इटहरी– प्रदेश १ सरकारले ५० शय्याको अस्पताल बनाउने निर्णय गरेको छ। अस्पतालमा १० शय्या भेन्टिलेटरका लागि छुट्याइनेछ।
मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगको सहकार्यमा साविक नेसनल ट्रेडिङको विराटनगरस्थित भवनमा एक हप्तामा अस्पताल बनाउने निर्णय गरेकाे हो।
बैठकले भारतसँगका सबै सिमा नाका बन्द गर्न संघीय सरकारलाई आग्रह गर्ने पनि निर्णय गरेको छ। प्रदेश १ का चीनतर्फका किमाथांका र ओलाङचुङगोला नाका गत माघ ५ गते चीनले बन्द गरेको थियो।
प्रदेशस्थित सबै सरकारी तथा गैरसरकारी सार्वजनिक सेवा प्रवाह गर्ने निकायमा पानीसाबुनको व्यवस्था गर्न मातहतका सबै मन्त्रालयलाई निर्देशन दिने, मानिसको जमघट हुने मेला, हाटबजार तथा वनभोजजस्ता क्षेत्रमा यसपूर्व गरिएको निषेधलाई निरन्तरता दिने निर्णय गरिएकाे छ।
यातायात व्यवस्था कार्यालय तथा यातायात सेवा कार्यालयबाट सम्पादन हुने सेवाहरु (दर्ता, नवीकरण, सवारीचालक अनुमतिपत्र) चैत मसान्तसम्मका लागि बन्द गर्ने समेत प्रदेश सरकारले निर्णय गरेको छ।
जनसम्पर्क बढी हुने कार्यालयमा भीडभाड गर्न नदिने र उच्च सतर्कता अपनाउन निर्देशन दिने, प्रदेश स्तरमै मेडिकल प्रयोगशाला स्थापना गर्न गृहकार्य सुरु गर्ने तथा कोभिड–१९ को परीक्षणका लागि कोसी अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल प्रयोगशालालाई स्तरोन्नति गरी प्रयोग गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिने प्रदेश सरकारले निर्णय गरेको छ।
प्रदेशभर समग्र अनुगमन दैनिक गर्न मुख्यमन्त्री संयोजक रहने गरी २५ सदस्यीय अनुगमन समिति गठन गर्नेसमेत निर्णय भएको छ। प्रदेश १ मा हालसम्म कोेरोना संक्रमित भेटिएका छैनन्।