काठमाडौं– नइ प्रकाशनले भारत काशीका दुर्गाप्रसाद श्रेष्ठलाई दुई लाख राशिसहित ‘नइ देरूनीख अन्तर्राष्ट्रिय पुरस्कार’ दिने घोषणा गरेको छ।
सात दशकदेखि नेपाली साहित्यमा समर्पित रही कथा, कविता, उपन्यास, समालोचना, निबन्ध लेखनका साथै अनुवादकका रूपमा समेत प्रतिष्ठित ८२ वर्षीय श्रेष्ठलाई सो पुरस्कार समर्पण गरिने भएको हो।
नइ प्रकाशनकी अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो।
१९९३ सालदेखि काशीबहादुर श्रेष्ठको प्रकाशन र सम्पादनमा भारतको बनारसबाट ‘उदय’ मासिकको प्रकाशन आरम्भ भएको थियो।
काशीबहादुर श्रेष्ठका जेठा छोरा दुर्गाप्रसाद श्रेष्ठबाट नै चार दशकअघिदेखि उदय पत्रिकाको समेत निरन्तर सम्पादन र प्रकाशन हुँदै आएको छ।
दुर्गाप्रसाद श्रेष्ठले २०२० सालमा प्रदर्शित प्रथम नेपाली कथानक चलचित्र ‘आमा’ को पटकथा र सम्वाद लेखेका थिए। पुरस्कार आगामी वैशाख २९ गते काठमाडौंमा एक कार्यक्रम आयोजना गथरी प्रदान गरिने नइ प्रकाशनले जनाएको छ।