बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अदालतको फैसला नआउँदै युट्युबरको इजलासले ‘हत्या’ घोषणा गरेको एउटा केस

अदालतको फैसला नआउँदै युट्युबरको इजलासले ‘हत्या’ घोषणा गरेको एउटा केस

एउटा च्यानलले त सविता भण्डारीको केस लेखेर ‘सर्ट फिल्म’ नै बनाएको छ। ‘च्यानल जर्नी अफ लकडाउन’ नाम गरेको उक्त च्यानलको सर्ट फिल्मको शीर्षक छ– ‘सविता भण्डारी केस– सर्ट फिल्म– बैमान ससुरा– यस्तो कसैको छोरीलाई नहोस्।’ र, भिडियो हेर्दा सर्ट फिल्मको नाममा अश्लील तमासाबाहेक केही पनि पाइँदैन। सविता भण्डारी प्रकरणको संवेदनशीलतामाथि उल्टै मजाक बनाएको पाइन्छ।
 |  शुक्रबार, असार ४, २०७८

अनिल यादव

अनिल यादव

शुक्रबार, असार ४, २०७८

triton college

काठमाडौं- 

शीर्षक १ :भर्खरै सबितालाई मार्ने ससुरा पक्राउ, आफैंले खुलाए यस्तो डरलाग्दो रहस्य
(युट्युब च्यानल– अनलाइन न्युज नेपाल)

शीर्षक २ : सविता भण्डारी प्रकरणमा पहिलो पटक सन्तोष बोले, भएको के थियो?
(युट्युब च्यानल– कपुरबोट डटकम)

शीर्षक ३ : सविता भण्डारी हत्याकाण्ड। ससुराको यस्तो घीनलाग्दो हर्कत बाहिरियो
(युट्युब च्यानल– ताजा अपडेट)

corrent noodles
Metro Mart

शीर्षक ४ : सविता भण्डारीलाई मार्नुको वास्तविक यस्तो रहेछ छिमेकीले बल्ल खोले पोल 
(युट्युब च्यानल– ए वान नेपाल) 

शीर्षक ५ : सविता भण्डारीको कुण्डली हेरेर ज्योतिषी नै परे छक्क 
(युट्युब च्यानल– बिजी टीभी)

शीर्षक ६ : सविता भण्डारी मृत्यु प्रकरणको नालीबेली, के ससुराकै कारण यस्तो भएको हो? किन मिलेन अझै न्याय?
(युट्युब च्यानल– मेचीकाली खबर)

शीर्षक ७ : सविता भण्डारीको न्यायका लागि चितवन सविताको घरमा पुगे पुण्य गौतम, गाउँले खुलाए घटनाको वास्तविकता 
(युट्युब च्यानल– नमस्ते फिल्मी टीभी)

000

यी त उदाहरण मात्रै हुन्, यति बेला युट्युबमा ‘सविता भण्डारी’ लेखेर सर्च गर्नुभयो भने यो प्रकरणमाथि तपाईंले सयौं भिडियो भेट्नुहुन्छ, जहाँ यस्तै शीर्षक राखिएका छन्।  गत वैशाख ४ गते चितवनको भरतपुर-१९ स्थित आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्, सविता भण्डारी। पोस्टमार्टममा उनको रिपोर्ट ‘ह्यांगिङ’ आयो। चितवन प्रहरीको अनुसन्धानले आत्महत्या गरेको निष्कर्ष निकाल्यो। तर, प्रहरी अनुसन्धान र माइती पक्षबाट प्राप्त प्रमाणका आधारमा सवितालाई उनकै श्रीमान्, ससुरा र आमाजूले आत्महत्या गर्न बाध्य बनाएको हुन सक्ने देखिएको छ। प्रहरीले पनि धिताल परिवार (सविता भण्डारीको घरपरिवार) को मानसिक यातना र हिंसाकै कारण सविता आत्महत्याको अवस्थामा पुगेको निचोड निकाल्यो। 

यसपछि सविताका श्रीमान्, ससुरा र आमाजू तीनैजनाविरुद्ध प्रहरीले आत्महत्या दुरुत्साहनमा मुद्दा चलाएको छ। अदालतले श्रीमान् र ससुरालाई एक–एक लाख र आमालाई २५ हजार धरौटी तिराएर रिहा गर्न आदेश दिइसकेको छ। मुद्दाको अन्तिम फैसला आउन बाँकी नै छ। 

यसरी जिल्ला अदालत चितवनमा विचाराधीन मुद्दामा यतिखेर युट्युब च्यानलहरूले बनाइरहेको कन्टेन्ट हेर्न हो भने उनीहरूको इजलासले अदालतको फैसलाअगावै सविताको मृत्युलाई ‘हत्या’ ठहर गरिसकेको छ। र, प्रहरी अनुसन्धानलाई पनि युट्युबरको इजलासले गलत साबित गरिरहेको छ। 

सविता भण्डारीको मृत्यु भएको करिब डेढ महिनापछि एक्कासि युट्युबमा भ्युज कमाउने ‘मसला’ कसरी बन्यो? यो जान्न सबैभन्दा पहिले सविताकी बहिनी सजनी भण्डारीको फेसबुक स्टाटसमा फर्कनुपर्छ।  

000

जेठ १५ गते सविताकी बहिनी सजनीले न्यायका लागि सबैलाई सेयर गर्न आग्रह गर्दै फेसबुकमा स्टाटस राखेकी थिइन्, जहाँ अंग्रेजीमा लेखिएको थियो, ‘भावना ढकाल (आमाजू) ले सुरुदेखि नै मेरी दिदीलाई दाइजोको कुरा निकालेर टर्चर दिँदै आइरहेकी थिइन्। भावनाका श्रीमान् भोजले गत मंसिरमा मेरी दिदीलाई बोलाएर डिभोर्स गर्न सहयोग गर्ने र छोरा संयकलाई उनकै जिम्मा लगाउने भनेका थिए। दिदीका श्रीमान् योगेन्द्रकुमार ढकालले सधैं रक्सी पिएर उनलाई पिट्थे, यातना दिन्थे र १० महिनायता लगातार डिप्रेसनको औषधि खान बाध्य बनाए। त्यस्तै, दिदीका ससुरा रमेशकुमार धितालले औषधि लगाउने बेलामा यौन दुर्व्यवहारसम्मको हर्कत गर्थे।’

‘हामीले अनुसन्धान गरेर बुझाइसकेपछि, यिनीहरू (युट्युबरहरू) बाहिर आएका हुन्। यी बौलाइरहन्छन्, हामीलाई वास्ता छैन’, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारी युट्युबरहरूको कन्टेन्टबाट आजित सुनिन्छन्। 

आफूसँग भनेका यी सबै कुराको प्रमाण रहेको भन्दै उनले न्याय दिलाउन सामाजिक सञ्जालमा सबैसँग गुहारिन्। त्यसपछि फेसबुकदेखि टिकटकसम्म ह्यासट्याग नै सुरु भयो, ‘जस्टिस फर सविता भण्डारी।’ 

युट्युब च्यानलहरूले सविताकै स्टाटसलाई आधार मानेर ‘भ्वाइस-ओभर’ रिपोर्ट बनाउन थाले, अतिरञ्जित शीर्षक राखेर। उनीहरु सविताको माइती पक्षको दैलोसम्म पुग्न थाले, भिडियो खिच्न। त्यसपछि कतिपयले बहिनीदेखि आमासम्मलाई फोनबाटै कुराकानी गरेर भिडियो बनाए। 

‘हामीले अनुसन्धान गरेर बुझाइसकेपछि, यिनीहरू (युट्युबरहरू) बाहिर आएका हुन्। यी बौलाइरहन्छन्, हामीलाई वास्ता छैन’, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारी युट्युबरहरूको कन्टेन्टबाट आजित सुनिन्छन्। 

जब युट्युबरले पीडामाथि पीडा थपे...

जब सविताकी बहिनी सजनीले दिदीलाई मार्नेहरुविरुद्ध आफूसँग प्रमाण रहेको बताइन्। त्यसपछि युट्युबरहरुले उनीसँग प्रमाण खोज्न थाले। उनले प्रसारणका निम्ति नभएर विश्वासका निम्ति आफूसँग भएको स्क्रिनसट र भिडियोहरू युट्युबलाई दिइन्। तीमध्ये एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइदियो। जहाँ सविताको ससुराले उनीमाथि दुर्व्यवहार गरेको देखिन्छ। भिडियोमा औषधि हाल्ने क्रममा ससुरा सविताको काखमै सुत्न खोज्छन्। ‘काखमै सुत्नुपर्ने त?’ त्यसपछि सविताले असहज भाव प्रकट गरेको स्पष्ट देखिन्छ।

सविताको मृत्युको केही दिनअघि बहिनीसँग गरेको एक कुराकानीको अडियो पनि टिकटकलगायत सामाजिक सञ्जालमा उस्तै भाइरल भयो। जहाँ सविताले भनेकी छिन्, ‘म एकदमै विक भएँ। म सक्दिनँ कान्छी। मसँग बोल्ने आँट पनि छैन। म एकदम होपलेस र हेल्पलेस भइसकें। टेक केयर। म धेरै स्ट्रङ हुन खोजें तर भित्रैबाट कमजोर भइसकें। दिनदिनै यो पेन सहन सक्दिनँ।’ 

अधिकांश युट्युब च्यानलले सविता भण्डारी प्रकरणमाथि बनाएको भिडियोमा ससुराले दुर्व्यवहार गरेको यो दृश्य राखेका छन्। पीडितको गोपनीयताप्रति कोही पनि सचेत देखिँदैनन्।  उदाहरणका लागि, युट्युबले भाइरल बनाएको युट्युबर भोजराज थापालाई लिन सकिन्छ।

उनले आफ्नो ‘मेचीकाली खबर’ च्यानलमा सविता प्रकरणमाथि नै तीनवटा भिडियो बनाएका छन्। जसमध्ये एउटा भिडियो रिपोर्ट तयार पार्दासम्म युट्युब ट्रेन्डिङको नम्बर १६ मा थियो। भिडियोको शीर्षक छ– ‘सविता भण्डारी मृत्यु प्रकरणको नालीबेली, के ससुराकै कारण यस्तो भएको हो? किन मिलेन अझै न्याय?’

उनको यो भिडियोको सुरु नै ससुराले बुहारीको काखमा बसेर गरेको दुर्व्यवहारको दृश्य देखाएर भएको छ।  एकपटक होइन, उनले बारम्बर, दोर्‍याइतेर्‍याइ, जुम गरी–गरी, त्यो दृश्य देखाएका छन्, ताकि उनको भिडियोप्रति दर्शकको ध्यान रहिरहोस्।  

सोही भिडियोमा भोजराजले सविताकी सजनी र आमालाई सँगै राखेर अन्तर्वार्ता पनि लिएका छन्। जहाँ सजनीले आफूसँग दिदीलाई ससुराले शरीरभित्रै हात लगेर दुर्व्यवहार गरेको भिडियो पनि रहेको बताएकी छन्। तर, कुनै पनि भिडियोमा सामाजिक सञ्जालमा बाहिर ल्याउने मनशाय नभएकोसम्म उनले स्पष्ट पारेकी छन्। ‘अहिले भाइरल भएको भिडियो पनि मैले लिक गर्न खोजेको थिइनँ। मिडियाले प्रमाणविना न्युज हाल्नुहुन्न भनेर दिएकी थिएँ, तर सार्वजनिक गरिदिनुभएछ’, उनले भनेकी छन्। 

एकमात्रै ध्येय– दर्शकको ध्यान खिचेर भ्युज बढाउने अनि पैसा कमाउने देखिन्छ। जबकि नेपाल प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिताले पनि त्यसरी दुर्व्यवहारको भिडियो सार्वजनिक गर्ने छुट दिँदैन।

तर, जुन च्यानलमा उनले यसो भनिन्, त्यही च्यानलले पनि उनको कुराकानी राख्दै गर्दा त्यो दुर्व्यवहारको भिडियो सार्वजनिक गरिदिएको छ। त्यसको एकमात्रै ध्येय– दर्शकको ध्यान खिचेर भ्युज बढाउने अनि पैसा कमाउने देखिन्छ। जबकि नेपाल प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिताले पनि त्यसरी दुर्व्यवहारको भिडियो सार्वजनिक गर्ने छुट दिँदैन। आचारसंहिताको ‘पत्रकार तथा सञ्चारमाध्यमले गर्न नहुने शीर्षकअन्तर्गत बुँदा नं. ४ मा उल्लेख छ, ‘पत्रकार तथा सञ्चारमाध्यमले विपत्ति वा शोकमा परेका, दुःख–पीडा भोगिरहका व्यक्ति वा उनका आफन्तजनमा थप पीडा पुग्ने गरी वा सावर्जनिक संवेदनशीलतामा प्रतिकूल असर पर्ने गरी कुनै पनि विवरण, चित्र, संकेत लगायतका सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नु हुँदैन।’ 

यतिमात्रै होइन, आचारसंहिताले त ‘पत्रकार तथा सञ्चारमाध्यमले समाजमा हिंसा, निराशा, घृणा, सन्त्रास र उत्तेजना फैलाउने किसिमका साथै हत्या, आत्महत्या, बलात्कार, दुर्घटना जस्ता कारणबाट सिर्जित नग्न, क्षतविक्षत र बीभत्स दृश्य एवं तस्बिर सम्प्रेषण गर्नुहुँदैन’ पनि भनेको छ।

त्यसो त १० दिनअघि सविताकी बहिनी सजनीले फेसबुकमा राखेको स्टाटसले पनि उनी युट्युबरसँग कति आजित भइसकिन्, त्यो संकेत गर्छ। उनले लेखेकी छिन्, ‘नमस्ते म सजनी भण्डारी। आज म हजुरहरूलाई  बिन्ती गर्न आ’को। मेन मिडिया हाउसलाई। हजुरलाई विश्वास गरेर आ’को मलाई नै गाह्रो हुने काम नगरीदिनुस्। नराखिदिनु भनेको भिडियो, अडियो र म्यासेज बिन्ती छ नराखिदिनुस्। हजुरले गर्दा मलाई अप्ठेरो परिरा’छ। बिन्ती छ। सबै भिडियो/अडियो हटाइदिनुस्। हजुरहरुले मद्दत गर्ने भन्दा अप्ठेरो पारिदिने काम गर्दै हुनुहुन्छ। पेज चलाउने काम मात्र गर्दै हुनुहुन्छ। माफ चाहन्छु र बिन्ती छ, अहिलेसम्म राख्नुभएको सबै भिडियो डिलिट गर्न आग्रह गर्दछु। पीडामाथि पीडा थप्ने काम नगरिदिनुस्। धन्यवाद।’

‘न्यायाधीश’ युट्युबर

सविता भण्डारी प्रकरणमा बनेका युट्युब कन्टेन्ट हेर्दा लाग्छ, युट्युबको आफ्नै इजलास छ। यसले न देशको न्यायालय चिन्छ, न कानुन, न प्रहरी। आफैं अनुसन्धान गर्छ, अनि आफैं फैसला। सविता भण्डारी प्रकरणलाई उनीहरु विनाकुनै आधार ‘हत्या’ करार गरिरहेका छन्। सस्तो प्रचारका लागि कहिले पुण्य गौतमलाई सोधिरहेका छन्, कहिले सुष्मा कार्कीलाई। तर, घटनाप्रति न संवेदनशीलता देखिन्छ, न सूक्ष्म अध्ययन। 

उदाहरणका लागि जुन ८ मा अनलाइन न्युज नेपालले राखेको भिडियो हेरौँ। उसले त शीर्षकबाटै सवितालाई ससुराले मारेको भनेर निष्कर्ष निकालिदिएको छ। र, १ लाख ६८ हजारभन्दा बढीले यो भ्वाइसओभर रिपोर्टलाई हेरेका छन्, सायद कतिले विश्वास पनि गरे!
फोनबाट प्य्रांक भिडियो बनाउँदै आइरहेका केही प्य्रांकस्टारले समेत यो प्रकरणमाथि भिडियो बनाएका छन्। तर, ती प्य्रांकस्टारको भिडियोले पनि सविता भण्डारी प्रकरणमाथि ‘प्य्रांक’ गर्नबाहेक अरु केही गरेको देखिँदैन। प्य्रांकस्टरहरु निशान्त पौड्यालदेखि समिर भट्टराईसम्मले सविताको घटनामाथि कोठामै बसेर फोन गर्दै भिडियो बनाएका छन्। 

निशान्तले जुन २ मा अपलोड गरेको भिडियोको शीर्षक छ, ‘सविता भण्डारी केस अपडेट।’ त्यहाँ उनले सबिताकी बहिनी सजनीसँग गरेको पर्सनल फेसबुक च्याट सार्वजनिक गरेका रहेछन्। त्यसपछि उनले सजनीलाई फोन गर्छन्। भावुक हुन्छन्। आँसु झरेको देखिँदैन तर पुछेजस्तो अभिनय गर्छन्। सजनीले दिदीमाथि भएको अन्यायबारे सुनाएपछि उनी ‘न्यायाधिश’ बनेर निष्कर्ष निकाल्छन्, ‘यो त क्लियर मर्डर नै देखियो, प्रहरीको पनि मिलेमतो देखियो।’ अनि दर्शकलाई आग्रह गर्छन्, ‘लेट्स सेयर दिस भिडियो फर जस्टिस अफ सविता भण्डारी।’ मानौं कि, उनको यो भिडियो सेयर गरिदिएपछि सविताले न्याय पाउँछिन्! 

यसैगरी उनले सविताको आमासँग पनि फोन कुराकानी गरेका छन्, अनि अभिनेत्री सुष्मा कार्कीलाई पनि फोन गरेर घटनाबारे धारणा मागेका छन्। ‘ससुराको घिनलाग्दो हर्कत बाहिरियो’ भन्दै दुर्व्यवहारको भिडियो राख्ने युट्युब च्यानल त कति छन् कति, गनेर साध्य छैन। कतिपय च्यानलको हेडलाइन त पूरै झुक्याउने र भ्रम फैलाउने खालका छन्। 

जस्तो कि, ग्लोबल अपडेट नाम गरेको एउटा च्यानलले राखेको भिडियोको थम्बनेलमा लेखिएको छ– ‘बल्ल मुख खोले डीएसपीले चितवन घटनामा।’ के खोलेछन् भनेर भित्र हेर्दा ती त पूर्व डीएसपी कृष्णप्रसाद शर्मा पो रहेछन्, जसले घटनाबारे आफ्नो धारणा राखेका रहेछन्। 

एउटा च्यानलले त सविता भण्डारीको केस लेखेर ‘सर्ट फिल्म’ नै बनाएको छ। ‘च्यानल जर्नी अफ लकडाउन’ नाम गरेको उक्त च्यानलको सर्ट फिल्मको शीर्षक छ– ‘सविता भण्डारी केस– सर्ट फिल्म– बैमान ससुरा– यस्तो कसैको छोरीलाई नहोस्।’ र, भिडियो हेर्दा सर्ट फिल्मको नाममा अश्लील तमासाबाहेक केही पनि पाइँदैन। सविता भण्डारी प्रकरणको संवेदनशीलतामाथि उल्टै मजाक बनाएको पाइन्छ।

कपुरबोटको करामत

केही समयअघि बिल गेट्सकी पत्नीसँग डिभोर्स हुँदा नेपालमा एउटा ट्रोल खुब भाइरल भएको थियो। जहाँ युट्युबरहरु सन्तोष देउजा, भाग्य न्यौपाने र भोजराज थापाको तस्बिर राख्दै क्याप्सनमा लेखिएको थियो, ‘बिल गेट्स र मिलेन्डा गेट्सबीचको सम्बन्ध मिलाउन उहाँहरु अमेरिका प्रस्थान रे नि त!’

हेर्दा यो सामान्य ट्रोलजस्तो लागे पनि यसले नेपाली युट्युबरको प्रवृत्तिप्रति तिखो व्यंग्य गरेको थियो। भोजराजको कन्टेन्टमाथि त माथि नै चर्चा भइसक्यो। 

युट्युबरहरू भाग्य न्यौपाने, भोजराज थापा र सन्तोष देउजा

अब पालो सन्तोषको, जो पती–पत्नीका झगडा मिलाउन माहिर युट्युबरका रुपमा प्रख्यात छन्। सविता भण्डारी प्रकरणमा पनि उनी एक मात्र यस्तो युट्युबर हुन् जसले निरन्तर १७ वटा भिडियो कन्टेन्ट बनाएका छन्। ती सबै भिडियोको भ्युज जोड्दा करिब ८० लाख पुग्छ। 
चर्चा गरौं, उनको पहिलो भिडियोबाटै। शीर्षक राखेका छन्, ‘सविता भण्डारी प्रकरणमा पहिलो पटक सन्तोष बोले, भएको के थियो?’ 

शीर्षक नै यसरी राखेका छन्, मानौं, उनले बोलिदिएपछि सविताले न्याय पाउँछिन्। त्यसपछि उक्त भिडियोमा उनले गफ छाँट्दै भनेका छन्, ‘सविता भण्डारीका विषयमा सन्तोष देउजा किन बोल्नुभएन, उहाँको बारेमा भिडियो किन बनाउनुभएन भनेर टिकटक, युट्युबदेखि फेसबुकसम्म मेन्सन गरेर धेरैले प्रश्न गरिरहनुभएको छ। त्यसैले म बोल्दैछु...’

उनले हरेक भिडियोमा ‘एक्सक्लुसिभ’ लेख्न बिर्सिएका छैनन्। उनी भिडियोमार्फत समाजमा के प्रवाह गर्न खोजिरहेका छन्, उनले राखेका शीर्षकबाटै स्पष्ट हुन्छ।

शीर्षकहरु यस्ता छन् :

–सविता भण्डारीको अमाजूको श्रीमान् मिडियामा, मैले साइबर क्राइमको केस गर्दैछु

–सविता भण्डारीको पक्षमा बलिया आधारहरु यस्ता छन्, घटनाको वास्तविकता यस्तो छ

–सविता भण्डारीको सासूआमा रुँदै मिडियामा, बुहारी सम्झेर मुसलधारे आँसुको वर्षा... 

–तपाईंले हेर्न चाहेको भिडियो, सविता भण्डारीको श्रीमान् पहिलो पटक मिडियामा... 

–सामाजिक सञ्जालले मलाई बाच्न दिएको छैन, श्रीमतीको शोक पनि राम्रोसँग गर्न पाएको छैन। 

–सवितालाई मर्न बाध्य बनाइएको आधारसहित मञ्जु र अधिवक्ता, न्याय पाउने पक्का

–सविताको माइती भेट्न सन्तोष देउजा काठमाडौंमा, बहिनीसँग ठोस कुराकानी 

–सविताको घरभित्रै पसे सन्तोष, सानो बाबुलाई देखेर भावुक भए, भित्री दृश्य यस्तो छ 

–सविताको कपडा देखाउँदै आमा भक्कानिँदै रोइन्, मञ्जु खाँडलाई सम्हाल्न गाह्रो 

–अहिलेसम्मकै विशेष भिडियो : आमाजू भावना ढकाल पहिलो पटक मिडियामा ९८ लाख ७४ हजार भ्युज

–सवितालाई के भएको थियो? डाक्टर र परिवारको मिलेमतो थियो त? 

–सम्धिनीको भिडियो हेरेपछि सविताको आमाले यसो भनिन्, आमासँगै रोइन् मञ्जु खाँड

–कमेन्टमा गाली गर्नेलाई ज्वाइँ र सासूआमाले यस्तो जवाफ दिए, नातिलाई अधिकार खै? 

–चितवनमा सविताका छिमेकी घरको सपोर्टमा, किन डराउनुभयो? 

–महत्त्वपूर्ण भिडियो : सविताको घटनामा उठेका प्रश्नहरु, बच्चाको भिडियो किन हटाइयो, न्यायका लागि अब

–सविताको माइती सन्तोष देउजाको घरमा, ‘अरुले जे भनेनी हाम्रो साथ नछोड्नु सर’

अन्तिम शीर्षकको भिडियो सुरुवात उनले यसरी गरेका छन्, ‘दर्शकवृन्द नमस्कार। धेरै धेरै स्वागत छ, म सन्तोष देउजा। मैले तीन दिन भयो मेरो च्यानलमा कुनै पनि भिडियो अपलोड गरिरहेको छैन। मैले केही पनि बोलेको छैन। म मौन छु, चुप्प छु। किनभने म समयलाई कुरिरहेको छु, समयलाई पर्खिरहेको छु...’

मानौं कि, उनी मौन भइदिँदा सब बर्बाद भइसक्यो। त्यसपछि उनले थप भनेका छन्, ‘यतिबेला सविताको माइती पक्ष चितवन आउनुभएको छ। सविताको बुबा, ममी, बहिनी, मामा, सानोबुबा मसँग हुनुहुन्छ। हामी अहिले मेरै घरमा छौं दर्शकवृन्द।’

सविताको माइती पक्षदेखि श्रीमान् पक्षसम्मलाई उनले घरमै बोलाएर इन्टरभ्यु लिएका छन्, त्यसमा गर्वसहित प्रस्तुत भएका छन्। भावुक हुने, आँसु झार्ने, ‘न्यायाधीश’ झैं प्रस्तुत हुने उनका विशेषता हुन्। युट्युबमा उनको आफ्नै ‘अनुसन्धान शैली’ स्थापित छ। उनले एक भिडियोमा सजनी भण्डारीको परिवारसँग कुराकानी गर्ने क्रममा भनेका छन्, ‘धेरै ठाउँमा म जाँदै छु भनेपछि मान्छेहरु झुम्म भइरहेका हुन्छन्। जुनसुकै केसमा पनि।’ उनी आफूलाई के ठान्छन्, उनको यो अभिव्यक्तिले स्पष्ट पार्छ। 

माइती पक्षसँग लिएको अन्तिम कुराकानी भिडियोमा उनले सुझाव पनि दिन्छन्, ‘सविता भण्डारी डिप्रेसनमा थिइन् भन्ने डाक्टरको कल डिटेल निकाल्नुस्। यो पनि अनुसन्धानको पाटो हुनसक्छ।’ 

त्यतिमात्रै होइन, उनले मिडियामा प्रस्तुत हुँदा सचेत हुनुपर्ने भन्दै सुझाव दिन पनि भ्याएका छन्, ‘तपाईं कुनै पनि मिडियामा बोल्दाखेरी आफ्नो वकिलसँग परामर्श गर्नुस्। डाउट लागेका कुराहरु प्रमाणतिर जुटाउनुस्।’

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी अधिकारी युट्युब अहिले राष्ट्रिय समस्या भइसकेको तर्क गर्छन्। यसले अनुसन्धानलाई मात्रै नभएर सिंगो समाज, सिंगो राजनीतिलाई प्रभाव पारिरहेको उनी बताउँछन्। ‘एउटा घटनामा मात्रै युट्युबर यसरी जथाभावी प्रस्तुत भएका छैनन्, यो अहिले देशभर मौलाइरहेको प्रवृत्ति हो’, उनी भन्छन्, ‘यो प्रवृत्तिलाई ठेगान लाउने सिस्टमले हो। आफूले गरिरहेको कामप्रति हरेक नागरिक जवाफदेही हुनुपर्छ भन्ने हो। तर, युट्युबरहरुमा त्यो जवाफदेहिता छैन। फलानो चोर भन्ने तर कसरी चोर भन्दा उनीहरुसँग जवाफ हुन्न। त्यस्तै यो केस हत्या हो भन्ने तर कसरी भन्दा उनीहरुसँग जवाफ छैन।’ 

अधिकांश केस भावनासँग जोडिए पनि अनुसन्धान भने तथ्यमा आधारित हुने उनी बताउँछन्। ‘भावना एउटा कुरा हुन्छ, अनुसन्धान अर्को’, उनी भन्छन्, ‘अनुसन्धान निर्मम हुन्छ। अनुसन्धानले कसैको आँखाको आँसु हेर्दैन् यो त तथ्यमा निर्भर हुने कुरा हो। तर, झापामा आठ कक्षा पास गर्न नसकेको एउटा केटोले क्यामेरा बोकेर भोटो लाएर निस्किएर चितवनको केस ‘हत्या’ भन्दियो भन्दैमा त्यसको जवाफ दिएर साध्य हुन्छ?  एउटा केस अनुसन्धान गर्न ५० अनुसन्धान अफिसरहरुले २० वर्षसम्म लगाएको उदाहरण हामीसँग छ। अनि, यहाँ युट्युबरहरुले हचुवाका भरमा तत्कालै अनुसन्धान गर्दिरहेका छन्। यो डरलाग्दो संकेत हो।’

उद्दण्ड मच्चाइरहेका छन् युट्युबर : हेमन्त मल्ल, पूर्व डीआईजी

अदालतमा चलिरहेका मुद्दा चाहे त्यो मिडियाबाट होस् या युट्युबबाट या सामाजिक संघसंस्था, यिनीहरुले कुनै न कुनै रुपमा प्रभाव पार्न खोजेका हुन्छन्। तर, यो गलत हो । सही होस् या गलत, यसले आमजनताको धारणामा प्रभाव पारिरहेको हुन्छन्। सत्य एकातिर हुनसक्छ तर भीड अर्कोतिर निर्देशित गरिरहेको हुनसक्छ। 

हामीकहाँ कुनै–कुनै युट्युब राम्रा पनि छन्, जस्तो– विद्या चापागाईको ‘हेर्ने कथा’। तर धेरैजसोले वितण्डा मच्चाइरहेका छन्। भ्युज बढाउन उनीहरु जथाभावी प्रस्तुत भइरहेका छन्। हामीकहाँ केही खराब पात्र छन्, जो युट्युबर, नागरिक समाज या सामाजिक अभियन्ताका नाममा या आफ्नो ‘इमेज बिल्डिङ’का लागि चाहिने/नचाहिने सामग्री पस्किएर समाजलाई गलत बाटोमा डोर्‍याइरहेका छन्। उनीहरुले समाजको मानसिकता नै परिवर्तन गर्न खोजिरहेका छन्। सही कुरालाई झुटो भन्दिने, झुटोलाई सही भन्ने, समाजमा भाँडभैलो निम्त्याउने केही युट्युबरको प्रवृत्ति भइसक्यो। 

हेमन्त मल्ल, पूर्व डीआईजी, नेपाल प्रहरी

यतिसम्मकी श्रीमान‍्श्रीमतीको डिभोर्ससम्म गराइदिएका छन् उनीहरुले। मेरै गाउँको एउटा रिक्सा चलाउने केटो अर्जुन विकलाई सुरुमा युट्युबले खुब हिरो बनायो। पछि युट्युबकै कारण उसको डिभोर्स नै भएछ। अहिले जेलमा छ, युट्युबरका कारण। त्यस्तै जंगलमा जोगी भएर बसेको मान्छेलाई युट्युबले भाइरल बाबा बनाइदिएको छ।

सस्तो लोकप्रियताका लागि, भ्युज बढाउन युट्युबरले एकदमै गलत गरिरहेका छन्। राजनीतिक अस्थिरता र द्वन्द्वका कारण यसै त समाज बिथोलिएको छ, त्यसमा युट्युबले घिउ थप्ने काम गरिरहेको छ। परिवारमा भाँडभैलो ल्याउनेदेखि सरकारी कार्यालयमा गएर जथाभावी धम्की, न्यायालयलाई प्रभावमा पार्न खोज्ने लगायत अनेक हर्कत गरिरहेका छन् युट्युबरहरु। 

सोसियल मिडिया  हेर्नै नसकिने भइसक्यो। यसको नियमनमा सरकारले ध्यान दिन जरुरी देखिन्छ। नत्र त मलाई कसैसँग रिस उठ्नेवित्तिकै एउटा कथा बनाएर युट्युबमा जथाभावी बोलेर राख्दा पनि हुने भयो !

त्यस्तै चितवनको सविता भण्डारी प्रकरण त झन् अदालतमा पुगिसकेको मुद्दा हो। तर, युट्युबरहरुमा शून्य संवेदनशीलता देखिन्छ। प्रमाण अदालतमा पेस गर्ने कुरा हो, तर यहाँ त पीडितलाई थप पीडा दिने गरी सामाजिक सञ्जालमा भाइरल गराइँदै छ।  

यतिखेर अदालत र प्रहरी सबैलाई भ्रष्ट देखाउने गरी प्रस्तुत भइरहेका छन्, युट्युबरहरु। घटनाको अन्तर्य आमजनतालाई थाहा नभएको हुनसक्छ। तर, त्यही भीडमा गलत सन्देश छरिरहेका छन्, युट्युबरहरु। हत्या गरेको प्रमाण हुँदाहुँदै अदालतले न्याय नदिएको एंगलबाट सामग्रीहरु प्रसारित भइरहेका छन्। यो ठिक होइन। 

सोसियल मिडिया  हेर्नै नसकिने भइसक्यो। यसको नियमनमा सरकारले ध्यान दिन जरुरी देखिन्छ। नत्र त मलाई कसैसँग रिस उठ्नेबित्तिकै एउटा कथा बनाएर युट्युबमा जथाभावी बोलेर राख्दा पनि हुने भयो!

यस्तो छ सामाजिक सञ्जालले न्याय मागिरहेको चितवनकी सविता मृत्यु प्रकरणको गुत्थी

हेर्नुहाेस् युट्युबमा नजर- १

युट्युबरको हस्तक्षेपले यसरी खलबलियो राउटे युवतीको जीवन


प्रकाशित: Jun 18, 2021| 21:30 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।