काठमाडौं- कोरोना भाइरस संक्रमणको व्यवस्थापनका लागि सरकारले प्रदेश सरकारहरुलाई जनशक्ति व्यवस्थापनका लागि दिशानिर्देश गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले छात्रवृत्तिमा मेडिकल शिक्षा पढेका चिकित्सकहरुलाई परिचालन गर्न सबै प्रदेशलाई पत्राचार गरेको छ।
सरकारले कार्यरत नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गरेर काम गरिरहेका मेडिकल अधिकृतहरु (एमबीबीएस) लाई खटाएको निकायमा न्यूनतम सेवा प्रवाह नरोकिने गरी कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा आवश्यकताअनुसार सम्बन्धित प्रदेशबाट परिचालन गर्न आग्रह गरेको छ।
स्वास्थ्य मन्त्रालयले सबै मुख्यमन्त्रीलाई गरेकाे परिपत्रमा सरकारी छात्रवृत्तिमा अध्ययन गरी सम्बन्धित प्रदेशमा कार्यरत वरिष्ठ चिकित्सकहरु (एमडी/एमएस शैक्षिक योग्यता भएका) हरुलाई पनि आवश्यकताअनुसार परिचालन गर्न आग्रह गरेको छ।
मन्त्रालयले मेडिकल शिक्षामा एमडी/एमएस अध्ययन गरिरहेका विद्यार्थीलाई पनि कलेजहरुसँग समन्वय गरी परिचालन गर्न भनेको छ।
प्रदेशमा सञ्चालित मेडिकल कलेजहरुमा सरकारी छात्रवृत्तिमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरुलाई पनि आवश्यकतानुसार परिचालन गर्न सरकारले आग्रह गरेको छ।
सरकारले कोरोना भाइरसको सम्भावित जोखिम न्युनिकरणका लागि सबैको सहयोग आवश्यक रहेको बताए पनि व्यक्तिगत खर्चमा मेडिकल शिक्षा पढेका चिकित्सकहरुलाई भने सहयोगको कुनै अपिल गरेको छैन।
साथै उनीहरुलाई स्वयम्सेवी भएर काम गर्नेबारे वा परिचालन गर्नेबारे प्रदेश सरकारलाई कुनै दिशा निर्देश गरेको छैन।