मंगलबार, जेठ १३, २०७७

समाचार खेलकुद

अनलाइन प्रतियोगिताले जगाएको आशा

1590037484karate_(2).jpg

जेठ २ गते शंखडोल डोजोले कराँते अन्तर्गत काता विधाको अनलाइन प्रतियोगिता सम्पन्न गर्यो। प्रतियोगितामा जगत सिंह धानुक र रोस्मा राईले स्वर्ण जिते। २ दिन चलेको प्रतिस्पर्धामा २२ पुरुष र १२ महिला प्रतियोगीको सहभागिता थियो।

यो प्रतियोगिता नेपालमा सम्पन्न पहिलो अनलाइन काता प्रतियोगिता समेत हो। कोरोना भाइरस(कोभिड–१९) का कारण देशव्यापी लकडाउन भएपछि आयोजकले प्रतियोगिताको नयाँ प्रणाली अपनाएको हो।

वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण अहिले विश्व नै आक्रान्त बनेको छ। यस्तो अवस्थामा विश्वभरीका खेलकुद गतिविधि प्रभावित बनेका छन्। त्यसैले विश्वमा नै अनलाइन प्रतियोगिताको प्रचलन बढेको छ।

पछिल्लो समयमा नेपालका तेक्वान्दो खेलाडीले दुई ठूला प्रतियोगितामा सहभागी बनेर ठूलो उपाधि हात पारेका छन्। पहिलो पटक आयोजित युरोपियन पुम्सेमा नेपाल सहभागीमात्र बन्यो। पदक भने जित्न सकेन तर विश्व च्याम्पिनयसिपको एक विधामा भने स्वर्ण रजत र काश्य नै हात पार्न सफल बन्यो।

त्यस्तै महिलातर्फ पनि नेपालले रजत पदक जितेको थियो।

विश्व च्याम्पियनसिपमा स्वर्ण जितेका कमल श्रेष्ठ।

युरोपिनयन र विश्व पुम्से च्याम्पियनसिपमा सहभागी खेलाडीको भनाइ जस्ताको त्यस्तै 

प्रथम पटक संचालन भएको तेक्वान्दो खेलको इतिहासमा अनलाइन प्रतियोगितामा सहभागी भएर पदक प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बन्न पाउदा आफैँमा गर्वको विषय छ। हामीले देशको लागि केही गरेका छौं भन्ने अनुभूति भएको छ।

पदक प्राप्त गरे पनि यसमा सहभागिताको प्रकृया एकदमै जटिल र झन्झटिलो थियो। भाग लिन पाउँछौं, पाउदैनौं दुविधा थियो। तेक्वान्दो संघ मार्फत प्रकृया अगाडि बढाए पनि विश्वभर लकडाउनका कारण खेलाडी दर्ता बापत जर्मन र फ्रान्स बैंकमा १० युरो जम्मा गर्न नेपाल तेक्वान्दो संघबाट सम्भव नभएपछि अलमल नै थियो।

त्यतिमात्र नभएर यो खेल विशुद्ध प्रविधिसँग जोडिएको विषयबस्तु भएकोले सामान्य तवरले यी दुई प्रतियोगिताहरुमा सहभागि हुन कठिन थियो। प्रतिश्पर्धाका लागि युरोपियन च्याम्पियनसिपमा एक जनाको ६ वटा भिडियो तीन वटा यूट्यूव लिंकमा पठाउनु पर्ने थियो भने फ्रान्समा विश्व च्याम्पियनसिपका लागि २ वटा पुम्सेको भिडियो एउटा यूट्यूव लिंकमा पठाउनु पर्ने थियो। यी सबै कामा हामीले व्यक्तिगत रुपमा सम्पन्न गर्यौं।

यसका लागि हामी खेलाडीहरु एकदमै भाग्यवानी यो अर्थमा थियौ कि हाम्रो प्रशिक्षक लक्ष्मण बहादुर ऐरले हामीलाई जसरी पनि दुबै प्रतियोगिताहरुमा समावेश गराएरै छोड्छु भन्ने दृढ प्रतिज्ञाका साथ काम अगाडी बढाई राख्नुभएको थियो। उहाँलाई पनि काम गर्ने क्रममा विविध बाधा अवरोध श्रृजना नभएका होईनन।

यसका बाबजुद पनि उहाँको कुशल नेतृत्व, व्यवस्थापन एवं टेक्नोलोजिको क्षेत्रमा पनि उहाँ उत्तिकै अब्वल भएका कारण आज हामी नेपालको तर्फबाट यस्ता ऐतिहासिक प्रतियोगिताहरुमा भाग लिन पाउने पहिलो भाग्यवानी नेपाली खेलाडी हुन सावित भयौं।

नेपाल पुलिसका तेक्वान्दो प्रशिक्षक लक्षमण बहादुर ऐर।

यतिमात्र नभएर उहाँले हामी सबै खेलाडीहरुको उच्च मनोवल राख्न सहयोग गर्नुभयो। साथै स्वयं हामीहरु सँगसँगै दैनिक ४ घण्टाको कडा प्रशिक्षण गराई आफूले पनि गर्नुभएको थियो। जसकारण ३० र ५० वर्ष मुनीको उमेर समूहका दुबै प्रतियोगितामा सहभागि मात्र नभई तेक्वान्दोको पुम्से बिधामा आफूलाई अब्वल सावित गर्यौँ। हाल उहाँ सँगसँगै हाम्रो टिमले १ देखि १७ नं. पुम्सेहरु अभ्यास गर्दै आएका छौं र नियमित प्रशिक्षण चलिरहेको छ।

प्रतियोगिताहरुका दौरानमा कोरियन प्रशिक्षक क्वान योङ दल पनि विचविचमा आई कमिकमजोरीहरु सुधार गरीदिनु भएको थियो भने नेपाल तेक्वान्दो संघको तर्फबाट संघका सचिव दिपक बिष्टसँग हाम्रो सरले सल्लाहसुझाव लिई राख्नु भएको थियो।

अनलाइन विश्व पुम्से च्याम्पियनसिपमा लिएका कमल श्रेष्ठ, जितबहादुर बोटे, प्रमेबहादुर लिम्बू, पार्वती गुरुङ र सिता तामाङले सहभागिता जनाएका थिए। प्रतियोगिताको सिनियर उमेर समूहमा नेपाल पुलिसका प्रशिक्षल लक्ष्मण बहादुर ऐरले पनि सहभागिता जनाएका थिए।)

यो पनि पढ्नुहोस्

पुम्से विश्व च्याम्पियनसिप : पुरुष ३० वर्षमुनिको इभेन्टमा नेपालले जित्यो स्वर्ण, रजत र काश्य

अनलाइनबाट गर्न सकिने प्रतियोगिता काता र पुम्से मात्र होइनन्। यस्ता थुप्रै खेल छन्। केही समय अघि सुटिङको विश्व च्याम्पिनयसिप सम्पन्न भयो। तर नेपालबाट कोही पनि सहभागी भएनन्।

त्यस्तै बुद्धिचाल र लन टेनिसमा पनि भर्चुअल प्रतियोगिता भइरहेका छन्। यसबाहेक धेरै अनलाइनबाटै सञ्चालन गर्न सकिन्छ। नेपाल वादोरियो कराँते डो संघले पनि आज (बुधबार) शारीरिक व्यायामको भिडियो प्रतिस्पर्धा सम्पन्न गरेको छ। उसले सामाजिक सञ्जाल फेसबुकबाट प्रतियोगिता सम्पन्न गरेको हो।

१३ औं सागका दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठ भन्छन्, ‘अब अनलाइन प्रतियोगितालाई प्राथमिकता दिनैपर्छ भन्छु म । किनभने लकडाउनका कारण सबै खलाडी प्रतियोगिता विहिन बन्दै छन्। उनीहरुलाई फिजिकल्ली फिट राख्नका लागि र खेलबाट बाहिर जान नदिनका लागि यो एकदमै जरुरी छ।’

उनी भर्खरै सम्पन्न पहिलो अनलाइन संखडोल काता प्रतियोगितका जजसमेत हुन्। उनले विवेश लामाको अनुरोधमा जजको भूमिका निभाएका थिए। सानो लगानी भएकाले स्रोत जुटाउन गााह्रो नभएको उनको भनाइ छ।

‘स्रोतका लागि त्यति गाह्रो भएन। सबैले मिलाएर अलि अलि सहयोग गरेको हो। यसरी नै गर्ने हो भने गाह्र्रो नपर्ने देख्छु,’ मन्डनले नेपाल समयसँग फोनमा भने, ‘हामीले फेरि नयाँ प्रतियोगिता गर्न लागि रहेका छौं अनलाइनमै। नयाँ गर्ने चाहिँ कराँतेको भेट्रान प्रतियोगिता हो। यसमा कोचहरु धेरै सहभागि हुनु हुनेछ। कोच पनि खेलमा इन्गेज भइरहुन् भन्ने हेतुले हामीले यस्तो प्रतियोगिता गर्न लागेको हो।’

उनले चाँडै सल्लाह गरेर मिति तय गरिने बताउँछन्। तर लकडाउनका कारण खेल संघको ध्यान अनलाइन प्रतियोगितातिर जान नसकेको मन्डेको बुझाइ छ।

त्यस्तै १९९८ यता नेपालमा प्रशिक्षण गराइरहेका कोरियन तेक्वान्दो प्रशिक्षक क्वान योङ दल भन्छन्, ‘नेपाल तेक्वान्दोमा विशेष गरी पुम्सेमा पछि नै छ। त्यसैले यसको विकास गर्नका लागि निरन्तर प्रयास गर्न जरुरी देख्छु। लकडाउनको समयमा पनि तेक्वान्दो अनलाइन प्रतियोगिता गराउन सकिने हामीले बुझिसक्यौँ। यसलाई अझै अघि बढाउन अनलाइन प्रतियोगिता गर्न सकिन्छ।’

तेक्वान्दोकै अर्का प्रशिक्षक नवीन श्रेष्ठले पुम्सेको विश्वकप चलिरहँदा अनलाइन प्रतियोगिताले खेलाडीमा नयाँ उर्जा दिएको बताएका थिए। उनले फोनमा कुरा गर्दै भनेका थिए, ‘लकडाउनको समयमा खेलको जागरण गर्नु उदाहरणीय काम हो। खेलले दशको राष्ट्रियता जगाउँछ। अपनत्व महशुस गराउँछ। यो प्रतियोगिताले खेलाडीलाई उर्जा दिएको छ।’

डब्लूएचओ र आईओसीको सहकार्य

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले काभिड–१९ विरुद्ध लड्नका लागि सहकार्यको घोषणा गरेका छन्। ग्रासरुट र सामुदायिक खेलकुदलाई प्रवर्द्धन गर्दै सामुदायिक स्वास्थ्यसम्म पुग्नको लागि उनीहरुले सहकार्य गरेको बताएका छन्।

शनिबार सम्झौता पत्रमा हस्ताक्षर गदै डब्लूएचओका महानिर्देशक टेड्रोस अदानोम घेब्रेयेसुसले भने, ‘आईओसीसँग लामो समयको सहकार्यले मलाई हर्षित बनाएको छ। यसले मानिसको रोगबारे मात्रै सोच्दैन, स्वास्थ्य जीवनशैलीको लागि शारीरिक अभ्यासबारे जिम्मेवारी बहन गर्ने छ। यसले मानिसलाई स्वस्थ रहन मद्दत गर्नेछ।’

शारीरिक अभ्यासले मानिसलाई हाइपरटेन्सन, मुटुरोग, स्ट्रोक, डायबेटिज लगायतका रोगबाट बचाउँछ।

अहिलेको नीति तथा कार्यक्रम

प्रस्तुत नीति तथा कार्यक्रममा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई पदक प्राप्त गर्न सक्ने गरी खेलाडीको क्षमता विकास गरिने तथा स्थानीय, प्रादेशिक तथा राष्ट्रियस्तरमा सुविधासम्पन्न खेलकूद पूर्वाधारको निर्माण, स्तरोन्नति तथा उच्च पर्वतीय खेलकूद तालीम केन्द्र स्थापना र निजी क्षेत्रबाट निर्माण गरिएका खेल पूर्वाधार निर्माणलाई प्रोत्साहन गरिनेछ भन्ने बाहेक अन्य विषय समेटिएका छैनन्।

शुक्रबार राष्ट्रिपतिले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम मंगलबार बहुमतले स्वीकृत भयो। सांसदले परर ताली बजाएर नीति तथा कार्यक्रमको स्वागत गरियो।

त्यस्तै त्यही दिन संसदमामा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं सागको क्रेडिट आफैंले लिए। उनले १२ सागको ३ स्वर्णबाट सम्पन्न सागमा ५१ स्वर्णसम्मको यात्रा गराउन सफल सरकारको कदमको आफैंले प्रशंसा गर्न भ्याए। तर आउँदा दिनमा कस्तो खेलुकद हुन सक्छ भन्नेबारे केही भनेनन्।

उनको यो भनाइले खेलकुदमा पछि परेका क्षेत्रलाई ढाकछोप गर्न प्रयोग गरिएको देख्न सकिन्छ। तर प्रतियोगिताका लागि अघिका कदम स्पष्ट छैनन्। अन्य धेरै राष्ट्रमा सामाजिक दूरी कायम गरेर प्रतियोगिता सुरु गरिरहँदा नेपालमा पनि सोच्ने बेला भएन र ?

प्रतिक्रिया दिनुहोस्