जनकपुरधाम - विश्वभर फैलिँदै गएको कोरोना भाइरस संक्रमणको प्रभाव नेपाल-भारत मैत्री बस सेवामासमेत परेको छ। कोरोना त्रासका कारण जनकपुरबाट भारतस्थित बिहारको पटनासम्म चल्ने नेपाल-भारत मैत्री बस सेवा बन्द भएको छ।
कोरोना संक्रमणलाई मध्यनजर गर्दै भारतले नाका बन्द गरेपछि जनकपुर–पटना बस सेवा बन्द भएको हो। जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीले ३१ मार्चसम्म बस सेवा बन्द भएको जानकारी दिएका छन्। कोरोनाकाकारण भारतले सीमा बन्द गरेपछि बस सेवा बन्द भएको उनले बताए।
बस बन्द भएपछि दैनिक दुई सयभन्दा बढी यात्रुको आवागमन प्रभावित भएको छ। बिहान र बेलुका गरी जनकपुरबाट पटनासम्म दैनिक चारवटा बस चल्ने गरेको छ। यसैगरी पटनाबाटसमेत दैनिक चारवटा बस जनकपुर आउँछ।
गत वर्ष भाद्र महिनामा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरबाट र बिहारका मुख्यमन्त्री नितिश कुमारले पटनाबाट नेपाल-भारत मैत्री बस सेवाको उद्घाटन गरेका थिए।