काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोबिड-१९) संक्रमण रोक्न सरकार गम्भीर नभएको आरोप लगाएका छन्। सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले सरकार गम्भीर नबनेको भन्दै कोरोनाविरुद्ध सजग भएर लाग्न सुझावसमेत दिएका छन्। उनले सरकारलाई जोखिमको सामना गर्न पार्टीको सम्पूर्ण साथ रहने घोषणा गरिसकेका बताए।
देउवाले सीमा नाकामा कडाई हुन नसक्दा संक्रमण नेपालमा फैलने गम्भीर खतरा रहेको औंल्याएका छन्। उनले संक्रमण फैलिहालेमा त्यसको सामना गर्नका लागि आवश्यक जनशक्ति, उपकरण तथा क्वारेन्टाइनलाई तयारी अवस्थामा राख्न पनि सरकारलाई सुझाव दिएका छन्।