काठमाडौं– माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक बिल गेट्सले कम्पनीको बोर्ड अफ डाइरेक्टर पदबाट राजीनामा दिएका छन्।
सामाजिक सेवामा सक्रिय रहने भन्दै उनले पदबाट राजीनामा दिएको माइक्रोसफ्टले जनाएको छ।
माइक्रोसफ्टका अनुसार अब बिल गेट्स प्राविधिक सल्लाहकारको रूपमा मात्र कम्पनीमा रहनेछन्। उनले सन् १९७५ मा पाउल एलनसँग मिलेर माइक्रोसफ्ट कम्पनी स्थापना गरेका थिए। त्यसयता सन् २००० सम्म उनले माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर काम गरेका थिए।
उनको राजीनामापछि कम्पनीको बोर्डमा अब १२ सदस्य मात्र बाँकी छन्।
माइक्रोसफ्टको हालका सीईओ सत्या नडेलाले बिल गेट्ससँग काम गर्न पाउनु आफ्ना लागि गौरव भएको बताएका छन्।
“बोर्डलाई गेट्सको मार्ददर्शन प्राप्त भयो। गेट्सको सल्लाहको फाइदा कम्पनीले आगामी दिनमा पनि पाइरहने छ,” नडेलाले भनेका छन्।