धनगढी - राष्ट्रिय बाणिज्य बैंक अत्तरिया शाखाले पैसासँगै मास्कसमेत वितरण गर्न थालेको छ। कोरोना संक्रमण रोकथामको लागि बैंकले रकम भुक्तानी लिन आउने सेवाग्राहीलाई नि:शुल्क मास्क वितरण गर्न थालेको हो। बैंकका शाखा प्रमुख जितजंग सिंहले सेवाग्राहीलाई कोरोना भाईरसको बारेमा सचेत गराउन मास्क वितरण थालिएको बताए।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत मास्क वितरण गरिरहेको सिंहले जानकारी दिए। उनले कार्यक्रम अन्तरगत एक हजार मास्क वितरण गरिने बताए।
‘कोरोना भाईरसबाट आफू पनि बचौं र अरुलाई पनि बच्न सहयोग गरौं' भन्ने अभियान अन्तरगत निःशुल्क सेवाग्राहीलाई मास्क वितरणसँगै सचेतनाका लागि बैंकले व्यानरसमेत टास गरेको छ।
यस्तै बैंकले मुल गेटमै हेल्थ डेस्क स्थापना गर्ने भएको छ। बैंकका शाखा प्रमुख सिंहले २/३ दिन भित्रमै बैंकको मुल गेटमै कोरोना रोगको पहिचान गर्न हेल्थ डेस्क स्थापना गरिने बताए। ‘कोरोनाको पहिचान गर्ने उपरकरणसहित एक जना कर्मचारी परिचालन गर्ने छौं।’, उनले भने ‘त्यसका लागि आवश्यक उपकरणको माग गरेका छौं, २/३ दिनमा आइपुग्छ।’