जनकपुरधाम- विश्वभर फैलिँदै गएको कोरोना भाइरसको संक्रमणबाट जोगिन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सेल्फ क्वारेन्टाइनमा बस्न नागरिकसँग आग्रह गरेका छन्।
कोरोना नियन्त्रण गर्न सरकारको प्रयासमात्र पर्याप्त नरहेको भन्दै मुख्यमन्त्री राउतले प्रदेशवासीलाई सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेका हुन्।
सोमबार एक अपिल जारी गर्दै मुख्यमन्त्री राउतले विश्वभर त्राहिमाम मचाएको कोरोनाबाट जोगिन सेल्फ क्वारेन्टाइनमात्र उचित विकल्प रहेको भन्दै सरकारले उठाएको कदममा सहयोग गर्न आग्रह गरेका छन्।
कोरोना रोकथाम गर्न प्रदेश सरकारले यसअघिनै सबै जिल्लालाई ५०/५० लाख रुपैयाँ उपलब्ध गराएपनि त्यो रकममात्र पर्याप्त नरहेको उनले बताएका छन्।
मुख्यमन्त्री राउतले आ–आफ्नो घरमै बसी एक अर्कालाई हौसला प्रदान गर्दै सरकारको कदमलाई समर्थन र सहयोग गर्न अपिल गरेका छन्।