बुधबार, जेठ १४, २०७७

समाचार

भारतमा फसेका प्रदेश २ का नागरिकको उद्धार गर्ने तयारी

1589614501naka_1.jpg

जनकपुरधाम- कोरोना भाइरस (कोरोना-१९) महामारीपछिको ‘लकडाउन’का कारण भारतमा फसेका नेपालीलाई नेपाल ल्याउने तयारी सुरु भएको छ।

नाकाबाट लुकिछिपी आउने क्रम बढ्न थालेपछि सीमामा फसेकालाई व्यवस्थित रुपमै ल्याउने तयारी गरिएको हो।

नाकामा फसेका तथा भारतबाट आउन चाहनेको व्यवस्थापन गर्ने जिम्मेवारी प्रदेशका जिल्ला प्रशासन कार्यालयलाई दिइएको छ। भारतबाट आउन खोज्ने नेपालीहरु आफ्नो जिल्लाको नाकाबाट मात्र प्रवेश गर्न पाउने बताइएको छ।

धनुषामा जटही नाकाबाट मात्र नेपाल प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको छ। धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी एवं क्वारेन्टाइन व्यवस्थापन समिति संयोजक शरदकुमार पोखरेलले सीमा क्षेत्रमा अलपत्र परेका जिल्लावासीलाई जटही नाकाबाट प्रवेशको व्यवस्था मिलाउने निर्णय भएको जानकारी दिए।

“नाकामा फसेका धनुषावासीलाई सम्बन्धित पालिकामा पठाउने गरी जटही नाकाबाट ल्याउने निर्णय भएको छ,” उनले भने, “नेपाली सीमामा क्वारेन्टाइन स्टेशन हुनेछ। पारीबाट आएकाहरु क्वारेन्टिन स्टेसनमा बस्ने छन्। त्यहाँबाट सम्बन्धित पालिकाले आ–आफ्नो नागरिकलाई गाडीमा लैजानेछन्।”

नाकामा हेल्थ डेस्कसमेत स्थापना गरी सम्बन्धित स्थानीय तहको क्वारेन्टिन पठाइने पोखरेलले बताए। भारतमा रहेका तथा नाकामा फसेकाको तथ्यांक संकलन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिइएको छ।

सुरक्षाकर्मीहरु जटहीमा क्वारेन्टाइन स्टेसन निर्माणमा जुटिसकेको बताउँदै सम्भवतः आइतबारदेखि भारतमा फसेकाहरुलाई नेपाल ल्याउन सुरु भइसक्ने उनले बताए।

“बिहान १० बजे र साँझ ६ बजे नाकाबाट दिनको दुईपटक गाडी चलाइने छ, गाडीको व्यवस्था हामी गर्छौैं पैसा स्थानीय तहले तिर्छ,” पोखरेलले भने, “स्थानीय तहहरुलाई क्वारेन्टिनको क्षमता बढाउन हामीले भनिसकेका छौं।”

सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले धनुषाको विभिन्न नाकामा अहिले दुईदेखि तीन सय नेपाली अलपत्र अवस्थामा रहेको बताए।

भारतको क्वारेन्टाइनमा बसेर नेपाल आउन फिर्ता आउने करिब पाँच हजार नेपाली प्रदेश २ को विभिन्न नाकामा अलपत्र अवस्थामा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय स्रोतले जनाएको छ।

यसैगरी, भारतको क्वारेन्टिनमा नबसेका तर स्वदेश फिर्ता आउन चाहने प्रदेश २ को नागरिकको संख्या १० देखि १२ हजार रहेको मन्त्रालय स्रोतको दाबी छ। मन्त्रालयका अनुसार अध्ययन, रोजगार, उपचार लगायतका लागि भारतमा रहेका प्रदेश २ का नागरिकको संख्या एकदेखि डेढ लाखसम्म छ।

 

प्रतिक्रिया दिनुहोस्