्षमा यो जलचक्र खलबलिएको छ। जलस्रोतविद् मधुकर पाध्या समयमा पानी नपर्ने, मनसुन ढिला सुरू हुने, खण्डवृष्टि हुनुले प्राकृतिक प्रणाली विथोलिंदै गएको संकेत गरेको बताउँछन्।

“मानिसको क्रियाकलापले पानीको प्राकृतिक क्रियाकलापमा बहुआयमिक प्रभाव परेको छ,” उनी भन्छन्, “यसले आगामी दिनमा विश्वकै तापक्रम र पानीको अभाव थप चर्काउने निश्चित छ।”

सन् २०१९ मा एकीकृत पर्वतीय विकास (इसिमोड)ले गरेको अध्ययनअनुसार सन् २१०० सम्म विश्वको तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियसमा सीमित रहे पनि एसियाको हिमालय क्षेत्रको तापक्रम भने २ डिग्री सेल्सियसले बढ्ने आकलन गरेको छ।

तापक्रम २ डिग्रीमात्रै बढ्दा यस क्षेत्रका ५४ करोड मानिस प्रत्यक्ष प्रभावित हुने छन् भने दुई अर्ब ६० करोड जनंख्यामा तापक्रम वृद्धिको असर पुग्ने छ। तापक्रम वृद्धिले करिब ३० प्रतिशत स्वच्छ पानीका मुहान संकटमा पर्नेछन्।

तापक्रम वृद्धिले आवश्यकताभन्दा बढी हिउँ पग्लिने/सुक्ने हुँदा स्वच्छ खानेपानीको अभावसँगै उत्पादकत्वमा कमी, भोकमरी, गरिबी, बसाइँसराइँजस्ता समस्या निम्त्याउने उक्त प्रतिवेदनमा उल्लेख छ।

यसै त विश्वको ५२ प्रतिशत जनसंख्या सहरमा खुम्चिएर बसेको छ। वल्र्ड इकोनोमिक फोरमका अनुसार सन् २०५० सम्म यो संख्या ६६ प्रतिशत पुग्ने अनुमान छ।

तापक्रम वृद्धि र पानीको अभावले बसाइँ सराइ झन् बढ्ने प्रतिवेदनको निष्कर्ष छ। जलस्रोतविद् अजय दीक्षित भन्छन्, “अव्यवस्थित बसाइँ सराइले एकातिर पानीको अभाव झन् चर्काउनेछ भने अर्कोतिर प्राकृतिक स्रोतको समान वितरणमा नकारात्मक प्रभाव पार्नेछ।”

नेपाल : सधैं अस्तव्ययस्त

नेपालमा हिमाली क्षेत्र र त्यसदेखि दक्षिणका पहाडी क्षेत्रबाट उद्गम हुने करिब छ हजार नदीनाला छन्। भारत भएर बग्ने गंगा नदीको ७० प्रतिशत पानीको स्रोत यिनै नदीनाला हुन्।

हाम्रा अधिकांश नदीनाला उत्तरबाट दक्षिणतर्फ बग्छन्। मानिसको बसोबास र खेतीपाती दक्षिणी भेगमै छ। तर पनि अधिकांश स्थानमा पानी अभाव हुनुको कारण व्यवस्थापनको समस्या भएको जलस्रोतविज्ञहरू बताउँछन्।

यहाँको जनसंख्या र खेतीपातीलाई पुग्ने प्रशस्त पानी भए पनि समुचित वितरण, व्यवस्थापन र सदुपयोग हुन नसक्दा समस्या देखिएको दीक्षितकाे भनाइ छ। उनी भन्छन्, “व्यवस्थापनकै अभावले पहाड र तराईका विभिन्न स्थानमा पानीको समस्या छ।”

सहरीकरण र जनसंख्याको बढोत्तरीले पानीको माग जताततै बढाएको छ। हिमाली क्षेत्रका जलाधार र स्रोत बढ्दो हिउँ पहिरोका कारण मासिएका छन् भने पहाडमा डोजरे विकासले पानीका मुहान ध्वस्त भएका छन्। वन फँडानी पनि उत्तिकै छ।

पाइपबाट वितरण हुने प्रणालीले पनि स्रोतमा असर पुर्याएको जलस्रोतविद् पाध्या बताउँछन्। “एउटा मुहानले अरू थुप्रै मुहानका लागि स्रोतको काम गरेको हुन्छ,” उनी भन्छन्, “मुहान थुनेर सबै पानी सर्लक्कै अर्को ठाउँ पुर्याउँदा त्यसमा आधारित अन्य मुहानको चक्रमा प्रभाव पर्छ।”

सिँचाइका लागि बनाइएको पोखरी। यस्ता पोखरी पानीको प्राकृतिक प्रणाली जोगाउन उपयुक्त मानिन्छन्।

विकल्प रिचार्ज

बर्खाको पानी नै परम्परागत पानी रिचार्ज तथा मुहानको स्रोत हो। सन् २००५ मा भारत सरकारले हिमाचल र उत्तराखण्डमा गरेको अध्ययनअनुसार बर्खाको पानीले फुट्ने मुलको पानी तुलनात्मक रूपमा स्वस्थ पाइएको थियो।

अहिले दक्षिण एसियामा बढेको सहरीकरण र सडकमार्गले पानीको मुहानलाई प्रदूषित बनाएको छ। जलस्रोतविद् दीक्षित पनि सडकमार्ग विस्तारले पानीको प्राकृतिक प्रणालीलाई तहसनहस पारेको बताउँछन्।

वरपरका मुहान सुक्दै जाँदा लामो दूरीबाट पानी ल्याउनुपरिरहेको छ। जसले पानीको गुणस्तर घट्नुको साथै मुलुकमा आर्थिक दायित्व पनि बढाएको छ।

जताततै कालोपत्रे र कंक्रिट बढेपछि जमिनमा पानी ‘रिचार्ज’ हुन पाएको छैन। पाइपबाट वितरण हुने पानी पनि अपुग भएपछि जमिन मुनीको पानी निकाल्ने चलन बढेको छ।

जलस्रोतविद्हरुका अनुसार, जमिन बाँझो हुँदा पनि पानी ‘रिचार्ज’ मा असर परेको छ। “हामीले मुहान सुकाउने र पानीको माग बढाउने काम गर्यौं, तर ‘रिचार्ज’ मा पटक्कै ध्यान दिएनौं,” पाध्या भन्छन्।

एकातिर जमिनमुनिको पानीको दोहन बढ्नु र अर्कोतिर ‘रिचार्ज’ गर्ने स्थानहरू मासिदै जानुले पानीको संकट गहिरिंदै गएको छ।

सिक्किमको पहल

भारतको सिक्किममा सहरीकरण, जनसंख्या बढोत्तरी र जल दोहनले पानीका मुहान र स्रोत नै सुक्न थालेपछि राज्य सरकारले पानीको मूल तथा जलाधार संरक्षण नीति लागू गरेको छ। सुकेका मूल तथा मुहानलाई पुनर्जीवित गर्ने र सुक्नबाट जोगाउने अभियान चलिरहेको छ।

सिक्किमका जलाशययुक्त ठाउँमा रिचार्ज क्षेत्र नै घोषणा गरिएको छ। यसले सिक्किममा पानी संकट टार्न ठूलो टेवा पुगेको छ। नेपालको पहाडी भूबनोट र प्रकृति सिक्किमको जस्तै छ। त्यसैले जलस्रोत जगेर्नाका लागि सिक्किमको मोडल उपयोगी हुन सक्ने पाध्या बताउँछन्।

जानकारहरूका अनुसार पानी सञ्चय त्यति कठिन छैन। घर बनाउँदा निश्चित जमिन खाली छाड्ने वा इनार खन्दा त्यसबाट पानी जमिनमुनि जाने व्यवस्था गर्नु जरुरी छ। घर बनाउँदा पानी रिचार्जको प्रबन्ध अनिवार्य गरिएन भने जमिन अरू टालिन्छ र मनसुनको पानी बगेर जान्छ।

त्यस्तै, पहाडका जलाधार क्षेत्रको संरक्षण गरेर नदीनाला र खोल्सीमा ससाना बाँधको व्यवस्थाले त्यहाँ पानी सञ्चय मात्र हुँदैन, जमिनमुनि रिचार्ज पनि हुन्छ। यसले प्राकृतिक प्रणालीलाई पुनर्जिवित गर्ने दीक्षित बताउँछन्।

तराईमा त पानी सञ्चय झन् सजिलो छ। सरकारी आँकडाअनुसार तराईमा दुई हजार ७ सयभन्दा बढी प्राकृतिक तालतलैया छन्। पाध्यया भन्छन्, “तिनलाई जोगाएर पानी सञ्चय गर्न र नयाँ पोखरी बनाउन स्थानीयबासीलाई प्रेरित गर्नुपर्छ र त्यसमा सरकारले पनि लगानी गर्नुपर्छ।”

पानी उपयोग गर्ने अनेक उपाय।

अनेक उपाय

पानीको अभाव चर्को भएपछि बाङ्लादेशको तराई भेगमा सन् १९७० को दशकमा करोडौं ट्युबवेल जडान गरिए। तर त्यसको केही समयपछि पानीमा आर्सेनिक देखियो।

आर्सेनिकको विषाक्तताले छालामा प्रत्यक्ष असर गर्ने मात्रै होइन, मुटु तथा क्यान्सर जस्ता प्राणघातक रोग लाग्न सक्छन्। ह्युमन राइट्स वाचले बाङ्लादेशमा हरेक वर्ष आर्सेनिकबाट उत्पन्न विषाक्तताका कारण झण्डै ४३ हजार मानिसको ज्यान जाने गरेको अनुमान गरेको छ।

यो समस्यासँग जुध्न सन् २०१६ देखि बाङ्लादेशका केही सामाजिक उद्यमीहरुले ड्रिङकवेल नामक कम्पनी खडा गरी पानी प्रशोधन तथा वितरण सुरु गरेका छन्। अहिले भारत र बाङ्लादेशमा ३०० वटा ड्रिङकवेल प्रशोधन केन्द्रहरु स्थापना गरिएको छ। यो पानी प्रशोधनको सस्तो र भरपर्दो प्रविधि हो।

जानकारहरूका अनुसार पानीको अभाव पूर्ति गर्ने उपयुक्त पर्यावरण संरक्षण नै हो। त्यस्तै पाइपबाट पानी ल्याउँदा मुहानमै केही प्रतिशत छोड्ने, सम्भव हुने कृषि बालीमा थोपा सिँचाइको प्रयोग गर्ने, पानीको पुनप्र्रयोग अर्थात् प्रशोधन गरिएको पानीको गुणस्तरको आधारमा उपयोग गर्ने विधि पानी संकट टार्ने विकल्प हुन।

विश्वको पानी संकट टार्न समुद्रको पानीलाई नुन र खनिजमुक्त बनाउने उपाय पनि हो। तर, महंगो भए पनि अत्यधिक अभाव हुँदा यसको प्रयोग गर्न सकिने साइन्स अफ द टोटल इन्भायरमेन्ट २०१९ को रिपोर्टले उल्लेख गरेको छ।

इसिमोड र उसको साझेदार संस्था हाई–अवेयरले गरेको अनुसन्धानले देखाएको छ– पानीकै अभावका कारण हिन्दू कुश हिमाली क्षेत्रका ग्रामीण वस्ती बजार र शहरतर्फ पलायन भइरहेका छन्। बढ्दो विस्थापनले स्वाभाविक रुपमा जलस्रोताथि दबाब पनि बढ्दो छ।

अध्ययनले समग्र जल व्यवस्थापनमा ध्यान नदिए अवस्था भयावह हुने भन्दै पानीको बढ्दो माग र उपयोगलाई ध्यानमा राखेर विभिन्न विकल्पको खोजीमा लाग्न सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस्