भोलि चैत ६ गतेदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुँदै छ। चार लाख ८२ हजार २१९ विद्यार्थीले एक हजार ९९५ केन्द्रबाट परीक्षा दिँदै छन्।
यसलाई हिसाब गर्दा एउटा परीक्षा केन्द्रमा सरदर २४२ परीक्षार्थी हुनेछन्।
कम्तीमा २५ परीक्षार्थी बराबर एक जना निरीक्षक, आवश्यक संख्यामा कर्मचारी, सुरक्षा निकाय, अनुगमनकर्ता त परीक्षा केन्द्रमा हुने नै भए।
सीमित स्रोतसाधनका कारण कम्तीमा २५ विद्यार्थीले एउटै कक्षाकोठामा बसेर परीक्षा दिनेछन्। ग्रामीण क्षेत्रका र ठूला कक्षाकोठा भएका परीक्षा केन्द्रमा यो संख्या दोब्बर हुन सक्छ।
कक्षाकोठाको संरचना र बनावटले गर्दा विद्यार्थी एकआपसमा नजिकै बस्नुपर्ने बाध्यता छ। कोभिड–१९ वा मौसमी रुघालगायतका संक्रमणबाट जोगिन कम्तीमा दुई मिटर दूरी कायम राख्न विद्यालय र विद्यार्थी दुवैले चाहेर पनि सम्भव छैन।
यसबाहेक परीक्षा केन्द्रबाहिर परीक्षार्थीका आफन्तको भीड लाग्ने, विद्यार्थीलाई परीक्षा केन्द्रसम्म पुर्याउन एउटै गाडीमा ४०/४५ जनासम्म विद्यार्थी बोक्ने चलन हाम्रोमा नौलो होइन।
अझ सहरी क्षेत्रमा परीक्षा केन्द्रमा विभिन्न शैक्षिक परामर्शदाताको समेत चहलपहल हुन्छ।
यस्तो अवस्थामा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीलाई अरूसँग हात नमिलाउन र भीडभाडमा नजान अपिल गरेका छन्।
१४–१६ उमेर समूहका चञ्चल बालबालिकालाई साथीको नजिक नजान, अर्को साथीलाई नछुन गरिएको अपिल उनीहरुले कति गम्भीरका साथ लेलान्? शिक्षामन्त्रीले बुझ्नुपर्ने कुुरा हो।
बालबालिकाले साथीका कापी, नोट, इन्स्ट्रूमेन्ट बक्स पनि नछोलान् भन्ने अनुमान गर्न सकिन्छ?
विश्वभर कोभिड– १९ को त्रास फैलिइरहेका बेला उस्तै लक्षण देखाउने मौसमी फ्लूको संंक्रमणमात्रै धेरै फैैलिदियो भने पनि जटिल अवस्था आउन सक्छ।
अर्कोतिर, मन्त्रालयले हरेक परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्न निर्देशन दिएको छ।
देशभर ७५३ स्थानीय तहमध्ये अधिकांशमा चिकित्सक छैनन्। यस्तो अवस्थामा करिब दुई हजार परीक्षा केन्द्रमा रहने हेल्थ डेस्क कसले सम्हाल्ने? जवाफ स्वयं शिक्षा मन्त्रालय, केन्द्राध्यक्ष, स्थानीय तह कसैसँग छैन।
दुर्गमका एउटा स्थानीय तहमा कम्तीमा तीनवटा परीक्षा केन्द्र तोकिएका छन्। त्यहाँ कसरी प्रभावकारी रूपमा हेल्थ डेस्क राख्न सम्भव छ?
सहरी क्षेत्रकै विद्यालयमा एसईईको अघिल्लो दिनसम्म हेल्थ डेस्क राख्ने कुनै पूर्वतयारी छैन। आवश्यक बजेट व्यवस्थापनकै अन्योल रहेको प्रधानाध्यापकहरु बताउँछन्।
शिक्षामन्त्रीकैै अपिलमा पनि हेल्थ डेस्कमा कस्तो जनशक्तिले कसरी परीक्षण गर्ने, प्रत्येक विद्यार्थीको ज्वरो नाप्ने मात्रै हो वा अरु केही गर्ने हो स्पष्ट छैन।
बरु, केन्द्र परिसरमा हात धुन साबुनपानीको व्यवस्था, ज्वरो आएका परीक्षार्थीलाई बेग्लै राख्ने व्यवस्था, परीक्षा केन्द्र परिसरलाई संक्रमणमुक्त राख्न औषधि स्प्रेको व्यवस्था र पानी पिउन पर्याप्त बोतलको व्यवस्था गर्न सकेको भए पनि अलिक ढुक्क हुन सकिन्थ्यो।
सकभर विद्यार्थीले घरबाटै पानी बोकेर जानु झन् राम्रो ।
तर, यस्ता कुरामा शिक्षामन्त्री मात्र होइन सरकारकै चासो देखिँदैन। नभए, नजिकै भारतमा समेत सबै शिक्षण संस्था समेत बन्द भइसक्दा नेपालमा एसईई परीक्षा केही समयका लागि पछि सार्दा केही बिग्रंदैन।
नेपालमा अहिलेसम्म कोरोेना संंक्रमण देखिएको छैन। तर, यो आउँदैन वा यसले नेपालमा पनि महामारीको रूप लिँदैन भन्ने अवस्था छैन।
एसईई परीक्षा निर्विघ्न सम्पन्न होओस्, नेपालमा कोरोना भाइरस संक्रमण नहोओस् कामना गर्न सकिन्छ/गर्नुपर्छ । तर, त्यसो हुन सरकारको तयारी केही देखिँदैन।
उल्टो सरकारका व्यवहारहरु लापरवाह र गैैरजिम्मेवार देखिइरहेका छन्।
एकातिर उपप्रधान एवम् रक्षा मन्त्रीले नेपालमा कुनै पनि बेला ‘लक डाउन’ को अवस्था आउन सक्ने बताइरहेका छन् भने अर्कोतिर यसैबेला एसईई परीक्षा सञ्चालन गर्नु उदेक लाग्दो कुरा हो। सम्पूर्ण तयारी पूरा भए पनि एसईई स्थगन गर्नु नै बुद्धिमानी हुनेछ।
एसईई जसरी पनि सञ्चालन गर्ने सरकारको अठोट हो भने परीक्षा घण्टी लाग्नुभन्दा केही मिनेटअघि मात्रै प्रवेशपत्र जाँच गराएर परीक्षार्थीलाई भित्र पठाउने प्रवृत्ति यो पटक केन्द्राध्यक्षले सच्याउनुपर्छ।
परीक्षा केन्द्रबाहिर र भित्र हुने परीक्षार्थीको हुल कम गर्न, विद्यार्थीलाई भयरहित वातावरणमा परीक्षा दिने व्यवस्था मिलाउन केन्द्राध्यक्ष, सम्बन्धित विद्यालय र स्थानीय तहले विशेष सक्रियता देखाउनैपर्छ।
त्यस्तै परीक्षार्थीबीच निश्चित दूरी कायम गराउन, हातधुने साबुनपानीको व्यवस्था मिलाउन र अन्य सुरक्षाका उपाय यथासम्भव उपयोग गर्न कुनै सम्झौता गर्नु हुँदैन।
कोभिड- १९ को महामारी विश्वव्यापी भएका बेेला पनि सरकारले एसईई गराई छाड्ने हो भने विद्यार्थी र अभिभावक आफैंले सचेतता अपनाउनुपर्ने हुन्छ।
सम्पूर्ण परीक्षार्थी भाइबहिनीलाई शुभकामना!